जोस्ना श्रेष्ठ
पछिल्लो पटक चालक दलसहित १९ जना लिएर काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभूवन विमानस्थलबाट गति लिएको केही मिनेट मै भुँईमा जोतियो । एयरलायन्स भित्र रहेका एकजना बाहेक छिन भरमै धुवाको मुस्लो आकाशतिर उडिइरहँदा अरु सबै खरानी भए । प्लेन दुर्घटनाका विषयमा आएका समाचारले दिनभर अधिकांस नेपालीको मनमा एकप्रकारको तरङ्ग नै ल्याइदियो । हिजो साउन ९ गते बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको भिडियो राजधानीका बिभिन्न सञचारमाध्यम र सामाजिक सञ्जालमा सार्बजनिक भयो । चालकलाई सकुशल उद्दार गरिएको समाचारमा जनाइएको थियो । भिडियोमा दुर्घटना ग्रस्त विमान आगोले खरानी बनेर धुवाँको मुस्लो निस्किएको देखिन्थ्यो । शुरुमा दुर्घटनाग्रस्त विमानमा कति यात्रु थिए भन्ने जानकारी दिईएको थिएन । दुर्घटनाग्रस्त क्षेत्रमा मानिसहरुको घुईचो देखिन्थ्यो । यो खबरले सबै नेपालीलाई स्तब्ध बनायो । बिमानको टुक्रा टुक्रा तथा खरानी भएको अवस्था देखिन्थ्यो । विमान स्थल नजिकै दुर्घटना हुँदा पनि उद्दारका लागि तुरुन्तै प्रभावकारी संयन्त्र परिचालन हुन नसक्नु दुखद पक्ष थियो । त्रिभुवन विमानस्थलमा कतै आन्तरिक उडान यात्राका लागि पुगेका यात्रुहरुले विमानस्थल भित्र बस भित्रैबाट भिडियो बनाई रहेका थिए विमान स्थलका केही कर्मचारीहरु ती यात्रुहरुले आँखै अगाडि दुर्घटना भयो भनिरहेको सुनिन्थ्यो ।
केही बेर पछि आएको अर्को समाचारले भने विमान दुर्घटनामा सवार १८ जनाको मृत्यु र चालक एकजना मनिषरत्न शाक्यको उपचार भइरहेको समाचार सम्प्रेषण गर्यो ।
विमानमा रहेका १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी भएको बताईएको छ । त्यसमा रहेकी एक महिला र नाबालक शिशु सौर्य एयरलाइन्सका एक कर्मचारीका श्रीमती र छोरा रहेको खुलेको छ । १७ जना भने सौर्य एअरलाइन्सका चालकदल, व्यवस्थापक एवम् प्राविधिक रहेका छन् । विमानमा को–पाइलट सुशान्त कटुवाल, चिफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चिफ अफ क्यूए दिलीप बर्मा रहेका एयरलाइन्सले जनाएको छ ।
हिजो भएको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ विमान दुर्घटना हो । यस अघिका विमान दुर्घटनामा मुलुकले धेरै विशिष्ट व्यक्तित्वहरू गुमाएर क्षति व्योहोर्नु परेको छ ।
२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना परी मुलुकका विशिष्ट २४ जना व्यक्तिले ज्यान गुमाए । उक्त दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई, उनको श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल ,विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाले ज्यान गुमाएको घटना स्मृतिमा ताजै छ । त्यस बेला उक्त दुर्घटना जाँचबुझ गर्न गठित छानबिन आयोगले खराब मौसमका कारण दुर्घटना भएको पुष्टी गरेको थियो।
यस्तै २०७९ माघ १ गते यति एयरलाइन्सको विमान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एक आन्तरिक यात्रुवाहक उडान एटिआर ७२–५०० विमान सेतीगण्डकी नदी किनारमा पोखरामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुदाँ विमान दुर्घटनामा परेर १५ विदेशी नागरिक र चालक दलका चार सदस्यसहित ७२ जनाले ज्यान गुमाएका थिए। यी दुर्घटनाहरु हवाई दुर्घटनाका प्रतिनिधी घटनाहरु हुन । जसलाई नेपाली जनताले कालो दिनका रूपमा भुल्न सकेका छैनन।
नेपालमा हवाई यातायात सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा हवाइ दुर्घटना भएका छन् । नेपाली आकाशमा घटेका साना–ठुला हवाइ दुर्घटनामा नौसय १८ जना ज्यान गएको विश्वभर हुने हवाइ दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एयरक्रफ्ट एक्सिडेन्ट अर्काइभ (विविएए) ले जनाएको छ ।
विविएएका अनुसार पहिलो पटक मानविय क्षति हुने गरी सन १९५५ मा कालिङ्गा एयरलाइनको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । विविएएका अनुसार नेपालमा भएका ६९ हवाइ दुर्घटना मध्ये सबै भन्दा बढी मानविय क्षति सन १९९२ मा ललितपुरमा पाकिस्तान इन्टरनेशन एयरलाइन्सको एयरबस ए ३०० विमान दुर्घटनामा भएको थियो । जुन दुर्घटनामा १६७ जनाको ज्यान गुमाएका थिए ।
आखिर नेपालमा हवाई यात्रा के कारणले असुरक्षित छ ? किन बेला बेला दोहोरी रहन्छन् नरसंहार झै कहाली लाग्दा यस्ता दुर्घटना ? दुर्घटना न्यूनीकरणका लागि अध्ययन अनुसन्धान, खोज गर्ने जिम्मेवारी कसको ? नियन्त्रणका लागि प्रभावकारी कामकारबाही कार्यन्वयन र कदम अब ढिला भैसक्यो। यस बिषयमा गम्भीर बन र हवाई उडान सुरक्षित बनाउ सरकार ।







































































































