जोस्ना श्रेष्ठ
व्यस्त दैनिकी ठुलालाई पारिवारिक जिम्मेवारी, पेशागत तथा व्यवसायिक व्यस्तता ,जीवनमा आइपर्ने विभिन्न सजिला तथा अप्ठयारा परिस्थितिको चुनौती र सामना। सानालाई औपचारिक शिक्षा, ज्ञान आर्जनको दौडाहा हरेक बिहान चाडै उठ, बिधालय जाउ, साझ घर फर्क ,घर फर्केर पनि दिन भरिको थकाई , थकाईका बाबजुद बिधालयले दिएको होमवर्क , ट्युसन आदिको बोझ ,अभिभावकलाई दैनिक रूपमा दोहोरी रहने नानीहरूको जिम्मेवारी सगै घर ब्यवस्थापन, हतारो , चटारो , व्यस्तता र दौडधुपमा चलिरहेको जीवन । प्रविधिले दैनिकी सहज तुल्यायो भनिए पनि व्यस्तता कम नभएको अवस्था । भेटघाट समेत डिजिटल बनेर भौतिक दुरी बढेको बीचमा ठुलो खाडल परेको जस्तै अवस्था । एउटै समाजमा बसोबास भए पनि सबैको सबै संग राम्रोसंग चिनजान र बोलचाल नभएको अवस्था । त्यसमा पनि नयाँ पुस्ताले पुरानोलाई नचिन्ने , पुरानोले नयाँलाई नचिन्ने । संवाद विहिनता । यस्ता परिस्थितिहरूको मनन् गरेर टोलबाट पारिवारिक जमघट गरौ ,आत्मियता साटासाट र रमाउ भन्ने उदेश्यले पहिलो पटक गत बुधवार सहिद दिवसका दिन सार्वजनिक विदाको अवसर पारेर बिर्तामोड ४ देव शान्ति टोल रोड न २ (आफ्नै ) टोलले बनभोज कार्यक्रम आयोजना गरेको थियो। अध्ययन , कामको सिलसिलामा बाहिर रहेका युवाहरू, भवितव्य, अप्ठ्यारो र बिरामी परेका बाहेक बाकी टोलका सबै घरका सदस्यहरू जम्मा ५० जनाको सहभागितामा निचाझोडामा बनभोज कार्यक्रम सम्पन्न भयो ।
टोलका धरोहर सबै भन्दा जेष्ठ सदस्य ९६ बर्षिया हजुर आमा बिष्णु माया मैनाली , टोलका आमा ,बुबा , छोरा छोरि,र नाती नातिना गरी चार पुस्ताको सहभागिता रहेको थियो । शुल्क, १६ बर्ष देखि माथि ८० बर्ष सम्मकालाई प्रति व्यक्ति आठ सय रूपैयाँ,५ बर्ष देखि माथि १६ बर्ष सम्मकालाई पाँच सय , ५ बर्ष मुनीका नानीहरू र ८० बर्ष माथिका जेष्ठ सदस्यलाई निशुल्क गरिएको थियो। टोल बासि मांशाहारी र शाहाकारी दुवै थरीका भए पनि माछा मासु सेवन नगर्ने घरका केटा केटी तथा सदस्यहरु असहज नहोस् भनेर भोजन शाकाहारी बनाउने निर्णय गरिएको थियो । कोही फलफूल मात्र खाने पनि थिए । उनीहरूले समाजले आयोजना गरेको हो नखाए पनि रमाईलो गर्छु भनेर पानी र फलफूल मात्र खाएर दिन भरि बनभोजमा रमाईलो गरे। पेयपदार्थ , मदिराजन्य , सुर्ति जन्य पदार्थ ,जंक तथा पाकेटका फुड बर्जित थियो । जेष्ठ सदस्य हजुर आमा विष्णु माया मैनालीको अध्यक्षता र टोल बिकास सस्थाका सचिब गोविन्द तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सबै तनाव मुक्त भएर रमाइलो गरे । हजुर आमा हामी सगै सामुहिक नाचगानमा सहभागि हुनुभयो । सबै नाचे ,गाए अनि रमाए । साना नानीहरु प्रकृति संग झुमे,बनमा कुदे , धुलो माटो संग खेले । तातो आलु, म्युजिकल कुर्सी डान्स, हंडी फोर्ने देखि बेलुन डान्स जस्ता खेलहरू आयोजना गरिएको थियो । साना र ठुलाको छुट्टा छुट्टै समुह बिभाजन गरेर खेलहरू खेलाईयो । सानालाई पहिलो प्राथमिकता दिईएको थियो । खेलहरूले बातावरण झन् उल्लासमय बनेको थियो । खेलमा बिजेतालाई उपहारको व्यवस्था समेत गरिएको थियो । सबै हर्षित देखिन्थे, त्यहाँ एक आपसमा संवाद चल्यो , आत्मियता साटासाट भयो । खुशी साटासाट भयो । अन्त्यमा बनभोज खाएर फर्किने क्रममा सबैले बनभोज रमाईलो भएको प्रतिकृया दर्शाए । हामी सगै सोही स्थानमा हाम्रा वरपर अन्य टोलीहरु पनि बनभोज आएका थिए । कुनै टोली खाईरहेको देखिन्थे भने कुनै टोली नाचगानमा मस्त देखिन्थे । यो बनभोजलाई मैले एक प्रतिनिधि घटनाको रूपमा यहाँ प्रस्तुत गरे । बनभोज खाने परम्पराले सामाजिक सद्भाव वृद्धि संगै ,मानिसमा आपसी मन मुटाव, रिस ,ईष्र्या द्वेष शान्त गरेर,खुशी र उमङ्ग साट्ने सामुहिक थलो प्रदान गर्ने रहेछ । त्यहा भएका गतिविधिले मनोरञ्जन मात्र दिएको थिएँन। मन खुशी बनाएको थियो रु। तनाव मुक्त गराएको थियो । शारीरिक र मानसिक स्फुर्ति प्रदान गरेको थियो। जुन स्वास्थ जीवनका लागि अपरिहार्य मानिन्छ ।

विश्वमा वनभोज शुरुवात
“पिकनिक“ शब्द फ्रेन्च शब्द pique nique बाट आएको हो, जसको अर्थ हुन्छ “सानातिना कुरा खानु।“ यो शब्द १७ औ शताब्दीको फ्रान्समा देखिन्छ भने यो चलन १८ औं शताब्दीको अन्त्यतिर १९ औं शताब्दीको सुरुवातमा युरोपमा सुरु भएको मानिन्छ। शुरुवातका दिनमा पिकनिक खासगरी सम्पन्न वर्गले सामाजिक जमघटका रूपमा आयोजना गर्ने गर्दथे जहाँ खाना, संगीत, र मनोरञ्जन गरिन्थ्यो । पछि युरोप र अमेरिकामा मानिसहरूले छुट्टी मनाउन र प्राकृतिक ठाउँमा समय बिताउन थाले । सार्वजनिक पार्कहरूको विकास र सार्वजनिक यातायातको विकासले पनि पिकनिकको संस्कृति व्यापकता पाउन थालेको हो भनिन्छ।
नेपालमा सन्दर्भमा
नेपालमा बनभोजको कुरा गर्दा शुरुवात स्पष्ट ऐतिहासिक प्रमाण नभए पनि यो धार्मिक, सांस्कृतिक, र सामाजिक जीवनसँग जोडिएको परम्परा हो भनिन्छ। धार्मिक दृष्टिकोणबाट हेर्दा प्राचीनकालमा ऋषिमुनिहरुले जंगलमा ध्यान, पूजा, र सामूहिक भोजन गर्न जाने गर्दथे। धार्मिक स्थलहरूमा गएर प्रसाद ग्रहण गर्ने परम्पराले बनभोजको प्रारम्भिक स्वरूप दिएको हो भनिन्छ। मुख्यत मठमन्दिर, गुफा, र नदी किनारामा भेला भएर देवताप्रति कृतज्ञता व्यक्त गर्ने चलन बनभोजको प्रारम्भिक रूप मानिन्छ । त्यसतै अर्कौ मान्यता अनुसार मध्यकालमा राजा–महाराजाहरू शिकार खेल्न, उत्सव मनाउन, र मनोरञ्जन गर्न वनमा भोज आयोजना गर्दथे । सामूहिक भोज र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने प्रथा पछि आम जनता बीचमा लोकप्रिय बन्यो भन्ने विश्वाश गरिन्छ ।बनभोजको शुरुवात धार्मिक र सांस्कृतिक कारणले भएको हो, जुन समयक्रमसँगै सामाजिक र आधुनिक रूपमा परिवर्तन हुँदै आएको छ।
बिगतको बनभोज
शुरुका दिनहरूमा आयोजना हुने बनभोजको छुट्टै मौलिकता हुन्थ्यो । गाउँघरमा परम्परागत रूपमा बनभोज आयोजना हुन्थे । पहाडी जिल्लाहरूमा अग्ला डाडा, खोला किनार, बारिमा , आयोजना गरिन्थ्यो भने तराईको हकमा भने समथल स्थान , खोलाको किनार , पानीको मुहान र दाउरा नजीकै भएको स्थानमा आयोजना गरिन्थ्यो । त्यस बेला पकाउने भाँडा , खाने थाल , पानी बोक्ने भाँडो , चामल घर बाटै लगेर पनि बनभोज ,जाने तथा खाने चलन थियो । त्यसबेला बनभोजमा स्थलमै दाउरा चुल्हो बनाएर आगोमा खानेकुरा पकाउने ,भाडा माझ्ने , पानी बोक्ने जस्ता कामहरू सबै मिलेर गरिन्थ्यो । यस शैलीमा आयोजना हुने बनभोजमा छुट्टै प्रकारको आनन्द प्राप्त हुन्थ्यो ।
बर्तमानको बनभोज
ईतिहास र बर्तमान दाजेर हेर्दा हामी हरेक क्षेत्रमा परिवर्तन पाउछौ । त्यस्तै बनभोज खाने तथा जाने तौर तरीका पनि समय संगै परिमार्जित भएको देखिन्छ । आजभोलि पहिले जस्तो आफै पकाउने , दाउरा चुल्हो प्रयोग गर्ने ,भाडा माझ्ने जस्ता कामहरू सबै झन्झटिलो मानिन थालेको छ । व्यस्त जीवनशैली, अनेकौ जिम्मेवारीले थाकिएको काध लिएर एक दिन भए पनि भारी बिसाउने ,साथीहरू संग मनोरञ्जन गर्ने भन्ने मानसिकता सबैको हुन्छ । त्यसैले पकाउनका लागि कुक सहित क्याटरिङको व्यवस्था गर्नु अनिवार्य जस्तै भएको छ । आजभोलिको बनभोज कुनै भव्य समारोह जस्तो देखिन्छ । विवाह तथा पार्टीमा जस्तो टेन्ट ,पंडाल ,क्याटरिङ, खानाका अनेकौ परिकारहरू। त्यसको अतिरिक्त आमन्त्रित आगन्तुक तथा अतिथिहरु । आसन ,भाषण, औपचारिकता, सम्मान । भव्य सभा तथा सम्मेलनको शैलीमा संस्थागत औपचारिक कार्यक्रमहरु बनभोजमा समेटिन थालिएको छ । साथी भाई ,छरछिमेक, पारिवारमा मात्र सिमित नरही बनभोज कार्यक्रम फराकिलो बन्दा एक व्यक्तिले एक सालमा धेरै पटक बनभोज जानुपर्ने र खानु पर्ने अवस्था सिर्जना भएको छ । आजभोलि बनभोज साथी भाई छरछिमेकमा मात्र सिमित छैन । आफु अध्ययनरत विद्यालय, कलेज, काम गर्ने अफिस, आफु जोडिएका विभिन्न संघ संस्था , संघ संगठनले बनभोजको आयोजना गर्न शुरु गरेका छन् ।

सामाजिक सद्भाव वृद्धि
साथीभाई , वल्लो घर ,पल्लो घर भेला भएर प्रत्यक्ष रूपमा गफगाफ गर्ने चलन हराउदै गएको छज्ञ। आजभोलि साथी भाई , छरछिमेक एक ठाउँमा भेटघाट भएर कुराकानी कमै मात्र देख्न सकिन्छ । बनभोज जस्ता कार्यक्रमले सबैलाई एक ठाउँमा एकत्रित पार्ने काम मात्र होइन् साथीभाई बीचमा छलफल तथा अन्तरक्रिया गर्ने बाताबरण तयार गर्छ । अर्को महत्त्वपूर्ण पक्ष साथीहरु बीचमा उब्जिएको आपसी बैमनस्यता चिर्न मद्दत गर्दछ । कहिले काँही साथी साथी बीचमा नचाहदा नचाहदै, गलत तथा फरक बुझाईका कारण बैमनस्यता उत्पन्न भएर सम्बन्धमा दुरी बढेको हुन सक्छ । भेटघाट र संवादले त्यसलाई समथल रूप दिन सहयोग गर्दछ । सम्बन्ध पुनस्थापित गर्न मद्दत गर्दछ । बनभोजले प्राकृतिक ठाउँमा साथीभाइ र परिवारसँग खाना खाएर रमाइलो गर्ने मात्र होइन, सामाजिक सम्बन्ध बलियो पार्ने माध्यमका रूपमा विकसित भएर गएको पाइन्छ।
आत्मियता सगै सामिप्यता बढाउँछ
बनभोज जस्ता कार्यक्रमले मुख्य त साथीभाई बीचमा जमघट गराउँछ। जमघट भएको ठाउँमा संवाद हुन्छ । सामुहिक भेटघाट र संवादले आत्मियता सगै सामिप्यता बढाउछ । अरू बेला जे जस्तो भएपनि यस्ता कार्यक्रमहरुमा रिस, ईष्र्या जस्ता भावना बोकिदैन । बनभोज बित्तिकै रम्ने र खुसी हुने थलो हो भन्ने मानसिकता राख्छन् । समाजमा एकजुट भएर नयाँ ढंगले अघि बढन साथ साथै खुशी रहन मद्दत गर्छ। बनभोजमा संचालन हुने कृयाकलापले मानिसका शारीरिक, मानसिक अवस्था सन्तुलित राख्न सहयोग गर्दछ ।त्यसैले पनि बनभोज आफैंमा सुन्दर सामाजिक परम्परा हो । यस्ता संस्कृतिले निरन्तरता पाईरहन जरूरी देखिन्छ ।