बिर्तामोड । रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रेडियो सञ्चालक उमेश डालमिया दोस्रो पटक निर्वाचित भएका छन् ।
बिहीबार बिर्तामोडस्थित रेडियो भिजनको सभाहलमा भएको वार्षिक साधारणसभाले डालमियाको अध्यक्षतामा कार्यसमिति पुनर्गठन गरेको हो । साधारणसभाले झापा उद्योग संघका बरिष्ठ उपाध्यक्ष तथा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ भने सचिवमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल र कोषाध्यक्षमा आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष चूडामणि लिम्बू (विशाल नेम्वाङ) सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् । साधारण सभाले विर्तामोड नगरका मेयर एवम् सञ्चालक पवित्रा महतरा प्रसाईंको अध्यक्षतामा पाँच सदस्यीय सल्लाकार समिति चयन गरेको छ । सल्लाहकार सदस्यहरुमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल रहेका छन् ।
रेडियो भिजनका प्रबन्ध निर्देशक गणेश पोखरेलले सञ्चार उद्यमले व्यहोर्नु परेको कठिनाइसँग पौठेजोरी खेल्दै रेडियो भिजन सुरक्षित अवस्थामा सञ्चालन भइरहेको बताउँदै बजार सुदृढ हुनासाथ रेडियो मुनाफातिर जाने अवस्था रहेको सबै सेयर सदस्यहरुलाई जानकारी गराए । झापामा एफएम रेडियो बन्द हुँदै गएको अवस्थामा पनि रेडियो भिजन २००० वाट बाट निरन्तर सञ्चालनमा आएको बताए । उनले भने, बजारको चुनौतीले गर्दा हामीले व्यापार बढाउन नसके पनि खर्च व्यवस्थापनमा मितव्ययी बनेर सञ्चालनमा छौं ।
सञ्चालक समितिका अध्यक्ष डालमियाको अध्यक्षतामा भएको साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनलाई सभाले पास गरेको छ ।
रेडियो भिजनको अध्यक्षमा पुनः डालमिया, उपाध्यक्षमा ढकाल

































































































