बिर्तामोड ३० मंसीर । खर्च अभावमा क्यान्सरको उपचार शुरु गर्न नसकेकी बिर्तामोडकी कुसुम आलेमगरको आजैदेखि उपचार प्रक्रिया प्रारम्भ गरिएको छ ।
बिर्तामोडस्थित प्रकाश शितल मार्केटमा सामान्य चिया पसल सञ्चालन गर्दै आएकी कुसुमको उपचारमा खर्च अभाव भएसंगै शनिबार सोही मार्केटका व्यापारी–व्यवसायीहरुले संकलन गरेको ७६ हजार तीनसय ४५ रुपैयाँ हस्तान्तरण गरेसंगै आजैबाट उपचार प्रक्रिया शुरु गरिएको हो ।
कुसुमको उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उद्योग बाणिज्य संघ बिर्तामोडका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।
पाठेघरमा क्यान्सर देखिएकी कुसुमको उपचारका लागि अस्पताल र फार्मेसीसंग पनि सहुलियतमा उपचार र औषधी उपलब्ध गराउन गरेको आग्रहलाई सकारात्मक रहेको बताउँदै बरिष्ठ उपाध्यक्षले कुसुमको उपचारका लागि सहयोग गर्न ब्यापारी–व्यवसायी तथा सर्वसाधारणलाई अपिल पनि गरेका छन् ।
२० दिन अघि पाठेघरमा पहिलो चरणको क्यान्सर भएको पत्ता लागेपनि खर्च अभावमा उपचार शुरु गर्न नसकेको कुसुमले बताइन् ।
उनका अनुसार पहिलो चरणको क्यान्सर भएकोले उपचारका लागि लगभग ५ लाख रुपैयाँ खर्च हुने भनेपनि खर्च अभावमा उपचारमा जान नसकेको बताउँदै उपचारमा सहयोग गरिदिन आग्रह गरेकी छन् ।
एकल जीवन बिताइरहेकी कुसुम एक छोरा र एक छोरीकी आमा हुन् । उनी प्रकाश शितल मार्केटमा सामान्य चिया पसल सञ्चालन गर्दै दैनिकी धान्दै आएकी थिइन् । गत भदौदेखि निरन्तर रक्तश्राव हुन थालेपछि उनी समस्यामा परेकी हुन् ।
पहिलो चरणको क्यान्सर भएको हुनाले समयमै उपचार गर्न सके निको हुने विश्वासमा रहेकी कुसुमलाई सहयोग गर्न इच्छुकका लागि नविल बैंक लिमिटेड बिर्तामोड शाखामा बिरामी स्वयंको नाममा रहेको बैंक खाता नम्बर १८९१००१७५००३१५ मा सहयोग गर्न सकिने छ ।
खर्च अभावमा उपचार गर्न नसकेकी क्यान्सर पीडित कुसुम अस्पताल भर्ना, सहयोगका लागि आग्रह

































































































