बिर्तामोड ३ माघ । झापाको बिर्तामोडमा बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरण सम्बन्धी तीनदिने कार्यशाला सुरु भएको छ ।
महिला जनचेतना केन्द्र काँकरभिट्टाको आयोजनामा आजदेखि सुरु भएको प्रदेशस्तरीय तीनदिने कार्यशालामा १४ जिल्लाका ६० जना सहभागी रहेका छन् ।
केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षता भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लखी गणेशको प्रमुख आतिथ्य रहेको थियो । कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सांसद गणेशले अशिक्षा, गरिबी र चेतनाको अभावका कारण बालबिबाह हुने गरेको बताउँदै लक्षित वर्ग समुदायसम्म शिक्षा र चेतनाको पहुँच पुर्याउनुपर्नेमा जोड दिइन् । महिलाहरुले धेरै अधिकार प्राप्त गरेपनि अझै धेरै प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै त्यसका लागि आर्थिक रुपमा पनि शसक्त हुनुपर्नेमा सांसद गणेशको जोड थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले समाजमा हुने विभिन्न प्रकृतिका हिंसा र बालविवाहसंग सम्बन्धित घटना प्रस्तुत गर्दै कानूनका कुनै पनि व्यवस्थाले नभ्याउने समस्या आउने गरेको बताइन् । मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीले कानून कार्यान्वयनमा महिलाको उपस्थिति अनिवार्य रहेको औल्याइन । त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कानूनका छिद्रलाई पुरुष राजनीतिक दलले जहिले पनि टेक्ने गरेको बताउँदै कानूनका छिद्र रोक्न आवाज उठाउनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गाराज रेग्मीले झापामा पनि बालबिबाह अझैपनि रोकिन नसकेको उल्लेख गर्दै सूचनाका आधारमा प्रहरीले बालबिबाह रोक्नु परेको अनुभव सुनाए ।
संस्थापक अध्यक्ष राधा प्रधानले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सुष्मा राजवंशीले गरेकी थिइन् । कार्यशालाको पहिलो दिन वीरबहादुर मगरले सहजीकरण गर्ने छन् । कार्यक्रममा उपस्थितहरुले सामुहिक रुपमा मैनबत्ती बालेर उद्घाटन गरेका थिए ।
बाल विवाह न्यूनीकरण तथा महिला सशक्तीकरण सम्बन्धी शुरु

































































































