झापा । चुनावमा भोट दिएर स्थानीय तहमा जनप्रतिनिधि चुनेपछि विकास निर्माणप्रति जनचाहना उत्कट छ । जनताको उत्कट चाहनालाई सचेत जनप्रतिनिधिले राम्ररी बुझेका छन् । त्यही चाहना बुझेर स्थानीय तहका जनप्रतिनिधिहरु प्रदेश र संघीय सरकार गुहारिरहेका छन् । त्यस्तै गाउँपालिका मध्येको एक हो झापा गाउँपालिका ।
पीछडिएका र आदिवासीको बाहुल्य रहेको झापा गाउँपालिका विकासका दृष्टिकोणले पनि पछाडि नै छ । भारतसंग सीमा जोडिएको गाउँपालिका वर्षातको बाढीमा जिल्लाकै सबैभन्दा जोखिममा पर्ने गाउँपालिका पनि हो । पूर्वमा विरिङ र पश्चिममा कनकाई माई सिमाना रहेको झापा गाउँपालिकाको बीचमा सानो माइ समेत पर्छ । बर्षात्मा यी तीनवटै खोलामा आएको बाढीले गाउँबासीलाई दुःख दिन्छ । शिक्षा र स्वास्थ्यका दृष्टिकोणले पनि पछाडि नै छ । गाउँपालिकामा स्थानीय तहको निर्वाचन भएको अढाई वर्ष वित्दासम्म विकासका लागि संघीय सरकारको आँखा पुग्न सकेको छैन । आफैं आँखा पु¥याउने त परको कुरा पटक–पटक अनुनय विनय गर्दा समेत एउटा पनि योजना संघीय सरकारले नदिदा गाउँपालिका प्रमुख दुःखी त भएका छन् नै, फरक आस्था भएका कारण पनि संघीय र प्रदेश सरकारले विकासमा विभेद गरेको हो कि ? भन्ने आशंका समेत उत्पन्न भएको छ ।
गाउँको विकासका लागि गाउँपालिकाले पुल तथा बाटो निर्माणका धेरै योजनाको डिपिआर समेत तयार गरेर संघीय तथा प्रदेश सरकारलाई बुझाएको छ । ‘वर्षमा संघीय सरकारबाट एउटा मात्रै योजना पार्न सकेपनि गाउँको धेरै विकास हुन्थ्यो’–अध्यक्ष शाहले भने । तर स्थानीय तहको निर्वाचन भएको अढाई वर्ष वित्दा पनि झापा गाउँपालिकाले केन्द्र सरकारबाट एउटा पनि योजना भित्र्याउन नसकेको अध्यक्ष जयनारायण शाह बताउँछन् ।
अथक प्रयासपछि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट प्राप्त बजेटबाट एउटा बाटो ठेक्का लाउन सफल भएपनि अन्य कुनै योजनाहरु भित्र्याउन नसकेको बताउँदै उनले भने–‘चुनाव भएको अढाईवर्ष वित्यो, ठूला धेरै योजना माग गरेका छौं, तर एउटा पनि नपाउँदा दुःख लागेको छ, माग धेरै ग¥यौं तर केन्द्र सरकारले एउटा पनि योजना दिनु भएन, सरकार एउटा आस्थाको म फरक आस्थाबाट जितेर आएँ त्यही भएर पनि योजना पार्न नसकिएको हो की जस्तो लाग्न थालेको छ ।’ चुनाव आफूले जिते पनि जनता सबैको भएको र विकास हुँदा सबै आस्थाका जनताले उपभोग गर्ने उनको भनाई छ । विकास निर्माणका ठूला योजनामा पनि संघीय सरकारले सहयोग नगरेको साहको आरोप छ ।
हुलाकी सडकबाहेक राष्ट्रिय गौरवका एउटा पनि योजना नभएको झापा गाउँपालिकाले नियमित प्राप्त हुने बजेट र आन्तरिक आयबाट गाउँपालिकामा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउ“ गौरव कार्यक्रम
अधिकांश कच्ची बाटो रहेको गाउँपालिकाभित्रका सबै बाटाहरु ग्राभेल गरिएको छ भने अव प्रत्येक वडाबाट गाउँपालिकाको सदरमुकाम कामाटोली आउँदा पिचमा हिड्नु पर्छ भन्ने दृढ संकल्प बमोजिम गाउँ गौरवको कार्यक्रम ल्याइएको अध्यक्ष शाहले बताए । गाउँ गौरव कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा गाउँका प्रत्येक वडामा कालोपत्रे बाटो निर्माण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ । निकै महत्वाकांक्षी योजनाका रुपमा हेरिने उक्त कार्यक्रम अघिल्लै वर्षदेखि शुरु भएपनि यो वर्षमात्र नामाकरण गरिएको हो । गत वर्ष शुरु गरिएको १० किलोमिटर बाटो निर्माण अन्तिम चरणमा रहेको र चालु आवमा १० किलोमिटर निर्माणका लागि ठेक्का लगाउने तयारी भइरहेको अध्यक्ष साहले बताउनु भयो ।
शिक्षा
गाउँपालिकाले कक्षा–११ मा निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । यसै आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा ११ कक्षामा पढ्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले नै तिरीदिने योजना अनुसार बजेट विनियोजन गरिएको अध्यक्ष साहले जानकारी दिनुभयो ।
आदिवासी जनजाति र मधेशी समुदायको बाहुल्य रहेको सो क्षेत्रका छात्राहरु माथिल्लो कक्षामा अध्यापन गर्न जान मान्दैनन् । मावितह पढ्नका लागि अलि टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले छात्रालाई साइकल समेत उपलब्ध गराउने भएको छ । ‘मावि तह पढ्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा–९ मा अध्ययन गर्ने सबै छात्रालाई यसै वर्षदेखि साइकल समेत दिंदैछौं’– अध्यक्ष साहले भने –‘पढाई त फ्रि नै भयो ।’ अंग्रेजी भाषा समयको माग भएको भन्दै अघिल्लो वर्षदेखि नै गाउँपालिकाको समेत लगानीमा सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा अध्यापन प्रारम्भ भइसकेको छ ।
कृषि
झापा गाउँपालिका पूर्णतः कृषिमा निर्भर गाउँपालिका भन्दा अन्यथा हुँदैन । यहाँका अधिकांस जनताको बाँच्ने आधार नै कृषि पेशा हो । गत वर्ष केही क्षेत्रलाई पकड क्षेत्रका रुपमा मकै जोन शुरु गरेको गाउँपालिकाले यो वर्ष ‘धान जोन’ कार्यक्रम शुरु गरेको छ । किसानको प्रोत्साहनबाट नै गाउँपालिका आर्थिक रुपमा समृद्ध हुने अवधारणा अनुसार कृषि लक्षित बजेटमा प्राथमिकता दिइएको अध्यक्ष शाहले बताए । किसानलाई सिंचाईका लागि बोरिङ, मेसिन, मटर, पम्पसिट लगायत अन्य आवश्यक कृषि औजार उपलब्ध गराउने योजना गाउँपालिकाले अघि सारेको छ ।
जागरुक जनता
जनतामा विकासप्रतिको महत्वाकांक्षा जागेको अनुभव आफूले गरेको अध्यक्ष साहले बताउनु भयो । जनप्रतिनिधि भएर काम गर्न कत्तिको सजिलो छ भन्ने जिज्ञासामा साहले भन्नुभयो–‘गारो नै छ, जनता विकासप्रति जागरुक छन् , जनचेतना धेरै अगाडि बढिसकेको छ ।’ जनप्रतिनिधीले गल्ती गर्छन् कि भनेर जनताले नियालीरहेको बताउँदै साहले भन्नुभयो–‘विकासप्रतिको उत्कट चाहना भएका कारण पनि होला, सजग छन्, त्यतिकै जागरुक पनि छन् ।’ प्रविधिको विकास र उपभोगले पनि जनता जागरुक भएको उनले बताए । ’
सातवटा वडा रहेको झापा गाउँपालिकामा ५० हजार हाराहारीमा जनसंख्या रहेको छ । दक्षिणमा हुलाकी मार्ग, पश्चिममा कनकाई माई, पूर्वमा पूर्वमा विरिङ र विचमा सानो माई नदी रहेको झापा गाउँपालिका वर्षातको बाढीका दृष्टिले जिल्लाको सबैभन्दा बढी प्रभावित हुने गाउँपालिका हो । वर्षातमा यहाँका अधिकांस घर जोखिममा पर्ने गरेका छन् । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नदी नियन्त्रण र प्राकृतिक विपद् आइहाले क्षति न्यूनिकरणका लागि विभिन्न योजना रहेको उनले सुनाए ।
उज्यालो गाउ“ घोषणाको तयारी
गाउँपालिका भित्रका ९९ प्रतिशत घरधुरीमा विजुली पुगेको छ । लगभग ५० हजार घरधुरी भएको झापा गाउँपालिकाका बाँकी रहेको १ प्रतिशतमा पनि विजुली पुर्याएर चाँडै उज्यालो गाउँ घोषणाको तयारीमा रहेको बताइएको छ ।

































































































