भद्रपुर ९ बैशाख । सहकारीमा चोरीका विभिन्न घटनाहरुमा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले ६ जनाको नाम सार्वजनिक गरेको छ । प्रहरी कार्यालयले गत बैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वनयमा नियन्त्रणमा लिएका ६ जनाको नाम सार्वजनिक गरेको हो ।

प्रहरीले झापाका विभिन्न सहकारीमा विभिन्न समयमा चोरी गरिएको रकम साथै पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नं.५ फाखेल ठेगाना भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षका बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र सोही गाउँपालिका वडा नं. ८ फाखेलका २८ वर्षका अजय रानामगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट बिगो रु ३० लाख १६ हजार ६ सय ८७ रुपैयाँ चोरीको आरोप छ भने सहकारी चोरीका १३ वटा घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट ५ दिनका लागि म्याद थपिएको जनाइएको छ । प्रहरीले उनीहरुबाट विभिन्न घरेलु हतियार, २ थान मोटर साइकल लगायतका सामग्री बराबद गरेको थियो ।



















