बिर्तामोड पुस । बिर्तामोड नगरपालिका–५ स्थित देवी माध्यमिक विद्यालयले ६२ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । विद्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुका साथै विद्यालय स्थापनामा जग्गा दान गर्ने दाताको शालिक अनावरण तथा सिममुलक शिक्षाको समेत समुद्घाटन गर्दै ६२ औं स्थापना दिवस मनाएको हो ।
विद्यालयले १०१ वर्षीय ज्येष्ठ नागरिक प्रेमप्रसाद निरौला र महिला तर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय र समुदायबीचको सम्बन्ध बलियो बनाउन उनीहरुलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने दाता खनुपरुद्धे (भरतबाबू) प्रसाईको नवनिर्मित शालिक अनावरण गर्नुका साथै यसै वर्षदेखि शुरु गरिएको होटल म्यानेजमेन्ट तर्फको नयाँ कक्षा सञ्चालनको समेत समुद्घाटन गरिएको थियो ।
त्यस्तै, पाँच किलोमिटरको देवी रन दौड प्रतियोगिताका विजेतालाई समेत विद्यालयको वार्षिकोत्सवका अवसरमा पुरस्कृत गरिएको छ । प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू प्रथम भएका थिए । त्यस्तै, पुरुषतर्फ युकेश लिम्बू दोस्रो र कमल दुलाल तेस्रो भएका थिए । महिलातर्फ रेखा भण्डारी दोस्रो र पुनम दनुवार तेस्रो भएका थिए ।
उपाधि विजेतालाई नगद सात हजार, दोस्रो हुनेलाई नगद छ हजार तथा तेस्रो हुनेलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । स्लो साइकल रेसका विजेता शाहिल नेपालीसहितलाई पुरस्कार प्रदान गरिएको थियो ।
वार्षिकोत्सवकै अवसरमा पुस ११ गतेदेखि १६ गतेसम्म सञ्चालन भएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीलाई यसअघि नै पुरस्कृत गरिएको छ । विभिन्न १२५ विधामा भएको अतिरिक्त क्रियाकलापमा ७३५ जना विद्यार्थीले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको प्रधानअध्यापक श्रेष्ठले जानकारी गराउनु भयो । देवी माविमा कूल एकहजार ६०० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
त्यस्तै, वार्षिकोत्सवकै अवसरमा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोष, हाकिलाल धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, लक्ष्मी निरौला स्मृति छात्रवृत्ति अक्षयकोष, पर्शुराम ढकाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाईं स्मृति छात्रवृत्ति अक्षयकोष र केदार मनमाया स्मृति छात्रवृत्ति अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै, २०८१ को कक्षा १२ का उत्कृष्ट छात्रतर्फ अनिस काफ्ले र छात्रातर्फ सिर्जना भटट्राई तथा २०८० सालको माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट छात्रतर्फ सुजन पौडेल, ऋषभ घिमिरे, अनुप खरेल, विमल सिटौला र छात्रातर्फ प्रज्ञा राईलाई नगदसहित देवी विद्या पदक प्रदान गरिएको थियो । त्यस्तै, ज्ञानबहादुर बुढाथोकी र सबनम थापा दाहाललाई दीर्घसेवी शिक्षक सम्मान तथा पूर्वविद्यार्थी तेजु सिंह र नरेश दासलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शिक्षक प्रतिनिधि उमेशकुमार शाहले स्वागत गरेका थिए भने स्वागत गीत शिक्षक युवराज ढकालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुति गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रोहित प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडका उपप्रमुख संग्रौला, दाता परिवारका टोरुप प्रसाईं, शिक्षा विकास तथा समन्वय इकार्इ झापाका प्रमुख देवेन्द्रबहादुर मल्ललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयमा १४८ जना शिक्षक तथा कर्मचारीहरू रहेका छन् । शहरी क्षेत्रको सामुदायिक विद्यालयका रुपमा रहेको देवी माविमा आर्थिक अवस्था अतिकमजोर भएकादेखि मध्यम तथा उच्च वर्गका विद्यार्थीहरुको समेत आकर्षण छ ।
देवी माविको ६२ औं बार्षिक सभामा विविध कार्यक्रम



















