भद्रपुर ११ कार्तिक । झापाको कनकाई नगरपालिकाको वडा नं २ मा नगरपालिकाको न्यायिक समिति, मेलमिलापकर्ता, वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयंसेवकका लागि कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ। कन्काई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा सञ्चालित तालिम सम्पन्न भएको हो।
तालिम कन्काई नगरपालिकाको उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य र वडा नं २ का वडा अध्यक्ष बलराम राईको अध्यक्षतामा मिति २०८१ कार्तिक ९ र १० गते २ दिन सम्म सञ्चालन भएको थियो।
शनिबार सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक शिवाकोटीले मेलमिलाप विवाद समाधानका लागि बैकल्पिक उत्तम उपाय भएको बताउनु भयो । मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवं जित जितको अवस्था भै पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुदा मेलमिलापको ठूलो महत्व रहेको बताउनु भयो। उहाँले नगरपालिकाका सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको र ती मेलमिलाप केन्द्र लक्षित गरेर कानूनी परामर्शको तालिम आवश्यक रहेको हुदा मेलमिलापकर्ताका लागी समय समयमा अन्तरक्रिया छलफल हुनुपर्ने धारणा समेत राख्नु भएको थियो।
सहभागीको तर्फबाट बोल्दै पुष्पप्रसाद ओझा र उषा मैनाली चुडालले तालिममा सिकेको कुरा ब्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाउनु भयो । तालिमको झापा जिल्ला अदालतका शाखा अधिकृत एवं मेलमिलाप प्रशिक्षक रामचन्द्र बस्नेत र अधिवक्ता एवं मेलमिलाप प्रशिक्षक सानू कार्कीले सहजीकरण गर्नु भएको थियो भने तालिममा कन्काइ नगरपालिकाको न्यायिक समिति सदस्य, ९ वटै वडाका मेलमिलाप कर्ता सहित २८ जनाको सहभागीको रहेको थियो।
कनकाईमा कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न
