बिर्तामोड ८ असार । नेवास् पासा मुना पुचः बिर्तामोडको आयोजनामा बिर्तामोडमा एक महिना अघिदेखि शुरु भएको धिमेबाजा प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।
नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजना र बिर्तामोड नगरपालिका वडा नं ५ र ४ को आर्थिक सहयोगमा नेवाः छे भवन बिर्तामोड ४ मा गत जेठ १४ गतेदेखि शुरु भएको धिमेबाजा प्रशिक्षण तालिम आज सम्पन्न भएको हो ।
धरानका धिमेबाजा प्रशिक्षक आयुष शाक्यले प्रशिक्षण दिएको तालिममा बिर्तामोड नगरपालिका र काँकडभिट्टाका गरी २६ जना प्रशिक्षार्थी सहभागी रहेका थिए।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिममा सिकेको कला एक साथ प्रस्तुत गरेका थिए । सोही अवसरमा नेवाः पासा मुना पुचःका शुभचिन्तक बसन्त प्रेमी राजभण्डारीले धिमेबाजा खरिदका लागि आयोजक परिवारलाई नगद दशहजार सहयोग प्रदान गरे ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेची आँखा अस्पतालका अध्यक्ष जल कुमार गुरुङ्गले कार्यक्रममा बोल्दै भाषा संस्कृतिको जगेर्ना गर्ने मुलुक र जनताले कहिले पनि दुख नपाउने बताए।
नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड वडा वडा नं ५ का अध्यक्ष रोहित प्रसाई, ईन्द्रपुर नेवाः पासा मुना पुचका अध्यक्ष थर्कमान श्रेष्ठ ,नेवा समाज काँकडभिट्टाका अध्यक्ष तथा नेवाः देय् दवु झापा जिल्ला उपाध्यक्ष कमल गुभाजु ,पासा मुना पुच बिर्तामोडका संस्थापक तथा पुर्व अध्यक्ष कृष्ण उदास, आदिवासी जनजाति महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवंशी ,प्रशिक्षक आयुस शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए।
नेवाः पासा मुना पुचः उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत ,औचित्य माथि प्रकाश धिमेबाजा प्रशिक्षण संयोजक लक्ष्मी श्रेष्ठ र सञ्चालन सदस्य तारामणि श्रेष्ठले गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानका नेवा संगठन प्रमुख, प्रतिनिधि लगायत नेवा बन्धुहरुको उपस्थिति रहेको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथीको हातबाट प्रमाण पत्र वितरण गरिएको थियो।
नेवाः पासा मुना पुचः बिर्तामोडको आयोजनामा संचालित धिमेबाजा प्रशिक्षण तालिम सम्पन्न



















