झापा १४ साउन । सुरक्षित रोजगार को प्रवर्धन तथा मानव बेचबिखन रोकथाम परियोजना अन्तरगत विद्यालय स्तरिय विद्यार्थी लक्षित असुरक्षित बैदेशिक रोजगार र मानव बेचबिखन बिरूद्दको अभिमुखिकरण तथा नेतृत्व विकास र सार्वजनिक वक्तृत्वकला सम्बन्धि चार दिने तालिम आज सम्पन्न भएको छ।
मिसियाेकाे सहयाेगमा कारितास नेपालको आयोजना तथा झापा गाउँपालिकाको समन्वयमा स्थानीय जनता माविका विद्यार्थीहरुको सहभागिता रहेको तालिम गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिम समापन कार्यक्रममा विद्यार्थीको उन्नयनमा झापा गाउँपालिकाले जस्तोसुकै सहयोग पनि गर्न तयार रहेको बताउँदै त्यसका लागि सरोकारवालाको इच्छाशक्ति र तत्परता हुनुपर्ने उहाँको भनाई थियो ।

तालिममा उत्कृष्ठ प्रस्तुती गर्ने विद्यार्थीहरु राजेस खड्का, रिता तामाङ र आभास कार्कीलाई पुरस्कृत गरिएको थियो । सो क्रममा झापा गाउँपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष हेमा राई, जनता माविका सहायक प्रधानअध्यापकद्वय टिकाप्रसाद कट्टेल र रोहित पोद्धार, शिक्षक प्रतिनिधि भक्तबहादुर बानियाँ, शिक्षक महासंघका पालिका अध्यक्ष जगन्नाथ राजवंशी, पिटिए अध्यक्ष पुण्यप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा सहभागिको तर्फबाट निर्जला दंगाल लगायतले प्रतिक्रिया दिदंै तालिम उत्कृष्ट भएको बताएका थिए ।
नारी सञ्चार गृहकी पूर्व अध्यक्ष तथा सञ्चारकर्मी भीमा शिवाकोटी र कारितास नेपालका सिनियर सोसियल मोभिलाइजर विवेक शिवाकोटीले सहजीकरण गरेको तालिम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कारितास नेपालका कर्मचारी कुमार पाण्डे (यादव)ले गर्नुभएको थियो ।

































































































