बिर्तामोड ७ चैत । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले पार्टीप्रति योगदान दिनेभन्दा संगठनलाई प्रयोग गरेर ब्यक्तिगत स्वार्थ पूरा गर्न खोज्नेहरुप्रति सावधान रहनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागको आयोजनामा र झापा क्षेत्र नं–२ को संयोजनमा जिल्ला पार्टी कार्यालयमा आयोजित संगठनको वर्तमान अवस्था, चुनौति र निराकरणका उपाय विषयक अन्तरक्रिया प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
आफ्नो स्वार्थ पूरा नहुनेवित्तिकै सामाजिक सञ्जाल वा समुदायमा पुगेर पार्टीको नकारात्मक प्रचार थाल्ने, एकपटक अवसर नपाउँदा पार्टी नै परित्याग गर्ने प्रवृत्ति कतिपय जिम्मेवारीमा बसेकैबाट हुने गरेको बताउँदै उहाँले क्रियाशिल सदस्यता वितरणमा नै ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने धारणा राख्दै उहाँले आफूले राखेको धारणा र सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणीले कतिपय विषयमा नकारात्मक धारणा पैदा हुनेतर्फ सचेत रहन पनि आग्रह गर्नुभयो ।
‘साधारण सदस्यता नै प्रदान नगरी क्रियाशिल सदस्यता वितरण गर्ने गल्ती पार्टीबाटै भयो’–नेता शिवाकोटीले भन्नुभयो–‘पार्टीका शुभचिन्तक, भोटरलाई पहिला साधारण सदस्यता दिनुपर्छ, उहाँहरुको क्रियाशिलता, पार्टीप्रतिको लगन र इमान्दारिता हेरेर क्रियाशिल वितरण गर्ने नीति पार्टीले लिनुपर्छ ।’ शतप्रतिशत क्रियाशिल सदस्यता वितरण गर्ने पार्टी नीतिले पार्टीभित्रै विकृति देखिएको र आफ्नो स्वार्थ पूरा नहुने वित्तिकै पार्टीका विरुद्ध नकारात्मक प्रचार गर्ने प्रवृत्ति बढेको उहाँले दोहो¥याउनुभयो ।
नेपालमा युवाको आकर्षण भएको पार्टी कांग्रेस, एमाले र माओवादी नै हुन् भन्ने पुष्टी चैत ५ गते भएको स्ववियु निर्वाचन परिणामले देखाएको उहाँको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले संगठनलाई सही मार्गमा हिडाउन पदीय जिम्मेवारीलाई बहन गर्नुपर्ने धारणा राख्नुभयो ।
संविधानले महिला एवं लक्षित समुदायलाई हिजोको भन्दा बढी अवसर प्रदान गरेको बताउँदै ढकालले अवसरको खोजी र उपभोग गर्न आह्वान गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्लाको संगठन सुदृढीकरण अभियानका उद्देश्यमाथि प्रकाश पार्दै गाउँ र वडातहको संगठनलाई बलियो बनाउन टोलदेखि वडा, गाउँ, नगरसहित सबै तहको संगठन सुधारका लागि तालिका बनाएर अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो । पार्टीका कार्यक्रम एवं समुदायमा प्रस्तुत हुँदैगर्दा आफ्नो पदीय मर्यादा र दायित्व बुझ्न आग्रह गर्दै थेवेले आफै सहभागी भएर जिल्ला सम्मेलनमार्फत पारित गरेको निर्णयमा बारम्बार प्रश्न नउठाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापाका उपसभापति एवं पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियान अन्तरगत २ नम्बर क्षेत्रका लागि जिल्ला प्रतिनिधि शेरबहादुर भट्टराईले अभियानको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक सञ्जालको दुरुपयोग गर्दै पार्टीका विरुद्ध प्रचार गर्नेहरुदेखि सावधान रहेर संगठन बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य ओमकृष्ण विमली, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, कनकाई नगरपालिका वडा नम्बर–८ का अध्यक्ष लीलाबहादुर कटुवाल, २ नम्बर क्षेत्रीय सदस्य कञ्चना ढकाल सिटौला, विर्तामोड–२ का वडासभापति देवीप्रसाद खरेल, ३ नम्बर वडा सभापति प्रेम उप्रेती, अर्जुनधारा–४ का वडा सभापति खेम काफ्ले, तरुण दलका गुरु रिजाल, सरु बुढाथोकी, इन्द्रमणि पौडेल लगायतले विभिन्न जिज्ञासा एवं सुझाव राख्नुभएको थियो ।
कार्यक्रमममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले पद अनुसारको जिम्मेवारी सबै तहका नेता–कार्यकर्ताले पुरा गर्नुपर्ने, पार्टीलाई डिजिटल प्रविधिसँग जोडेर पार्टीको नेतृत्वमा भएका कामको ब्यापक प्रचार–प्रसार गर्नुपर्ने, जनप्रतिनिधिको भूमिका सकारात्मक र प्रभावकारी बनाउँदै जनतासम्म पु¥याउनुपर्ने, समयानुकुल पार्टी नीति परिवर्तन गरेर युवाहरुलाई आकर्षण गर्नेखालका नीति तथा कार्यक्रम तय गरिनुपर्ने, टिकट वितरणअघि जति आकांक्षी भएपनि टिकट प्राप्त उम्मेद्वारलाई सबै लागेर जिताउन भूमिका खेल्नुपर्ने, परम्परागत सिप र क्षमताको आधुनिकीकरण एवं ब्यवसायीकरण गरिनुपर्ने, धारणा राखेका थिए ।
महाधिवेशन समयमा हुन्छ कि हुँदैन भन्ने जिज्ञाशा राखेका सहभागी बक्ताहरुले पार्टी नीति विपरित कार्य गर्नेलाई कारबाही गर्नुपर्ने, एकअर्काप्रति समान र सम्मानजनक ब्यवहार गर्नुपर्ने, जनप्रतिनिधि एवं कार्यकर्ताको गुनासा सुनेर आत्मबल बढाउने कार्य गर्नुपर्ने, टोल एवं वडा तहका कार्यकर्ताको मर्का उपल्लो तहका नेतृत्वले बुझ्नुपर्ने, केन्द्रदेखि टोलतहसम्मै सुधार गर्नुपर्ने धारणा राखेका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेश संगठन विभागका प्रमुख मदन संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली र सञ्चालन पदम प्रसाईले गर्नुभएको सूचना तथा प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।
स्ववियुमा विजयीलाई सम्मान
कार्यक्रमका बीच चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा झापाका क्षेत्र नम्बर २ अन्तरगतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा नेविसंघबाट उम्मेद्वार भई स्ववियुमा निर्वाचित भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा कनकाई आदर्श क्याम्पस विर्तामोडका स्ववियु सभापति किरण गुरुङ, सचिव मनिष कोइराला, कोषाध्यक्ष मेघा जबेगु लिम्बूसहित सदस्यहरु निश्चल शाह, आशिष कोइराला, नियोग पोखरेल, निशान लिम्बू, अमिसा सुवेदी, उपेन ढुङ्गाना, पशुपति भण्डारी, राजन अधिकारी, अनिल दंगाल, रोहन गिरी, जलनकुमार लिम्बू, अर्जुन राजवंशी, निशा कार्की, निमा तामाङ, दिया ढकाल, समिर लिम्बू, रसिका नेपाल आयुषा महत लगायत छन् ।
यसैगरी विर्तामोडकै इन्द्रचन्द्र क्याम्पस स्ववियु सभापतिमा निर्वाचित श्रिजित ढुङ्गाना, सचिव पवन अधिकारी, कोषाध्यक्ष एरिना थापा, सदस्यहरु युगल गौतम, यज्ञराज सुवेदी, राहुल राजवंशी, आस्था पौडेल, निशान अधिकारी दिपक दाहाल, मिलन शिवाकोटी, सुमन धिताल, राहुल थापा, चन्दा बस्नेत, टिकाराम दवाडी, समिक्षा आचार्य, सन्देश भट्टराई, नितेश खनाल र सुसन खुलाल लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रमका बीच शनिश्चरे बहुमुखी क्याम्पस स्ववियु सभापतिमा निर्वाचित विशाल थापा, कोषाध्यक्ष अनुजा भट्टराई, सदस्यहरु यज्ञबहादुर बुढा, सुमन बास्कोटा, किरण काफ्ले, टिकाराम दाहाल, सन्तोष मिश्र, प्रविन बराल, दिनेश ढकाललाई सम्मान गरिएको थियो ।
झापा क्षेत्र नं–२ अन्तरगत नै सितारमेश बहुमुखी क्याम्पसमा स्ववियु सचिवमा निर्वाचित डम्बर कार्की, कोषाध्यक्ष अभिषेक घतानी, सदस्यहरु कैलाश दाहाल, सौगात थापा, अनिता अर्याल, निर्मला आचार्यलगायतलाई सम्मान गरिएको थियो ।
यसैगरी गरामनी पब्लिक क्याम्पसमा स्ववियु सदस्यमा निर्वाचित गंगाराम खड्का, मिनाकुमारी आचार्य, मनिका मगर, सरिसमा मगरलगायतलाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुले खादा, अविर लगाएर सम्मान बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।
पार्टीमा व्यक्तिगत स्वार्थ बोकेर आएकाहरुसंग सावधान रहनुपर्ने

































































































