बिर्तामोड ५ पुस । नेपाल उद्यमशील महिला संघ झापाको आयोजना र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाको सहकार्यमा महिला उद्यमीहरूसंग कर सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्बता खरेल बिमलीको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापामा विभिन्न प्रकारका उद्यम सञ्चालन गर्दै आएका महिलाहरुलाई लक्षित गरी आयोजित कर सम्बन्धी सचेतनामुलक कार्यक्रममा ७० जनाभन्दाबढी महिला उद्यमीको सहभागिता रहेको बताइएको छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत काफ्लेले कर तिर्नुपर्ने कारणहरू बारेजानकारी दिंदै आफ्नो व्यवसायको कारोबारबारे आफैं जानकार भएर जवाफदेही हुनुपर्नेमा सचेत गराउनु भयो । आफूले गरेको कारोबारको लेखाजोखाबारे अर्कामा भर पर्दा धेरैले समस्या झेल्नु परेको बताउँनु भयो ।
कार्यक्रममा प्रमुख कर अधिकृत काफ्ले, कर अधिकृत तीलक थापामगर, सीता खतिवडाले करको परिचय, महत्व, बिशेषता, प्यान, प्यानका प्रकार, भ्याट, भ्याटमा जानुपर्ने अवस्था व्यक्ति वा सन्ततीलाई हुने फाइदा लगायतका बारेमा जाँदाबारे सहभागीलाई जानकारी गराएका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओमकृष्ण बिमलीले देशको नेतृत्व गर्नेहरु इमान्दार भए कर तिरेर कहिले पनि बेफाइदा नहुने बताउँदै युवा जनशक्ति विदेशिने अवस्थाबाट रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बिना थापा घिमिरेले गर्नुभएको थियो ।
उद्यमशील महिला संघ झापाको आयोजनामा कर सम्बन्धी सचेतना



















