बिर्तामोड । झापाको बिर्तामोड र काँकडभिट्टामा होटल हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठ र छोरा गौरव श्रेष्ठले सुरक्षा र न्यायको माग गरेका छन् ।
होटल र फोटो व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ बाबु छोराले व्यवसाय सञ्चालनका क्रममा आफूहरु माथि नियोजित आक्रमण भएको बताएका छन् ।
काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा केहीदिनदेखि स्थानीय केहि युवाहरुको हुलहुज्जत गरि होटल कब्जामा लिनुका साथै मार्ने प्रयास गरेको श्रेष्ठ बाबू छोराले बताएका छन् । होटलको वार्षिकोत्सव तथा देविभक्तका छोरा गौरवको जन्मोत्सव मनाउने तयारी गरिरहेको बेला माघ २५ गते अवसरमा स्थानीय युवाहरुले गौरवमाथि आक्रमण गर्नुका साथै होटल समेत कब्जामा लिएको उनीहरूले बताएका छन् ।
आक्रमण र होटल कब्जाको घटनाबारे पत्रकारलाई जानकारी दिने क्रममा देविभक्तले डाको छोड्दै भने देशका लागि ठूलो काम गर्न नसकेपनि केहि विगारेको छैन, देशबाट पलायन हुन लागेको छोरालाई देशमै केही गर्नुपर्छ भनेर आफ्नै व्यवसायमा फर्काउने प्रयास गरें ।
माघ २५ गते काँकडभिट्टास्थित होटलमा गौरवलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेजमा देखिन्छ । कुटपिटबाट उनको शरीरमा चोट समेत लागेको छ । होटल सञ्चालकमाथि कुटपिट भएपछि उनीहरुले सुरक्षाका लागि प्रहरी प्रशासनमा गुहार माग्दा पनि नपाएको गुनासो गरेका उनीहरूले भोलीपल्ट सुरक्षाको माग तथा आक्रमणबारे निवेदन लिएर जाँदा प्रहरी प्रशासनले निवेदन समेत दर्ता नगरेको उनीहरूको गुनसो छ । न्यायको माग गर्दै जिल्ला प्रशासनसम्म पुगेपनि प्रशासनले मेचीनगरपालिका पठाएको थियो ।
होटलका विषयमा समस्या आएपछि माघ २६ गते मेचीनगर पालिकामा दुवैपक्ष बीच छलफल भएको थियो । २६ गतेको छलफलमा अनुसार होटल सञ्चालक गौरव श्रेष्ठ २८ गते काँकडभिट्टा होटल पुगेका थिए । २८ गते होटलमा पुगेका गौरबमाथि पुनः आक्रमण भएको भन्दै गौरबले सार्वजनिक गरेको भिडियोमा केही व्यक्तिले हातपात गरेको स्पष्ट देख्न सकिन्छ । । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले काँकडभिट्टामा भएको घटनाको भिडियो नै सार्वजनिक गरेर देखाएका छन् । भिडियोमा गौरवमाथि कुटपिट तथा दुव्र्यवहार भएको स्पष्ट देखिन्छ ।
आफ्नै होटलको बोर्ड समेत हटाएर न्यू हिकोला लेखिएको देखिन्छ । आफूमाथि आक्रमण हुनुमो कारण घरधनीसहितको समूहले होटल हडप्ने योजना अनुसार भएको हुनसक्ने सञ्चालक श्रेष्ठको आशंका छ । होटल सञ्चालनका लागि १५ वर्षका लागि सम्झौता गरेका श्रेष्ठले होटल बनउनका लागि आफैले लगानी गरेको बताएका छन्ता । सम्झौताको अवधी सकिन अझै १२ वर्ष बाँकी छ । अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गरेका छन् । घरधनीबाट उल्टै करोडौ रुपैयाँ पाउनुपर्ने दावी गर्दै आएका सञ्चालक देविभक्त श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले हिसाव गर्दा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको स्पष्ट पारेका छन् ।
विदेश छोडेर नेपालमा व्यवसायका लागि आएको बताउने छोरा गौरवले व्यवसायका लागि वातावरण ठिक नभएको बताए । उनले काँकडभिट्टाको घटनापछि आफ्नो परिवार समेत सुरक्षा जोखिम बढेको बताए । उनले आफूसहित परिवारको सुरक्षा मागेका छन् ।
काँकडभिट्टाको होटल हिकोला हेरिटेजमा भएको घटना घरभाडासँग जोडिएको छ । घरभाडा नपाएपछि सञ्चालक श्रेष्ठलाई भाडा दिन वा घर खाली गर्न काँकडभिट्टाका घरधनी पशुपति दाहालले विगत डेढ वर्षदेखि आग्रह गरेका थिए । पटक–पटक घर खाली गर्न भन्दा नटेरेपछि उक्त घटना भएको घरधनीको भनाई छ । उनले आफुमाथि अन्याय भएपछि गाउँलेले सहयोग गरेको बताए ।
घरधनी दाहालका अनुसार श्रेष्ठले तीन वर्षदेखि भाडा दिएका छैनन् । उनले ७३ लाख ५० हजार भाडा पाउनुपर्ने बताए । घर नेपाल बैंकले लिलामी गर्ने भनेपछि आफुले होटल सञ्चालकलाई ताकेता गरेको बताए। दाहाल भन्छन्, घर लिलामी हुन लाग्यो, भाडा दिनुस् भन्दा लिलामी भए म सकार्छु भनेपछि हडप्ने प्रपञ्च देखे । घर हडपिने डरले इप्रका, वाणिज्य संघ, जिल्ला प्रशासन, न्यायिक समितिमा उजुरी गरेको उनको भनाई छ ।
दाहालले श्रेष्ठको बिर्तामोडस्थित घरमै पुगेर भाडाको कुरा गर्दा कृटपिट गर्ने धाकधम्की दिएको सुनाए । आफ्नो घरमा भाडा नपाएपछि गुहार मागेको घरबेटी दाहालको भनाई छ । उनले २५ गतेको घटना श्रेष्ठकै कारण निम्तिएको दावी गरे ।
घरवेटीलाई दोस्रो पक्ष बनाएर सम्झौता गरेको घरको विवाद बारे पटक–पटक नगरपालिकामा छलफल भएको थियो । छलफलमा पत्र काटेर बोलाउदा समेत श्रेष्ठ सहभागी नभएपछि स्थानीय आक्रोसित भएको उनको भनाई छ । यता, नगरको सहमति अनुसार जिल्ला प्रशासनको प्रतिनिधिसहित होटलको मुल्याङकन गरिएको छ । होटलको १ करोड २० लाख मूल्याङकन गरिएको छ, उनले भने – मैले पाउनुपर्ने पैसा कटाएर बाँकी उपलब्ध गराइदिन्छु ।
यता होटल सञ्चालक श्रेष्ठले घरधनीलाई आफूले भाडा दिनुपर्ने देखिए आफू तयार रहेको बताएका छन् । होटलमा आफ्नो लगानी ठूलो भएको बताउँदै श्रेष्ठले भने मूल्यांकन गर्दा मैले तिर्नुपर्ने देखियो भने एकै मिनेटमा दिन तयार छु, रोक्दिन ।
काँकडभिट्टामा भएको घटनाबारे त्यहाँका सबै स्थानीय अगुवाहरु जानकार रहेका छन् । पत्रकार सम्मेलनपछि घरधनीका एक छिमेकीले होटल सञ्चालक र घर धनीबीचको विवाद पुरानै भएको बताए । माघ २५ गतेको घटनाले विवाद बाहिर आएको मात्रै हो–ती स्थानीयले भने ।
घरधनी र होटल सञ्चालकबीच होटल सुरु हुनु अघिदेखि समस्या शुरू भएको स्थानीय बताउँछन् । सुरुवाटै लफडा हुँदैहुँदै आएपछि अहिले बाहिर छताछुल्ल मात्र भएको हो । होटल सुरु गरेपछि विभिन्न चरणमा विभिन्न क्षेत्रमा पटक पटक लफडा भइसकेको जानकारहरु बताउँछन् ।
गौरबले होटल व्यवसाय र पर्यटन क्षेत्रमा अपार संभावना रहेको ठहर गर्दै आफूले बाह्रयदेशमा पाएको अवसरहरु पनि छोडेर नेपाल फर्केको बताउँदै भने, मेरो उमेरका युवालाई यही केही गर्नुपर्छ भनेर विदेश जानबाट रोक्नुपर्ने हो ।’