भद्रपुर १४ भदौ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुर ९ को २५ औं बार्षिक साधारणसभा तथा परिषद भेला मुना सामुदायिक भवन देवकोटा चोकमा शुक्रबार सम्पन्न भएको छ ।
सभाको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख पोखरेलले समुदायमा हस्तान्तरण भएसंगै सामुदायिक वनमा सुधार आउनुका सार्थ स्तरोन्नति भएको बताए । वातावरण स्वस्थ्य राख्न बिरुवा लगाउन जरुरी रहेको उनको भनाई थियो । पछिल्लो समय हात्ती भद्रपुरको पूर्वी नाका भएको भन्दै हात्ती नियन्त्रणको लागि चन्द्रगढी वनले दीर्घकालीन योजना ल्याउनु पर्ने बताए । पोखरेलले हात्ती नियन्त्रण गर्न सोलार फेन्सिङ तारबारका लागि भद्रपुर नगरपालिकाबाट संघीय तथा प्रदेश सरकारसंग बजेट माग गरिरहेको बताए । नगरपालिकाले वनसंगको सम्बन्ध प्रगाढ बनाउन चाहेको समेत स्पष्ट पारे। सभामा संस्थाको वार्षिक प्रतिवेदन समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईले प्रस्तुत गरेका थिए।
कार्यक्रममा वन डिभिजन कार्यलयका अधिकृत कुमार कार्की ,भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का ,९ का रामप्रसाद दाहाल, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समिति अध्यक्ष चुडामणि मैनाली, हिरा पोखरेल ,गोपाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।