बिर्तामोड १ पुस । वीरता लेडी जेसीजको सन् २०२५ को अध्यक्षको प्रतिष्पर्धामा रहेकी झुमा भट्टराई चुडालले आफ्नो इज्जत र प्रतिष्ठामाथि नै प्रहार गरिएको भन्दै संलग्नलाई कारवाहीको माग गरेकी छन् ।
उम्मेद्वारी नै फिर्ता लिएर आफू मतदानस्थलबाटै बाहिरिएपछि मतदान नै नगरि नेतृत्व चयन गरेको भएपनि प्रतिष्पर्धी निशा शाक्यको शतप्रतिशत र आफ्नो शुन्य (०) मत आएको भन्दै माइन्युटमा दस्तावेजीकरण गरेपछि चुडालले निर्वाचित भनिएको समिति खारेजी र सार्वजनिक गाली बेइज्जती, मानहानीको कानून बमोजिम कारवाहीको माग गरेसंगै जेसीज भित्रको विवाद बाहिर आएको हो । निर्वाचन प्रक्रियाबाटै बाहिरिएपछि मतदान नै नभएको अधिवेशनमा मत अंक उल्लेख गरेर आफ्नो इज्जत र प्रतिष्ठामाथि गम्भिर आँच आएको भन्दै चुडालले पत्रकार सम्मेलन गरेसंगै जेसीज भित्रको विवाद उत्कर्षमा पुगेको सार्वजनिक भएको हो ।

भद्र सहमतिको अवज्ञा गर्दै आफूलाई छलेर जबरजस्त जेसीजको विधान विपरित निर्वाचनमा लगेर पनि आफू मैदानबाट बाहिरिएपछि आत्मसम्मानमा चोट पुग्ने गरि दस्तावेजीकरण गर्ने कार्यमा संलग्न निर्वाचन समितिलाई सार्वजनिक गाली बेइज्जतीको कानूनी व्यवस्था अन्तरगत कारवाहीको माग गर्नुका साथै सन् २०२५ लागि निर्वाचित भनिएको निशा शाक्यको टिमलाई खारेजीको माग गर्नुभएको छ ।
मतदान प्रक्रियामा नै नगई सकेको अधिवेशनमा शुन्य मत आयो भनेर लेखिनु सरासर मेरो आत्मस्वाभिमान माथिको प्रहार हो, चुडालले भन्नुभयो–‘मनोनयन दर्ता गरेर हिडेकी मलाई बोलाएर निर्वाचन समितिकै सदस्यले मनोनयन फिर्ताका लागि निवेदन बनाएर फिर्ता लिन बाध्य बनाइयो उहाँले थप्नुभयो–‘दुईजनामा एकजनाले फिर्ता लिएपछि कसरी मत अंकको कुरा आयो ?’ चुनावै भएको भए के मैले आफ्नो भोट आफैंलाई नहालेर अर्कालाई हाले ? मेरो मानसिक सन्तुलन गुमेको थियो र ?’चुडालले प्रश्न गर्नुभयो ।
स्रोतका अनुसार ३० गतेको निर्वाचनमा मतदान नै हुँदा मतदान गर्न योग्य ३८ जना सदस्यहरुमात्रै थिए । तर, मतदान नै नभएको अधिवेशनमा २०२५ का लागि निर्वाचित भनेर घोषणा गरिएकी निशा शाक्यले शतप्रतिशत ८२ मत प्राप्त गरेको माइन्युटमा उल्लेख गरिएको छ ।
जेसीजको निर्वाचनमा भोट हाल्नका लागि अक्टोबर ३१ सम्ममा सदस्यता नविकरण गरेको हुनुपर्छ । उक्त समयावधिमा वीरता लेडी जेसीजका ३८ जनाले मात्रै सदस्यता नविकरण गरेको बताइएको छ ।
चुडाललाई अध्यक्ष हुनबाट रोक्नका लागि डिसेम्बर १३ मा निशा शाक्यले अन्य सदस्यको सदस्यता नविकरण गरेको असन्तुष्ट पक्षको दावी छ । जेसीज विधान अनुसार जुन अवैधानिक हुन्छ ।
निर्वाचन समितिले जबरजस्ती अबैधानिक सदस्यहरुलाई पनि बैधानिक भन्न थालेपछि आफूहरुले प्रश्न गरेपनि जवाफ नै नपाएको बताएका छन् । बोल्नै नदिएको झुमाका समर्थकहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा मञ्जु ओली, लिला खरेल, मञ्जु उप्रेती, दिपा शिवाकोटी, रेनुका महतो, कामना उप्रेती, लुना शिवाकोटी, यशोदा उप्रेती, पुनम उप्रेती, अर्चना खड्का लगायतका जेसीज सदस्यहरुको उपस्थिति रहेको थियो ।
विगत ३ वर्षअघिदेखि नै अध्यक्षको दावी गर्दै आएकी झुमाले यसअघि सहमति र सहकार्यका लागि त्याग गर्दै आएकी थिइन् । सन् २०२४ मा पूर्व अध्यक्षहरुको उपस्थितिमा चुडाललाई अध्यक्ष बनाउने भद्र सहमति भएको थियो । सार्वजनिक गाली बेइज्जती विरुद्ध आफू अदालतमै जाने चुडालले बताउनु भयो । ‘अध्यक्ष मेरो भागमा नै लेखेको रहेनछ भनेर चित्त बुझाउथे, त्यै भएर प्रक्रियाबाट मनोनयन फिर्ता लिएर घर फर्किसकेकी थिए, उहाँले भन्नुभयो, तर जब शुन्य मत भनेर माइन्युट लेखेर मलाई पठाइयो, त्यसले ठूलो पीडा दियो । अपमान भयो, आत्मसम्मानमा चोट पुग्यो, न्यायका लागि अदालत पनि जान्छु ।’
सहमति विपरित नेतृत्व चयन गर्नका लागि जेसीजको विधि र विधान मिचेर गरेको कार्यको भत्र्सना गर्दै निर्वाचन समितिका संगिता गिरी, संगिता चिमरिया र वर्तमान अध्यक्ष मेनुका ओलीसहित दोषीलाई कारवाहीको माग गरेकी झुमाले आफूलाई न्याय दिलाइदिन माग समेत गरेकी छन् ।
उता आइतबारै सदस्य रोजिना पाण्डेले निर्वाचन प्रक्रिया निष्पक्ष र धाँधलीरहित नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छन् ।
मतदाता नामावलीमा आफ्नो नाम नियतवश हटाइएको र त्यस विषयमा कुरा गर्न जाँदा निर्वाचन समितिले आफूलाई गुन्डा भनेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निर्वाचन प्रक्रिया रोक्न उजुरी दिएकी थिइन् । तर, निर्वाचन समितिले निर्वाचन प्रक्रिया नरोकी विवादका बीच नयाँ कार्यसमिति चयन गरेको थियो ।