बिर्तामोड माघ । कांग्रेसका नेता केशबकुमार बुढाथोकीको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा सोमबार बेलुका साढे ११ बजे निधन भएका बुढाथोकीको कनकाई माईमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । यसअघि उहाँको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा २ घण्टा राखिएको थियो । बुढाथोकीलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता महामन्त्री विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश सभापति उद्वव थापा, केन्द्रीय सदस्यहरु अमृत अर्याल लगायत झापा, मोरङ, इलाम, पाँचथर लगायतका जिल्लाबाट उपस्थित भएका थिए ।
बुढाथोकीलाई अन्तिम श्रद्धान्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टी कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका लागि कांग्रेसका पुराना नेता डिल्ली सिटौला लगायत नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा उपस्थिति रहेको थियो ।
२००१ सालमा जन्मिएका बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । दिवंगत बुढाथोकीका श्रीमती गीता, छोरा आनन्द र शिशिर बुढाथोकी तथा छोरीहरु ममता र कविता रहेको पारिवारिक स्रोतले जनाएको छ ।
संविधान सभा सदस्य समेत रहेका नेता बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र व्यवस्था परिवर्तन भएपछि सामान्य प्रशासन मन्त्री भएका थिए । हक्की स्वभावका बुढाथोकी कांग्रेस राजनीतिमा मध्यमार्गी नेताका रुपमा परिचित थिए । ‘सेतो बाघ’ उपनामले परिचित थिए ।
पछिल्लो समयमा फोक्सोमा इन्फेक्सन भएको थियो । मृगौलासमेत समस्या देखिएपछि बिराट नर्सिङ होममा उपचारकै क्रममा निधन भएको थियो ।
को हुन नेता बुढाथोकी ः
साविक शनिश्चरे गाउँ पञ्चायत प्रधानपन्च एक कार्यकाल
– जिल्ला पञ्चायत सभापति एक कार्यकाल
– २०३८ सालमा सम्पन्न निर्वाचनमा जनपक्षीय उम्मेदवार भइ राष्ट्रिय पञ्चायत सदस्य ९सहायक जलश्रोत मन्त्री ०
–२०४७ सालको आम निर्वाचनमा राप्रपा बाट चुनाब लड्दा पराजित
– २०५०–०५१ सालतिर पार्टी प्रवेश ९नेपाली कांग्रेस ०
– पार्टीको नवौ महाधिवेशनमा जिल्ला सभापति उठ्दा कृष्ण सिटौलासँग पराजित
– २०५६ मा झापा क्षेत्र न–५ बाट प्रतिनिधिसभा सदस्य
– शेरबहादुर देउवाले प्रजातान्त्रिक काँग्र्रेस स्थापना गरेपछी प्रजातान्त्रिक काँग्र्रेसको झापा जिल्ला सभापति ।
– प्रजातान्त्रिक काँग्र्रेसको केन्द्रीय सदस्यमा मनोनीत गरेपछी काशी चौधरीलाई जिल्ला सभापतिको जिम्मेवारी ।
– २०६४ सालमा झापा क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्यमा निर्वाचित
– २०७० सालमा झापा क्षेत्र नम्बर–४ बाट सविधानसभा सदस्य निर्वाचित
– सोही कार्यकालमा सामान्य प्रशासन मन्त्री
– १३ औ र १४ औ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य
कडा मिजासका बुढाथोकी बोलेपछि गर्छन् भन्ने विश्वास धेरैको थियो । स्पष्ट बोल्ने नेताका रुपमा चिनिएका बुढाथोकी कांग्रेसमा मात्र नभएर अन्य दलमा आस्था राख्ने कार्यकर्ताले पनि विश्वासिला र काम गर्ने नेताका रुपमा चर्चा गरेको सुनिन्थ्यो ।
कांग्रेस नेता बुढाथोकीको अन्त्येष्टि, श्रद्धाञ्जलीमा कांग्रेस नेतासंगै एमाले अध्यक्ष ओलीपनि

































































































