बिर्तामोड १६ असार । बिर्तामोडका ब्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नु पर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसंग ब्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले व्यवसायीको संरक्षण गर्नु पर्ने र ब्यवसायीहरुको हितमा कार्यक्रम ल्याउनु पर्ने माग समेत गरे ।
राज्यलाई सबैभन्दा धरै कर ब्यवसायीले तिर्ने गरेको तर व्यवसायीको हितमा स्थानीय सरकारले कार्यक्रम ल्याउन नसकेको भन्दै उनीहरुले दुखेसो पोखे । कार्यक्रममा बोल्दै अलौंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले कृषि जन्य बस्तुमा संघीय सरकारले छुट दिएपनि स्थानीय सरकारले कृषि जन्य बस्तु निर्यातमा कर लिएको र त्यसलाई हटाइनु पर्ने माग राखे ।
महिला उद्यमी पार्वता खरेल विमलीले बिर्तामोडलाई प्लाष्टिक मुक्त बनाइनु पर्ने र महिला व्यवसायीलाई स्थानीय सरकारले उद्यमशीलतामा जोड्दै लानु पर्ने धारणा राखिन् ।
झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले ब्यवसायीको संरक्षण गर्दै उनीहरुको सुरक्षाका लागि सडक किनारमा सडक बत्ती जडान गर्नु पर्ने बताए ।
त्यस्तै अग्रसेन भवन बिर्तामोडका अध्यक्ष मोहन मित्तलले करका क्षेत्रमा नगरपालिका लचिलो बन्नु पर्ने र सबै ब्यवसायीलाई करको दायरमा ल्याउनु पर्ने बताए । करतिर्ने व्यवसायीलाई स्थानीय सरकारले सम्मान जनक व्यवहार गर्नु पर्ने उनको धारणा थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै भने – बिर्तामोड नगरपालिकाले व्यवसायीको हित हुने गरीका कार्यक्रम ल्याउनम नगरप्रमुखलाई अनुरोध गर्छु । संघको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने आफू प्रतिवद्ध रहको बताए ।
कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले व्यवसायीले उठाएका प्रश्नको जवाफ दिँदै ब्यवसायीहरुका उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाइन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापा, वलराम कार्की, निर्मल भट्टराई, बिनोद बस्नेत, गणेश पौडेल, ओम कृष्ण विमली, पार्वता खरेल विमली, शुष्मा पौडेल, मोहन मित्तल, निखिल कार्की लगायतले बजार तथा व्यवसाय सञ्चालनमा देखिएका समस्या र समाधानका लागि नगरपालिकाले गर्न सक्ने सहजीकरणका बारेमा आ– आफ्नो धारणा राखेका थिए ।
बिर्तामोड नगरपालिकालाई ब्यवसायीको हितमा काम गर्न सुझाव



















