बिर्तामोड १५ भदौ । यतिबेला तीजको बारेमा आलोचना ब्यापक भइरहेको छ । कारण तीज लामो समयसम्म मनाइयो, तीजमा प्रस्तुत गरिने नृत्य र गीत संस्कृति मैत्री भएन, महिलाहरुले तीजका नाममा रक्सी खाए, मासु खाए, समग्रमा भोज खाए भनेर सामाजिक सञ्जालमा रोइलो देखिइरहेको छ ।
महिलाले तीजसंगसंगै संस्कृति संरक्षण गर्दै लोकपरम्परागत संस्कार, बाजागाजा त्यसको प्रवद्र्धन पनि गर्छन् भन्ने कुराको सन्देश बिर्तामोड नगरपालिका १० नं. वडामा सनिवार सम्पन्न तीज मिलन कार्यक्रमले प्रष्ट्याएको छ ।
मञ्चमा सम्मानका खातिर धेरै अतिथिहरु लगिएपनि शुभकामना मन्तव्यमा पुर्याइएको विवेकले उद्घाटन सत्र छोटो र छरितो भएको सहभागीको प्रतिक्रिया थियो । उद्घाटन सत्र समापनसंगै नौमती बाजाको बजाएर शुभरम्भ गरिएको तीज मिलन कार्यक्रममा नौमतीको धुनमा ननाच्ने शायद कोही पनि थिएन । अतिथिहरु मञ्चमै रमाए । त्यसपछिका गीतका भाका पनि पर्व सुहाउँदो बजाइनुले तीजको महत्व दर्शाउनुका साथै व्यवस्थापकीय दुरदर्शिता निकै प्रभावकारी देखिन्थ्यो ।
बिर्तामोड नगरपालिका वडा नं. १० की वडा सदस्य धनमाया श्रेष्ठको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष सामाजिक व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङ, अतिथिहरु एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले शरीर स्वस्थ्य रहन पनि नाच गान तथा मनोरञ्जन आवश्यक हुने बताउँदै स्वथ्यले खुशी रहन कहिलेकाँही सामुहिक मनोरञ्जनका कार्यक्रम आवश्यक रहेको बताए । साथै चाडपर्व र संस्कृतिको संरक्षणमा सबै सदैव सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।
वडाध्यक्ष दुर्योधन गुरुङले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन वडा सदस्य दिपीका शिवाले गरेकी थिइन । कार्यक्रममा स्वागत गीता घिमिरेले गरेकी थिइन । कार्यक्रममा वडा सचिव दुर्गा अधिकारी, सामाजिक व्यक्तित्व नविन विमली, भूपाल बस्नेत, अर्जुन सिटौला, देवी घिमिरे, भूमा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।