विर्तामोड १३ माघ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको नीति, सिद्धान्त र विचारमा प्रतिबद्ध एवं अनुशासित भएर जनताप्रति समर्पित भई जनमुखी कार्य गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस विर्तामोड नगर समितिको नगर भेला एवं लक्ष्मण खड्का स्मृति भवन तथा नगर पार्टी कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो आह्वान गर्नुभएको हो ।
‘पार्टीको नीति, सिद्धान्त र विचार नमान्ने विकृति सबै पार्टीमा देखिएको छ’–उहाँले भन्नुभयो–‘नेपाली कांग्रेस प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा प्राप्त जनमतका आधारमा सबैभन्दा ठूलो पार्टी हो । हामीले आफू अनुशासित भएर अरुलाई राजनीतिक संस्कार सिकाउनुपर्छ । ’
सरकारले केही गरेन भनेर नकारात्मक दृष्टिकोणमात्रै नराख्न आग्रह गर्दै उहाँले २०४६ सालअघि र अहिलेको अवस्था तुलना गरेर भएका परिवर्तनको प्रसंशा, गर्नैपर्ने कामबारे सरकारलाई सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।
सरकारको क्षमता कति हो ? क्षमता अनुसारको काम गरेको छ कि छैन ? क्षमता हेरेर आकांक्षा ब्यक्त गर्न पनि उहाँको संकेत थियो । ‘अहिले एउटा स्थानीय तहको बजेट एक अर्बभन्दा बढी छ, स्रोत, साधन र क्षमताका हिसावले पनि स्थानीय तह समृद्ध छ । कति गर्न सक्छ ? मूल्याङ्कन गरौं । गरेका राम्रा कामको प्रसंशा जनतासम्म पु¥याऔं’–सिटौलाले सरकारप्रति नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह पनि गर्नुभयो । सोचेजति काम गर्न नसकेपनि सरकारले विगतको तुलनामा धेरै काम गरेको उहाँले बताउनुभयो । बहुदलप्राप्तिपछि ल्याएको नीतिकै कारण देशका कुनाकुनामा सडक, विजुली, खानेपानी, विद्यालय, अस्पतालहरु खुलेको उदाहरण समेत उहाँले प्रस्तुत गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यले पार्टीका सबै नेता कार्यकर्ताको स–सानो लगानीबाट नगर पार्टी कार्यालय बनाउन सकेमात्रै अपनत्व हुने र लक्ष्मण खड्काप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले गाउँ÷नगर, वडामा खटिएका प्रतिनिधिहरु र सम्बन्धित तहगत समितिले टोल एवं वडाकेन्द्रित कार्यक्रम तय गरेर संगठनलाई सक्रिय बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महिला नेतृ यज्ञकुमारी सिटौला, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, लक्ष्मण खड्का स्मृति भवन निर्माण समितिका संयोजक सजेश शिवाकोटी, क्षेत्र नं–२ ख का सभापति किरण श्रेष्ठ, वडा सभापतिहरुको तर्फबाट विर्तामोड–२ का सभापति देवी खरेल लगायतले मन्तब्य राख्नुभएको थियो । नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश नगरका लागि जिल्ला प्रतिनिधि एवं नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले पार्नुभएको थियो । नगरका संगठन विभाग प्रमुख कुलप्रसाद संग्रौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन क्षेत्र नम्बर–२ प्रदेश क का सभापति लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको थियो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले लक्ष्मण खड्काको ब्यक्तित्व, सहयोगी भावना, सक्रियता शाहसी कार्यशैलीका बारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए भने उहाँको स्मृतिमा जग्गा प्रदान गर्ने लक्ष्मण खड्काकी श्रीमती अञ्जु खड्काप्रति आभार ब्यक्त गरेका थिए । नेपाली कांग्रेस झापाको सहसचिव पदमा बहाल रहेकै बेला लक्ष्मण खड्काको २०७४ साल चैतमा अल्पायुमै निधन भएको थियो ।
लक्ष्मण खड्काको स्मृतिमा बनाउन लागिएको नगर पार्टी कार्यालय भवन निर्माणका लागि एककरोड ३० लाख लागत अनुमान गरिएको निर्माण समिति संयोजक सजेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार अढाइतले भवनको भुइतलामा कार्यक्रम हल, पहिलो तलामा नगरको पार्टी कार्यालय एवं दोस्रो तलामा भातृ संघसंस्था तथा वडा समितिका लागि कार्यकक्ष बनाइने संयोजक शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार एकबर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ भने सबै तहका नेता कार्यकर्ताको सहयोगबाट भवन निर्माण गरिने बताइएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि सयौं मानिस कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई प्रमुख अतिथि सिटौलाले खादा, अविर र सदस्यता रसिद दिएर स्वागत गर्नुभएको थियो ।

































































































