बिर्तामोड १७ असार । उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले महिला उद्यमी संघ नेपालले आज (सोमबार) देखि २ दिने डिजिटल मार्केटिङ सम्बन्धी तालिमको सञ्चालन प्रारम्भ गरेको छ ।
सप्तकोशी डेभलपमेन्ट विकास बैंकका कार्यकारी प्रमुख दिनेश पोखरेलको प्रमुख आतिथ्य तथा महिला उद्यमी संघ नेपालकी अध्यक्ष शुष्मा भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन तालिममा बोल्दै प्रमुख अतिथि पोखरेलले उद्यमीहरुलाई बैंकबाट ऋण लिंदा ब्याजदर संगै प्रिमियम कति जोडिन्छ ? भनेर प्रश्न गर्न सुझाए ।
धेरैजस्तो ठूला बैंकले ब्याजदर सस्तो दिएजस्तो गरेर प्रिमियम बढी जोड्ने गरेको पाइएको खुलासा गरे । उनका अनुसार ठूला ब्यापारीलाई कम प्रिमियम जोडेर त्यसको लाभ साना ब्यापारीबाट उठाउने गरेका छन् ।
सप्तकोशी डेभलपमेन्ट विकास बैंकको सहयोगमा आयोजित तालिममा प्रविधिको प्रयोग गरेर आफूले उत्पादन गरेका सामग्री कसरी विक्री वितरण गर्न सकिन्छ भन्ने कुरालाई तालिममा विशेष प्राथमिकता दिइने बताइएको छ । उत्पादित सामग्रीको बजार प्रवद्र्धनका लागि पछिल्लो समय प्रविधि माध्यम बनेसंगै महिला उद्यमीहरुले पनि उत्पादित सामानको बजारीकरण र प्रवद्र्धनका लागि डिजिटल मार्केटिङको आवश्यकता महशुस गरेका हुन् ।
हरेक क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगसंगै उद्यमीहरुले पनि आफ्नो उत्पादनको बजारीकरणका लागि डिजिटल माध्यम अपरिहार्य ठानेसंगै यसअघि देखि नै महिला उद्यमी संघ सहकार्य गर्दै आएको सप्तकोशी विकास बैंकले उद्यमीको रोजाईमा परेको तालिमका लागि सहयोग गरेको हो ।
तालिममा बिर्तामोड, बुद्धशान्ति, मेचीनगर, कनकाई तथा दमकका व्यवसायीको सहभागिता रहेको अध्यक्ष भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ अध्यक्ष पार्वता खरेल विमली, शुशिला कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा विमल राजवंशी, विकास कोइराला र साइमन बस्नेतले सहजीकरण गर्ने बताइएको छ ।
आयोजक संस्थाकी बरिष्ठ उपाध्यक्ष सर्मिला अधिकरीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव यमुना तिवारीले गरेकी थिइन ।
महिला उद्यमीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम



















