बिर्तामोड ११ पुस । व्यक्तिले रोग लागेपनि बेवास्ता गर्ने तथा सरकारका बजेटले पनि नछोएको तर,समुदायमा समस्याका रुपमा रहेका स्वास्थ्य समस्यामा विश्वास परियोजना सुधारका लागि सक्रिय रहेको छ ।
झापाको बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालद्वारा सञ्चालित विश्वास परियोजनाले खास गरी पछाडि परेका समुदायमा बढी देखिएको उपक्षेति तथा उष्ण प्रदेशिय रोड, मातृशिशु स्याहार, र अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सुधारका क्षेत्रमा काम गर्दै आएको बुधबार आयोजित सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा जानकारी दिइयो ।
फेयरमेड फाउण्डेशनको आर्थिक सहयोगमा सहाराद्वारा सञ्चालित विश्वास परियोजना विगत २ वर्षदेखि झापा, मोरङ र सुनसरीका २५ वटा पालिकामा सञ्चालन हुँदै आएको परियोजनाका संयोजक पवन राईले जानकारी दिए ।
चेतनाको अभाव, अन्धविश्वासले समाजमा टिक्न हुने कठिनाई, हेलचेक्र्याई लगायतका कारणले अझैपनि रोगहरु लुकाउने प्रचलन रहेकाले रोग निवारण हुन नसकेको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरी बताए ।
नेपालमा उपेक्षित र उष्णप्रदेशीय रोगका रुपमा कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेगीं र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फित्ते जुका र खस्रे रोग रहेका छन् ।
झापाका १० पालिका, मोरङको ७ र सुनसरीका ८ वटा पालिकामा उपेक्षित उष्णप्रदेशीय रोगहरुका विषयमा पछाडि परेका समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिंदै परियोजनाका संयोजक पवन राईले रोग निवारणका लागि सञ्चारको माध्यमबाट परियोजनासंग जोडिएर काम गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
परियोजनाले फोकस र ननफोकस दुई भागमा विभाजन गरि कार्यक्रम सञ्चालन गर्दै आएको गिरीले बताए । बाह्रदशी, झापा गापा, हल्दिबारी, गौरीगञ्ज, कचनवकल, गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकालाई फोसक गरेको परियोजनाले बुद्धशान्ति, दमक, शिवसताक्षी, कमल र अर्जुनधारालाई ननफोकसको सूचीमा राखेर काम गर्दै आएको छ । फोकस गरिएका पालिकामा परियोजनाले प्रत्यक्ष कर्मचारी नै खटाएको छ भने ननफोकस अन्तरगत पालिकासंगको समन्वयमा काम गर्दै आएको बताइएको छ ।
उपेक्षित र उष्णप्रदेशीय रोगको जोखिम भएको क्षेत्रमा सचेनामूलक कार्यक्रम, स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन, तालिम, सामग्री सहयोग, क्षमता अभिबृद्धि, मातृशिशु स्वास्थ्य सम्बन्धी काम गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ ।
परियोजनाले झापाका ४२७ जना स्वास्थ्यकर्मीलाई तालिम, ३५४ जना महिला स्वास्थ्य स्वयम सेविकालाई तालिम, ८ जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, ७ वटा प्रसूती गृह शुद्धीकरण तथा व्यवस्थापनमा सहयोग, डेंगु नियन्त्रण महत्वपूर्ण भूमिका, ६ जना नर्सिङ कर्मचारीलाई तालिम, २० वटा सामुदायिक विद्यालयमा सरसफाई कर्नर स्थापना, कुष्ठरोगी र हात्तीपाइले प्रभावितहरुलाई सहायक सामग्री र सात जनालाई १२ हजार रुपैयाँका दरले आत्मनिर्भर बन्न बिउ पुँजी प्रदान सहारा नेपालका फोकल पर्सन सुवेदीले जानकारी दिए ।
परियोजनाको प्रतिफल देखिन ४/५ वर्ष लाग्ने भएपनि झापा गाउँपालिकाको बर्थिङ सेन्टरमा गरेको सहयोग र मेहनतको भने परिणाम देखिन थालेको बताए ।
सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षतामा भएको अन्तरक्रियामा औचित्यमाथि सचिव महेन्द्रकुमार गिरीले प्रकाश पारेका थिए । कार्यक्रममा कोषाध्यक्ष श्यामकुमार प्रधान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
सामाजिक रुपान्तरणका लागि विकास भन्ने मुल नाराका साथ २०५१ सालमा स्थापना भएको सहारा नेपालले ३५ वटा दातृ निकायबाट ६५ वटा परियोजना सफलता पूर्व सम्पन्न गरिसकेको बताइएको छ ।
उपेक्षित र उष्णप्रदेशीय रोग निवारणमा विश्वास परियोजना: सञ्चार सहकार्यका लागि आग्रह

































































































