केही समयको विलम्बपछि पत्रकार महासंघले नयाँ नेतृत्व पाएको छ । अरूलाई नीति नियम र कानून मान्नु पर्छ, विधिसम्मत चल्नुपर्छ भनेर सचेत गराउने पेशागत संगठनको नयाँ नेतृत्व चयन ढिलाईप्रति समाजका धेरैले उठाएको प्रश्नको अन्त्य भएको छ । नेपाली पत्रकारिताको इतिहासमा एकैपटक दुई महिलाले नाम दर्ज गराएका छन् । अध्यक्षको राजीनामा पछि बरिष्ठ उपाध्यक्षले प्राप्त गरेको कार्यवाहक अध्यक्षबाट पनि राजीनामा गरे । प्रकारान्तरले तेस्रो बरियतामा रहेकी महिला उपाध्यक्ष बाला अधिकारीले कार्यवाहक अध्यक्षको नेतृत्व लिएर पटक–पटक रोकिएको निर्वाचन सम्पन्न गराउन खेलेको नेतृत्वदायी भूमिकाले महासंघको इतिहासमा महिलाको नेतृत्व सफलतालाई प्रमाणित गरिदिएको छ । साथै आफूले नेतृत्व गरेको निर्वाचनबाटै महासंघमा पहिलोपटक महिला नेतृत्व निर्वाचित भएपछि एकैपटक दुई महिलाको नाम पत्रकारिताको इतिहासमा दर्ज भएको छ/हुनुपर्छ ।

महासंघको नयाँ नेतृत्व चयनको प्रकृया चलिरहेको बेला खोज पत्रकार गाेपाल दहालले लेखेको एउटा समाचारले धरानका मेयरको मानसिकता डगमगाएको उनकै अभिव्यक्तिबाट स्पष्ट हुन्छ । मेयर हर्क साङ्पाङ्ले पत्रकारको खानेकुराको चिन्ता लिएछन् । संवैधानिक व्यवस्था अनुसार मेयरको अनुपस्थितिमा उपमेयरले पाउने कार्यबाहकको जिम्मेवारी नाता पर्ने वडाध्यक्षलाई दिएका उनलाई गरिएको प्रश्नमा ‘शुभयात्रा समेत नभन्नेलाई दिन्छु ? कसरी दिनु शुभयात्रासम्म नभन्नेलाई ?’ भनेर कटाक्ष गरेका छन् । ऐन कानूनको विषयमा राखिएको जिज्ञासामा उनले समोसा र ममको उदाहरणमात्र दिएका छैनन् जुन संविधानमा टेकेर उनी निर्वाचित भए त्यही संविधान प्रदत्त अधिकारबाट अरुलाई आफूले अधिकारबाट बञ्चित गरेको हेक्कासम्म राखेनन् । बरु शुभयात्रा भनेर भजन नगाएका कारण कार्यवाहक नदिएको तर्क पेश गरे । आफूलाई जनताले निर्वाचित गरेको दम्भ प्रस्तुत गरेका मेयर साङपाङले आफूसंगै निर्वाचित उपमेयर पनि जनताद्वारा नै निर्वाचित हुन् भन्ने कुरालाई बिर्सेर ‘शुभयात्रा’मा अल्झिनुले राजनीतिक बालहठ स्पष्ट झल्कियो ।
झापाली सञ्चारकर्मी बहिनी सुनिरा मैनालीले बैदेशिक रोजगारीमा जान लागेका आफ्ना श्रीमानलाई रातो टीका लगाएर, सगुन (दही) खुवाइन् र श्रद्धापूर्वक पतिका पाउमा शिर निहुँराएर ढोगेको भिडियो फेसबुक स्टोरीमा पोष्ट गरेकी रहिछन् । हेर्ने मौका मिल्यो । त्यसको एकहप्ता नवित्दै फेसबुकमा स्टाटस लेखिन ‘शुभयात्रा भन्नु पर्दैन’ सोचे किन यस्तो लेखिन् ? एकैछिनपछि पत्रकार उमाकान्त खनालको पनि त्यही आशयको स्टाटस देखेंपछि लाग्यो के भइरहेको छ ? खोजीले डोहो¥याइरह्यो । झट्ट हेर्दा बुझ्न गारो हुने तर, गहिरो अर्थ बोकेको छ भन्ने लाग्यो भने कमेन्टमा धेरै अल्मलिने बानी छ । त्यही बानीले कुरोको चुरो खोज्न उत्प्रेरित ग¥यो । खनालको पोष्टको कमेन्टमा कोशी प्रदेश पत्रकार महासंघका महासचिवले अघि माथि उल्लेख गरे अनुसार शुभयात्रा किन नभनेको त, शुभयात्रा पनि नभन्नेलाई किन दिनु ? भन्ने मेयर साङपाङको भिडियो नै राखिदिनु भएको रहेछ । सिमित त्यतिमा मात्र रहेन । मेयर साङ्पाङको फेसबुक आइडीबाट उनले भनेको ठाउँमा उपस्थित नभए खोज पत्रकारिताकैै अन्त्य गरिदिने धम्की भनौ या चेतावनीसहितको स्क्रिन सर्ट पोष्ट गर्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले ‘निन्दनीय असभ्य भाषा फिर्ता होस’ भन्दै गरेको पोष्टमा आँखा पुग्यो । ज्बचपब क्बmउबलन ब् च्भखयगितष्यल ँििययध आइडीबाट पोष्ट गरिएको उक्त धम्कीपूर्ण स्टाटसमा लेखिएको थियो–‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बुझिस चोरफटाहा !’ एउटा दर्विलो कलमले थर्किएका हर्कका केही अभिव्यक्ति सुन्दा उनको मानसिक सन्तुलनमा केही समस्या पो छ कि भन्ने आशंका पनि सामाजिक सञ्जालमा छरपस्ट भए । जानेर वा नजानेर गरेका क्रियाकलापले हर्कको क्रियाकलापलाई बालहठ भन्न कठिन छैन ।
केही दिनअघि महिलालाई टेवा दिने संस्था टेवा नेपालको काठमाडौं कार्यालयमा देशभरबाट १६ जिल्लाका ४० जना महिला भेला हुने अवसर जु¥यो । तालिममा शब्द जोडेर परिचय गराउनुपर्ने त्यो पहिलो खेलमा आत्म र निर्भर जोडेर बनेको आत्मनिर्भर शब्दले आफ्नै प्रदेशकी पूर्व माननीयसंग नजिक्यायो । थाहा थिएन उहाँ माननीय भन्ने । तर, जब निर्भरको परिचय गराउनुपर्ने भयो त्यो बेला अझ नजिकबाट चिन्ने र बुझ्ने मौका पाइयो । संयोग दुवैजना अध्यक्षकै जिम्मेवारीमा रहेछौं । तालिमको तेस्रो दिन विहानको खानापछि सन्तोषी भवनको बाहिर थियौं । बेलुका घर फर्कने र बस्नेहरुको कुरा चलिरहेको थियो । ललितपुरमा बसेर काठमाडौंका मेयरलाई भन्दा धरानका मेयरको चर्चा शुरु भयो । इतर विचार राख्नेले नेतृत्व गरेका संघसंस्थालाई धरान उपमहानगरपालिकाले गरेको ब्यवहारबाट असन्तुष्ट उहाँहरुले संस्थाको कार्यालय नै बराहक्षेत्र नगरपालिकामा सार्ने सम्मको सोच बनाउनु भएको रहेछ । यद्यपी शहरमा पनि अस्तित्व कायम राख्नुपर्ने हुँदा शाखाको अवधारणाबारेका कुराकानी शेयर गर्नुभयो । समय धेरै थिएन । उहाँले उपमहानगरपालिकाका प्रमुखको ब्यवहार मात्र भन्नु भएन पत्रकारहरुको बारेमा पनि धारणा राख्नुभयो । माननीय समेत भइसक्नु भएकी उहाँले आस्थागत पत्रकारहरुका बारेमा थोरै कुरा खोल्नुभयो र भन्नुभयो–‘पत्रकार किनिसकेको छ, विचारका संगठन भनेर के गर्नु ? एमालेका पत्रकारहरु त विकिसकेका छन् । कांग्रेस र माओवादीका केही मात्रै बाँकी होलान् उहाँले थप्नुभयो–‘पत्रकार नै किनिसकेपछि त सक्किगो नी !’ प्रश्न गरें एमालेका पनि बिके त ? पैसा भएपछि विचारमा कहाँ अडिंदा रछन् र ! तालिम शुरु हुने बेला भइसकेको थियो । त्यत्तिकैमा उठ्यौं । पत्रकार आवद्ध संस्थाको नेतृत्व भएका कारण त्यतिकुरा खोल्नु भयो शायद ।
हर्कले पत्रकार किनेकी किनेनन् ? कति पत्रकारका भाँडामा दाल चामल हालेकी हालेनन् ?, पालेकी पालेनन् ? त्यो शायद नखुल्ला । तर, जति पालेपनि किने पनि एउटा कलम बन्दुक भन्दा शक्तिशाली बन्यो जसले हर्कको विरासत हल्लायो । माननीयका नजरमा त्यो बलियो कलमधारी व्यक्ति किनबेचको सूचीमा थियो या थिएनन् त्यो उहाँको विषय हो ।
एउटा व्यक्ति पत्रकार भएपछि उसको जिम्मेवारी सामाजिक उत्तरदायित्वसंग जोडिन्छ । सचेत पत्रकार बरु भोकले मर्छ । तर, स्वाभिमान बेचेर भिख माग्दैन । यद्यपी केही समय अघिसम्म पत्रकार हुनका लागि कुनै मापदण्ड कडाईका साथ लागू नहुँदा पत्रकारिताभित्र स्वार्थी समूह हावी भएकै छ । त्यतिमात्र होइन कम मेहनत, छिटो सम्मान, एउटा कार्डका भरमा काँही लाइन बस्न नपर्ने, सहज रुपमा आउ–जाउ गर्न सक्ने, निर्वाचनस्थल देखि पानी, विजुली, संकटका बेला पेट्रोल, खोप जस्ता स–साना तर, अपरिहार्य सुविधा तत्काल प्राप्त गरिने भएका कारण पनि पत्रकार हुन आउनेहरु थुप्रै छन् । विभिन्न स्वार्थ बोकेर आएका पत्रकारको झुण्डका कारण मर्यादित पत्रकारिता गर्ने र गर्नुपर्छ भन्नेहरु कुहिरोमा काग हराए झैं हुने अवस्था नआउला भन्न सकिन्न । तर, कुहिरोभित्र पनि खेल्न जान्ने कलमजीवि शक्तिशाली हुन्छ भन्ने कुरा गाेपाल दहालको खोज रिपोर्टिङले पुनर्पुष्टि गरेको छ ।
यस्तो बेला पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचन आफैंमा ऐतिहासिक बनेको छ । पहिलो पटक महिला नेतृत्व प्राप्त गर्नु हामी महिलाका लागि आफैंमा गर्वको कुरा हो । तर, गर्विलो अनुभूति गर्दैगर्दा समाजको नजरमा गिरेको पत्रकारिताको शाख जोगाउनुपर्ने कटिलो परिस्थिति पनि सिर्जना भएको छ । हिजो पत्रकारिता ब्यवसायिक नभएको र सेवाको क्षेत्रमात्रै भएको अवस्थामा अधिकांशजसो सरकारी शिक्षकले स्वयम्सेवा गरेर बनाइदिएको पत्रकारिताको विरासतमा टेकेर हिड्दै गर्दा त्यही विरासत बनाउने पक्षमात्रै महासंघले ल्याएको संगठन शुद्धीकरणको निशानामा प¥यो । त्यो पनि कसले–कसलाई भोट हाल्छ भन्ने तहमा पुगेर समेत निशाना लगाइयो–कतिपय जिल्ला, प्रदेश र केन्द्रमा । चालक, व्यापारी इन्जिनियर, ओभरसियर, मेनपावर सञ्चालकहरु पत्रकार बन्ने मौका पाए । नढाँटी भन्नुपर्दा धेरै ठाउँमा आफ्नो तलब खर्च गरेर मिसन पत्रकारिता गरेर वाक स्वतन्त्रताका लागि वकालत गरेकाहरु शुद्धीकरणको निशानामा पर्नु दुःखद हो ।
हुन त शुद्धीकरण शब्दप्रति नै फरक मत छ । विभिन्न कालखण्डमा पत्रकारिताको माध्यमबाट वाक स्वतन्त्रता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र नागरिकको अधिकारका लागि आवाज उठाउनेहरुलाई अशुद्ध ठह्याइएको छ । यो सर्वथा गलत छ । रक्सि व्यापारीदेखि विभिन्न सवारी चालकहरु शुद्ध हुने तर, जीवनको उर्वर समय र श्रम खर्चिएर उमेरकै कारण पनि विगतको तुलनामा कम सक्रिय रहेका अग्रजहरुलाई अपमानित तरिकाले पाखा लगाउने कार्य नै निकृष्ट छ । यसो भनिरहँदा पत्रकारिताको माध्यमबाट मात्रै दैनिकी चल्ने अवस्था अझै बनिसकेको छैन । प्रकाशन गृहहरु नाफामुखीभन्दा सेवामुखी नै छन् । प्रकाशन गृह नाफामुखी उद्योग नबनेसम्म पत्रकारहरुले बैकल्पिक पेशा–ब्यवसाय गर्नु बाध्यता होला ! यसको मतलब यो होइन की पत्रकारिताबाट पूर्ण विमुख भएकालाई पनि भोट बैंक बनाएर राख्ने अनि अंकगणितमा हिसाब मिलाएर चुनाव जित्ने !
पत्रकार महासंघको पटक–पटक निर्वाचन सर्नुको कारण पनि यही थियो शायद । यी सब कुराबारे जानकार हुँदाहुँदै पंक्तिकार र पाठक दुवैको समय खर्चनु पर्ने अवश्य होइन । महासंघलाई साँच्चै पत्रकारको संस्था बनाउने हो भने पत्रकारिता क्षेत्रमा आएका, हामीले जबरजस्त भोटका लागि तर्क कुतर्क पेश गरेर सदस्य बनाउने, बचाउने र तिनैबाट निर्वाचित हुने खेलोले पत्रकार महासंघ र पत्ररकारिताको शाख जोगिंदैन । बरु बद्नामी बर्को ओढाइरहन्छ यो समाजले । राजनीतिक दलका नेता, दुई नम्बरी धन्दामा संलग्न ब्यापारी र तस्करले राजनीतिक बढुवाको ललिपप देखाएर होस् वा द्रब्यबुटी सुँधाएर आफू अनुकूल प्रयोग गरिरहन्छन् । नेतृत्वमा जान नेताको आशिर्वाद जरुरी आवश्यक होला तर, अब आशिर्वाद उपर आज्ञाकारी भइरहनु पर्छ भन्ने पत्रकारिताको ‘नेचर’ र पेशागत बाध्यता चाहिं होइन । तसर्थ इतिहास रचेर आएको अहिलेको नेतृत्वले समाजको नजरमा गिरेको पत्रकारिताको शिर उठाउने खालका काम गर्न सक्नुपर्छ । बरालिएको पेशागत धर्मलाई धर्म अनुसारको लगाम लगाउन सक्नुपर्छ । अबको दुई वर्ष पत्रकार, गैह्र पत्रकार, व्यवसायिक पत्रकार र अवसरवादी पत्रकार, भोटर्स पत्रकार र पेशागत पत्रकारको पहिचान गरोस् । शुद्धीकरण (शुद्ध र अशुद्ध) भन्नुभन्दा अद्यावधिक जस्ता शब्द विकल्प खोजोस् । काम एउटै भएपनि शब्दमा खेल्नेलाई एउटा शब्दले नपोलोस् । प्राप्ति एउटा चुनौति हो । तर, प्राप्तिले दिएका चुनौति चिर्नसकेमात्रै सफल नेतृत्व बन्न सकिन्छ । महिला नेतृत्वमा आएकोमा गौरव गर्दैगर्दा आगामी दिनमा जिल्ला र प्रदेशहरुमा पनि महिलाको नेतृत्व स्थापित गर्ने रोलमोडल बन्न सकोस्–वर्तमान नेतृत्व । अन्यथा ‘देख्यौ महिलाको काम’ भनेर होच्याउने आधार स्थापित गर्न उद्दतहरुलाई बल नपुग्ला भन्न सकिन्न ।
अहिलेलाई हामी महिला पत्रकारले महिला नेतृत्व स्थापित भएकोमा गर्व महशुस गरेका छौं । स्व. नियममा बाँधिनुपर्ने पत्रकारिताको आचारसंहिता अनुसार पेशागत बद्मासी गर्नेलाई दायरामा ल्याउनका लागि दण्ड सजायको स्पष्ट ब्यवस्था छैन । कार्ड बोकेको भरमा पशु तस्करीदेखि मानव तस्करीसम्मको बचाउ गर्नेसम्मको गलत परिपाटी अंगालिएन भने मात्रै पनि पेशागत शुद्धतामा सहयोग अवश्य पुग्ने निश्चित छ । सत्तामा बसेर आफू अनुकूल नहुँदा पत्रकार थर्काउने हर्क एउटा प्रतिनिधि पात्र हुन् भने समाजले पत्रकारिता जगतलाई कसरी बुझिरहेको छ भन्ने कुराको उदाहरण पूर्व माननीय हुन् ।
सत्ताको सनासो र समाजमा पत्रकारिताप्रतिको गिर्दो दृष्टिकोणको चेपुवाबाट माथि उकास्न वर्तमान नेतृत्वले प्रभावकारी कार्य गर्न सकोस् । सत्ताको सनासोमा जहिले चेपिने पत्रकारिताको धर्म समाजमा विश्वास कायम गर्नु हो । तसर्थ पत्रकारिताको मूल मर्ममा फर्काउन यो कार्यसमितिलाई सफलता मिलोस् शुभकामना !