बिर्तामोड २१ चैत । स्थापनाको रजत वर्षको अवसरमा बिर्तामोडस्थित अग्रसेन भवनमा भोली (शुक्रबार) देखि राम कथा हुने भएको छ ।
शुक्रबारदेखि चैत ३० गतेसम्म सञ्चालन हुने राम कथा अग्रसेन भवन बिर्तामोड र बालाजी धाम व्यवस्थापन समितिले आयोजना गरेको हो । कथा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ ।
बिर्तामोड चोकबाट सबैभन्दा नजिकमा रहेको अग्रसेन भवन परिषर पछिल्लो समय एउटा दिब्य धामको रुपमा विकास हुँदै गएको छ । खास गरी बिर्तामोडमा बसोबास गर्ने मारवाडी समुदायले सामाजिक तथा मानवीय सेवा भावले २५ वर्ष अघि अग्रसेन भवनको निर्माण गरेसंगै भवन परिषरमा भौतिक निर्माणले गति लिएको हो ।
अग्रसेन भवनसंगै जोडिएको बालाजी मन्दिर, मन्दिरभित्र रहेका भगवानका मन्दिरहरु, नजिकै कोशी प्रदेशकै पहिलो गायत्री मन्दिर लगायतका कारणले बिर्तामोड–५ स्थित बालाजी टोल दिब्य धामका रुपमा स्थापित हुँदै गएको बताइएको छ ।
रजत वर्षमा आयोजना गर्न लागिएका अन्य सेवामुलक कार्यक्रमबारे अग्रसेन भवनका अध्यक्ष सुरेस अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवसरमा रक्तदान शिविर, कृत्रिम हातखुट्टा वितरण, प्राकृतिक उपचारका रुपमा विकसित हुँदै गएको योग ध्यान शिविर सञ्चालन गर्ने भएको छ ।
साथै मारवाडी समुदायका महिलाहरुले उत्पादन गरेका घरायसी सामग्रीको प्रवद्र्धन गर्दै आय आर्जनमा जोड्ने प्रयास स्वरुप स्टलहरु समेत राखिने अध्यक्ष अग्रवालले बताउनु भयो ।
२५ वर्ष अघि सार्वजनिक भौतिक संरचनाको अभावलाई परिपुरण गर्ने उद्देश्यले स्थापना गरिएको अग्रसेन भवनको स्थापना भएको थियो ।
स्थापनाको रजत वर्ष मनाइरहँदा अग्रसेन भवनको स्तरोन्नती समेत गरिएको छ । भवनको माथिल्लो तलामा लगभग पाँचसय जनाको क्षमता रहेको हल निर्माण गर्नुका साथै सुविधा सम्पन्न ८ वटा आवासका लागि कोठा समेत निर्माण गरिएको छ । पाकशाला (किचन), मण्डप लगायतका भौतिक संरचना निर्माण कार्य निरन्तर चलिरहेको छ ।
अग्रसेनको रजत महोत्सवमा रामकथा र रक्तदान



















