बिर्तामोड ३१ साउन । झापाको बिर्तामोडमा यो बर्ष पनि श्रीकृष्ण रथयात्रा हुने भएको छ । बालाजी मन्दिर समिति बिर्तामोड र कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । यी दुई समितिले अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालेका थिए ।
श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात आगामी भदौ ११ गते नन्दउत्सवको अवसर पारेर रथयात्राको आयोजना गर्न लागिएको बुधबार बालाजी मन्दिर परिसरमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।
धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । भगवान् श्री कृष्णको जन्मोेत्सवको अवसर पारेर गर्न लागिएको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गोयलको भनाई छ ।
भदौ १० गते साझ ६ बजेदेखि राती १२ बजे सम्म भब्य श्रृंगार, श्री कृष्ण जन्म, श्री कृष्ण लीला, शिव ताण्डव, गणेश जीको झाँकी दर्शन, राधा रानी झाँकी दर्शन लगायतका कार्यक्रम हुने पनि कार्यक्रम संयोजक तथा अग्रसेन भवन अन्तरगत बालाजी धाम व्यवस्थापन समितिका अध्यक्ष गोयलको भनाई छ ।
भदौ ११ गते विशेष पूजाअर्चना गरिने र दिउँसो ३ बजे रथयात्रा बालाजी मन्दिरबाट प्रारम्भ हुने बताइएको छ । रथयात्राले बिर्तामोड बजार परिक्रमा गर्ने जनाइएको छ ।
सद्गुरु सदनले दुई वर्ष अघि पनि एकल रथयात्रा निकालेको थियो । तर अघिल्लो बर्षदेखि भने बालाजी मन्दिरसँग सहकार्य गरेर संयुक्त निकाल्दै आएको श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडका युवा परिषद अध्यक्ष दिनेश भट्टराईले जानकारी दिए ।
शान्ति, धर्म रक्षा, समाज तथा मानव कल्याणको लागि यस पटक पनि संयुक्त रथयात्रा गर्न लागिएको बालाजी मन्दिरका अध्यक्ष गोयलको भनाई छ । रथयात्रा व्यवस्थापनका लागि भएको छलफलमा श्री कृष्ण प्रणामी नेपाल युवा परिषद केन्द्रिय सदस्य मदन अधिकारी, कोशी प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, झापा अध्यक्ष टहलदास ओली, मारवाडी सेवा समिति अध्यक्ष मोहन मित्तल, श्याम मन्दिर निर्माण समितिका संयोजक सुरेश वंशल, अग्रेसन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, उपाध्यक्ष जिवन खड्का , महेश्वरी सभा अध्यक्ष महेश चितलांगीया, छठ युवा फ्रन्टका अमरजित शाह, छठ सेवा समिति अध्यक्ष राजकुमार गुप्ता लगायतले रथयात्रालाई व्यवस्थापन सँगै कसरी सफल बनाउने भन्ने विषयमा आ आफ्नो धारणा राखेका थिए ।
कृष्णजन्माष्टमीमा बिर्तामोडमा रथयात्रा निकालिने

































































































