झापा १ चैत । झापाको गौरादह नगरपालिका–७ योगीटारकी ८२ बर्षीया बृद्धा नरमाया बिश्वकर्माको हत्या आरोपमा नाती धीरज विश्वकर्मासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक नरमायाको नाती १८ बर्षीय धिरजसहित स्थानीय १८ बर्षीय राजु मल्लिक रहेका छन् ।
फागुन २६ गते देखि घरैबाट अचानक हराईरहेकी बृद्धाको खोजी गर्ने क्रममा आफ्नै घर पछाडी रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते बृद्धाको शव फेला परेको थियो ।
गाडेको अवस्थामा शव फेला परेसंगै घटनाबारे सुक्ष्म अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी घटनामा संलग्न रहेको आशंकामा धिरज र राजुलाई पक्राउ गरेको हो । गाँजा खाई लट्ठ भएका बि.क.ले फागुन २६ गते राति २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडी प्रहार गर्दा बृद्धाको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रड प्रहारबाट हजुर आमाको मृत्यु भएपछि धिरजले उनको साथी राजु मल्लिकको सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रहरीले जनाएको छ ।
हजुरआमा हत्या आरोपमा नातीसहित २ जना पक्राउ



















