भद्रपुर ५ माघ । नेपाल निजामती कर्मचारी युनियन झापाको नवौ जिल्ला अधिवेशन शनिवार चन्द्रगढीमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस झापका सभापति देउमान थेवेले पार्टीकातर्फबाट निजामती युनियनका समस्याहरु समाधान गर्न आफू प्रतिवद्ध भएको बताउदै आस्थाका आधारमा कुनै पनि कर्मचारीलाई विभेद गर्न नहुने बताउनु भयो ।
उहाँले झापामा निजामती कर्मचारीले नेपाली कांग्रेस पार्टीलाई कर्मचारीहरूको अभिलेखिकरणका लागि नामावली पठाउन सुझाव दिदै जसले गर्दा कर्मचारीको हकहितमा काम गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा युनियन झापा अध्यक्ष कविन्द्र विक्रम नेम्वाङले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्मचारीका समस्या र अधिकारका बिषयमा निजामती ऐनले सबै कर्मचारिको हक अधिकारलाई समेट्न नसकेकोले संशोधन गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दै युनियन कोशी प्रदेश अध्यक्ष मानबहादुर वनले कर्मचारीका हक अधिकार र कर्तव्यबाट आफू कहिल्यै नझुक्ने बताउदै आस्थाका आधारमा गरिने कर्मचारीको सरुवा बढुवामा युनियनलाई स्वीकार्य नहुने बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, ट्रेडयुनियन कांग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी ,पूर्व युनियन केन्द्रीय सदस्य दिपेन्द्र खत्री पर्शुराम मण्डल, जगत मगर, मेघराज बास्तोला लगायतले मन्तव्य राख्नु भएको थियो।
नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष यसोदा कोईराला र संचालन सहसचिव चन्द्र पौडेलले गर्नु भएको थियो ।
आस्थाका आधारमा कसैलाई पनि विभेद गर्न हुँदैन–थेवे



















