फागुन ८ सैनिकबजार । बिर्तामोड नगरपालिका वडा नं १० सैनिक बजारमा आजबाट तेस्रो ऐतिहासिक सैनिक महोत्सव शुरु भएको छ। महोत्सवको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उदघाटन गर्नुभयो ।

महोत्सव उद्घाटन अघि बिर्तामोड नगरपालिका वडा नं. १० मा बसोबास गर्ने विभिन्न जातजातिको पहिचानसहित र्याली निकालिएको थियो । वडाभित्र रहेका सबै टोल विकास संस्था, विभिन्न १८ जातजातिका झाँकी, नौमति बाजा र व्यानर सहितको र्यालीले सैनिक बजार परिक्रमा गरेको थियो । बिर्तामोड नगरपालिका वडा नं. १० मा २७ वटा टोल विकास संस्था छन् भने २४ वटा जातजातिले बसोबास गर्दै आएको बताइएको छ ।
उद्घाटनको अवसरमा लाखे नाच, चण्डी नाच, च्याब्रुङ नाच, नौमति बाजा लगायत विभिन्न जातजाति सास्कृतिक झाँकीहरु प्रदर्शनी भएका थिए ।
सन्थाल, दराई, लेप्चा, राजवंशी, नेवार ,राई , लिम्बू, राई, गुरुङ लगायत विभिन्न २४ जातजातिका बसोबास रहेको सैनिक बजारमा, बहुजातीय संस्कार ,संस्कृति पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य उदेश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ ।

महोत्सवमा विभिन्न खेलहरू , खानाको स्टलहरुसंगै हरेक दिन साँझ फरक फरक राष्ट्रिय कलाकारहरु कमल खत्री, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, टिका प्रसाई, प्रीति आले र राजनराज शिवाकोटी लगायतको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आजबाट शुरु भएको महोत्सव फाल्गुन १८ गते सम्म जारी रहने छ । यस अघि २०७५ सालमा प्रथम र २०७६ मा दोस्रो ऐतिहासिक तथा सांस्कृतिक सैनिक महोत्सव संचालन भएको थियो। त्यसपछि कोभिड १९ का कारण सञ्चालनमा हुन नसकेको सैनिक महोत्सव यो पटक तेस्रो श्रृङ्खलाका रुपमा आज उद्घाटन गरिएको हो ।
आज भन्दा २०० वर्ष अगाडि पूर्व सैनिकहरुलाई राजाले जमिन दिएर बसोबास गराएका कारण सैनिक रहन गएको सैनिक बजारमा आम जनमानसले हेर्ने र बुझेको दृष्टिकोणमा परिवर्तन ल्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको मेला संयोजन समितिका संयोजक सन्तोस गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटनमा प्रमुख अतिथि प्रसाई, विशेष अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, सावित्री गुरुङ लगायतले शुभकामना राखेका थिए । स्वागत १० वडास्थित महिला सञ्जालकी अध्यक्ष खिलेश्वरी पाण्डेले गर्नुभएको थियो ।

महोत्सव सभ्य र भब्य हुने बताउँदै वडाध्यक्ष गुरुङले प्रशासनले रोक लगाएका कुनै पनि खेल तमासा नहुने जानकारी दिंदै महोत्सवले एकापसमा सदभाव र भाइचार कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।



















