बिर्तामोड २८ पुस । झापाको बिर्तामोडमा पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम भएको छ । नेवाःपासा मुना पुचः बिर्तामोडको संयोजन तथा नेवाः मिसा पुचः तथा नेवाः ल्याम्ह पुचः बिर्तामोडको आयोजनामा पाँचौं नेवाः फुड फेस्टिवल तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

बिर्तामोड स्थित वान स्टप मल परिसरमा आज आयोजित फुड फेस्टिवलमा विभिन्न नेवारी खानाको परिकार प्रदर्शन तथा बिक्रीसगै साँस्कृतिक कार्यक्रम भएको थियो ।

स्टलमा नेवारी खानाका परिकारहरु योमरी (दुई थरीका चाकु र खुवाको) ,बारा , नेवारी खाजा सेट , छोयला, साथै भेज तथा ननभेज मःम, सेलरोटी, लगायत अन्य परिकारहरु राखिएको थियो ।

नेवाः पासा मुना पुचः बिर्तामोडको अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन बरिष्ठ गीतकार शिवशंकर थापाले गरेका थिए ।

सांस्कृतिक कार्यक्रममा नेवारी गीतसंगीतमा नृत्यका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरु अर्जुन खरेल, ज्योती खाती, बिनोद कालिकोटे लगायतले दमदार सांगीतिक प्रस्तुती दिएका थिए ।

बहुजाती, बहुभाषी र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा विभिन्न जातजाति बीच यस्ता फुट फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गर्दा एकापसमा भाइचारा र सद्भाव बढ्नुका साथै आफ्नो मौलिकता बारे स्वयं नेवार समुदायका उदियमान पुस्ताले पनि जान्ने र सिक्ने मौका पाउने नेवाःपासा मुना पुचः बिर्तामोडको अध्यक्ष दिनेश श्रेष्ठले बताए।

मिलन शाक्यको सञ्चालन नकुल श्रेष्ठको स्वागत रहेको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फुड फेस्टिवलमा नेवारी खानाको स्वाद लिन र सांस्कृतिक कार्यक्रमा मनोरञ्जन लिन दर्शकहरूको भिड लागेको थियो।


































































































