इन्दु पूर्वेली
भर्खर पत्रकारितामा प्रवेश गर्दैगर्दा भ्रष्टाचार, अनियमितता, नीतिगत भ्रष्टाचार, वैदेशिक रोजगारीमा ठगी लगायत समसामयिक राजनीति, सरकारी काम कारबाहीमा देखिएका विसंगति विरुद्ध हालका रास्वपा नेता रवि लामिछानेले टेलिभिजन कार्यक्रममार्फत दिएको अभिब्यक्ति गज्जब लाग्थ्यो । समाज, राजनीति, स्वास्थ्य, विद्यालय एवं हरेक क्षेत्रका विसंगतिको केन्द्रमा रहने पात्रहरुले उनको गाली सुनिदिएर सुध्रिए हुन्थ्यो लाग्थ्यो । पछि पत्रकारिताको नीति, नियम, आचारसंहितालगायतका विषयवस्तुहरु बुझ्दै गएपछि अनि काठमाडौंमा रहेर केन्द्रका मिडियाहरुमा कार्यरत पत्रकारहरुको रविप्रतिको धारणा सुन्दा उनका तीब्र गाली, अति प्रसंशा, प्रस्तुती शैली र शब्दहरुको प्रयोग कतिपय अवस्थामा पत्रकार आचारसंहिता विपरित रहेछ भन्ने लाग्न थाल्यो । २४ घण्टाभन्दा बढी निरन्तर अन्तरर्वार्ता लिएर विश्व वल्र्ड रेकर्ड गिनिज बुकमा नाम लेखाउन सफल भएपछि उनको चर्चा झन् बढेको थियो ।
आफ्नो नेतृत्वमा २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर पार्टीको नीति, सिद्धान्त र विचार सार्वजनिक नगरिकन स्थापनाको ६ महिनामै उनले कमाएको लोकप्रियता र पार्टीप्रतिको जनताको विश्वास एवं मत सञ्चारकर्मकै फल थियो भन्दा अतिउक्ति हुँदैन । न्यूज द्दद्ध टेलिभिजनमा रहेर ‘सिधा कुरा जनतासँग’ मार्फत वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका थुप्रै युवायुवतीको उद्दारमा मिलेको सफलताले पनि उनको लोकप्रियतालाई ह्वात्तै बढाइदिएकै बेला भएको निर्वाचनले उनलाई राजनीतितर्फ फर्काइदियो । जतिबेला उनी पत्रकारितामा थिए, उनी कहिल्यै समाचारको विषय बनेनन्–छिटपुट घटनाबाहेक । यद्यपिः उनको दुईवटा नागरिकता भएको र अमेरिकाको स्थायी बसोबासको प्रमाण भएको भन्ने छिटपुट खबर सञ्चारकर्ममै हुँदा बाहिरिएको विषय थियो । तर उम्मेद्वारी दर्तापछि दोहोरो नागरिकता रहेको दावीविरोध परेपनि प्रर्याप्त प्रमाण नपुगेको भन्दै निर्वाचन आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएन । त्यसो त आफ्ना सहकर्मी शालिकराम पुडासैनीको शंकास्पद मृत्युपछि उनी आफैंले गरेको भिडियो रेकर्डका आधारमा रवि पक्राऊ परेपनि पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनलाई छाडिदिएको थियो । त्यसपछि ग्यालेक्सी जी फोर टेलिभिजन स्थापना गरेर केही समय त्यसको प्रवन्ध निर्देशक हुँदै राजनीतितिर होमिएका उनी २०७९ साल (पार्टी खोलेको ६ महिना) मै भएको आम निर्वाचनमा चितवन क्षेत्र नं–२ बाट निकै लोकप्रिय मतका साथ निर्वाचित भए भने प्रत्यक्ष र समानुपातिक प्रणालीमार्फत सातसिट जित्न उनको पार्टी रास्वपा सफल भयो ।

सञ्चारकर्ममा हुन्जेलसम्म समाचारको केन्द्रमा नपर्ने उनी जब राजनीतिमा प्रवेश गरे तव समाचारको विषयवस्तु बन्नु स्वभाविक नै थियो । के.पी. ओलीको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गृह मन्त्रालयकै जिम्मेवारी प्राप्त गरेपछि त उनी झन् समाचारको केन्द्रमा पर्ने नै भए । यद्यपि पहिलोपटक गृहमा नियुक्त हुँदै गर्दा उनले दिएका भ्रष्टाचारमा संलग्न ठूला माछालाई पक्रिएर कारबाही गर्नेे अभिब्यक्तिले साँच्चै सुशासन प्राप्त होला त ? भन्ने भावना जनतामा जागेको थियो ।
संघीय सरकार गठनमा देखिएको राजनीतिक गुटबन्दी र सत्ता समीकरणले उनी पुनः दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारीमा पुग्दैगर्दा यो साता सबैजसो पत्रपत्रिकाले रविको कार्टुन छापे र छापिरहेकै छन् । ‘हजारौं शब्दहरुले ब्याख्या गर्न नसकेको अभिब्यक्ति एउटै कार्टुनले दिन्छ’ भने झैं गृहको डाइपर लगाएको, एमाले अध्यक्ष के.पी. ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संरक्षण रहेको, सहकारीको रकम अपचलनको प्रमाणका लागि नोट नम्बर देखाउन चुनौति दिने, सहकारी काण्ड ढाकछोप गर्न अनुनय–विनयसहित ओलीका अघि घुँडा टेकेर बसेको लगायतका दर्जनौ कार्टुनहरु त आइतबार मात्रै प्रकाशित भए । त्यसयता पनि उनीलक्षित कार्टुन छापिइरहेकै छन् । त्यतिमात्रै होइन, सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गरिनुपर्ने प्रतिपक्षी दलको माग र संसदमै प्रमाणहरु पेश गरिरहँदा गृहमन्त्री रहेका रविले ‘सहकारी बाट ऋृण मागेको र लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु’ सम्मको अभिब्यक्ति दिए । सँगै उनका ब्यावसायिक साथी जी.वी. (गितेन्द्रबहादुर राई) लाई पूर्व अर्थमन्त्रीले भगाएकोजस्ता भ्रामक अभिब्यक्ति पनि सार्वजनिक भए । सिआइवीले गरेको अनुसन्धान र प्रमाणका आधारमा रवि दोषी रहेको भनी सार्वजनिक भइसकेको छ । रवि संलग्न सहकारीको मात्रै नभएर आर्थिक संकटमा परेका सहकारीहरुको रकम अपचलनको मुद्दाको विस्तृत छानविन र दोषीमाथि कारबाही जरुरी देखिन्छ । रकम अपचलन गर्नेहरुबाट पीडितहरुलाई क्षतिपूर्ति भराउन पनि उत्तिकै आवश्यक छ ।
पूर्व अर्थमन्त्री चिरञ्जीवी वाग्ले पदीय दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा डेढबर्ष जेलजीवन ब्यतित गरेर निस्किए । नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका उनी उक्त आरोप र जेल जीवन ब्यतितपछि राजनीतिमा देखिएनन् । उनीमाथि लागेको आरोपका विषयमा अनुसन्धान गर्न उनी आबद्ध पार्टी कांग्रेसले अवरोध गरेन । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड बार्गेनिङ गरेको आरोप लाग्यो र अडियो रेकर्ड सार्वजनिक भयो । उनले सञ्चारमन्त्रीबाट तत्काल राजीनामा गरेर अध्ययन अनुसन्धानका लागि मार्ग प्रशस्त गरे । यद्यपि उनीमाथि अनुसन्धान र कारबाही प्रक्रिया चाहिं अघि बढेन । उनी अहिले पनि काभ्रेबाट सांसद निर्वाचित भएका छन् र प्रतिनिधिसभामा छन् । यी उदाहरण मात्रै हुन् भ्रष्टाचार आरोप र नेतृत्वले तत्समयमा देखाएको छविका । अहिले उच्च पदीय ओहोदामा रहेका रविमाथि जुन आरोप छ–साँच्चै उनी निर्दोष छन् भने पदबाट राजीनामा दिएर संसदीय छानविन समिति बनाउन संसदमै समर्थन गर्नुपर्ने हो । अनि उक्त समितिमार्फत नै निर्दोष सावित भएर उच्च छविका साथ राजनीतिक धरातलमा उभिनुपर्ने हो । तर पदीय दायित्वमै बसिरहेर उनले दिएका सफाइका अभिब्यक्तिलाई उनैका कार्यकर्ताले पत्याइदिए भने कुन्नि ? सर्वसाधारण सचेत नागरिकले चाहिं पटक्कै पत्याए झैं लाग्दैन ।
पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको सहारा सहकारीका अधिकांश वचतकर्ताको रकम रबी आबद्ध ग्यालेक्सी टेलिभिजनमा लगानी भएका समाचार बाहिरिएका छन् । सूर्यदर्शन सहकारीका पीडितहरुले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ हिनामिना भएको दाबीसहित उजुरी गरेका छन् भने सुप्रिम र सहाराका पीडितहरुले पनि रकम अपचलन विरुद्ध कारबाहीको माग राखी उजुरी दिइसकेका छन् । पीडितको उजुरीमा मुख्य आरोपी मानिएका जि.वी. राईसहितको टिमलाई पक्राऊ गर्ने र सर्वसाधारण नागरिकलाई न्याय दिने जिम्मेवार पदमा रहेका रविले अहिले सफाइका अभिब्यक्ति दिनुको सट्टा उनका ब्यावसायिक पार्टनर जि.वी.लाई पक्राऊ गरेर रकम अपचलनको सत्यतथ्य बाहिर ल्याउन सक्नुपर्छ । तब मात्रै उनी निर्दोष छन् कि दोषी ? नागरिकले पत्याउलान् ।
सदस्यहरुको जीवनस्तर सुधार र समुदायको हितमा कार्य गर्ने लक्षसहित स्थापना भएका सहकारीले ‘खुला तथा ऐच्छिक सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरुबीच पारस्परिक सहयोग एवं समुदायप्रति चासो’ लगायतका सात सिद्धान्त प्रतिपादन गरेर सहकारी ऐन र कार्यविधिको परिधिभित्र रहेर कार्य गर्ने प्रतिबद्धतापछि मात्रै दर्ता गरेर सञ्चालन गरेका हुन्छन् । तर सहकारी सञ्चालक समितिको उत्तरदायी पद अर्थात कार्यसमितिमा बस्नेहरुको नीतिगत एवं आर्थिक अपचलनसहितका बदमासी केही सहकारीले गर्दा देशभरका सहकारीहरुलाई हेर्ने दृष्टिकोण फेरिएको छ भने संस्थाप्रतिको विश्वास क्रमशः घट्दै गएको छ । त्यसो त यसअघि चलेका र राम्रा भनिएका सहकारीहरुले समेत नीतिगत अनियमितता गरेर नाता, गोता, आफन्तलाई जागिर खुवाउन ठूलो रकम खर्चिएको, आफन्तका नाममा असक्षम जनशक्ति राखेर तलब खुवाएको पाइएको सरकारद्वारा गठित अध्ययन समितिले नै सार्वजनिक गरेको थियो ।
पोखराको सडक बजारमा मकै पोलेर बेच्ने एक महिलाले आफूले घर बनाउन भनी दैनिक स–सानो रकम बचत गरेर लगभग ३१ लाख पु¥याएको र हाल उक्त (सूर्यदर्शन) सहकारीको रकम अपचलन भएपछि कहाँ खोज्ने ? भन्दै रोएको भिडियो एक टेलिभिजनको समाचारमा यसअघि नै प्रशारण भएको थियो । सूर्यदर्शन सहकारीबाट रकम फिर्ता नपाएकी मकै पोल्ने महिला एवं सुप्रिम, सहारा सहकारी वा जुनसुकै सहकारीमा पनि सामान्य नागरिकले नै रकम जम्मा गर्ने हो । एकैपटक ठूलो रकम नहुने र मजदुरी, ज्यामी वा जीवननिर्वाहका लागि सामान्य काम गर्ने मानिसहरुले कुनै दिन अफ्ठेरो परेको समयमा गर्जो टार्नकै निमित्त दैनिक खर्चबाट जोगाएर स–सानो रकम जम्मा गर्ने हो । प्रसस्त आर्थिक श्रोत र आम्दानी भएकाहरुले त वैंकमा राखेर वा ब्यक्तिगत रुपमै सञ्चिती गरेर पनि आम्दानी र उपभोगको सन्तुलन मिलाइहाल्छन् ।
प्रसङ्ग रवितिरै जोडौं । हिजो पीडितका गुनासालाई सञ्चारमार्फत प्राथमिकताका साथ बजाएर उनीहरुको न्यायिक लडाईंका लागि सघाउने रविको छवि आज फेरिएको छ । आज उनी सर्वसाधारणको आवाज नसुन्ने बहिरो भएका छन् । आवाजविहिनहरुको आवाज बनेर हिजो कमाएको छवि आज राजनीतिमा उदाएको दुईबर्ष नपुग्दै विलय हुँदै गएको छ । यसले उनको राजनीतिक भविष्य कुन स्थानमा पुग्छ ? त्यो भने हेर्न बाँकी नै छ । राजनीति र सञ्चारकर्ममा देखिएको यो विरोधाभाषले प्रश्न उब्जाउँछ–सञ्चारकर्म नागरिकको हित र न्यायका लागि गरिदो रहेछ । लोकतन्त्रमा त राजनीति पनि लोकहितकै लागि अर्थात जनताको सर्वोच्चताकै लागि गरिनुपर्ने हो । तर नेतृत्वमा पुगेकाहरुको भड्किलो जीवनशैलीले के राजनीति चाहिं ब्यक्तिगत लाभकै लागि परिणत भएको हो त ? प्रश्न उठेको छ । रवी सँगसँगै राजनीतिमा उच्च पदस्थ भनिएकाहरुको भ्रष्टाचार, यौन, हत्या, अनियमितता, नीतिगत भ्रष्टाचार, सरकारी रकम अपचलन आदि सार्वजनिक भएका काण्ड र राजनीतिज्ञहरुको गिर्दो छवीले लाग्छ–लोकतन्त्र धरापमा परिरहेको त छैन ? नीतिहिन, चरित्रहिन, भ्रष्टहरुको बोलवाला बढ्दै जाँदा स्वच्छ छवि भएका सिमित राजनीतिज्ञहरुको नैतिकताको सम्मान समेत हुन नसक्नु दुःखद पक्ष हो ।



















