चारआली १५ मंसीर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले शिक्षा क्षेत्र तिनवटै सरकारको प्राथमिकतामा पर्न नसकेको बताएका छन् ।
झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसको १६ औं क्याम्पससभामा बोल्दै बुढाथोकीले युग सुहाउँदो गुणस्तरिय शिक्षा पाउने वातावरण बनाउन नसकेसम्म समाज नबन्ने बताउँदै स्थानीय तहको योजना छनौट प्रणाली नै गलत भएको बताए ।
नीति नियम र बजेट कार्यान्वयन गराउनेले बजेट बिनियोजन गर्ने प्रणालीको व्याख्या आ आफ्नै तरिका गर्दा समस्या भएको बताउँदै क्याम्पसका संरक्षक समेत रहेका बुढाथोकीले आक्रोश पोख्तै विद्वानका कारण क्याम्पसलाई बजेट बिनियोजन गर्न नसकेको बताए । बुढाथोकीले भने, ‘एकजना विद्वान आएका छन्, बजेट बिनियोजन गर्ने बेलामा क्याम्पसलाई बजेट छुट्याउन त्यस्तो बजेट त म कार्यान्वयन गर्नै सक्दिन भने पछि बजेट छुट्याउन सकिएन् ।’ उनले थपे, ‘नीति नियम र कानून कार्यान्वयन गर्न पनि व्यक्ति व्यक्तिको ब्याख्या हुन्छ सम्म भन्नु पर्यो, शिक्षाको मन्दिरलाई मर्न दिनुहुन्न, अफिस समयमा संभव नहोला, विहान बेलुका बसेर कुरा गर्न तयार छु केही गर्न सकिन्छ कि ! समय मिलाऔं म फाँटका कर्मचारी लिएर आएर सल्लाह गरौं ।’ नगरप्रमुख बुढाथोकीले भनेका विद्वान को हुन् भन्ने स्पष्ट खुलाएनन् । नगरप्रमुखको मन्तव्य सुन्नेले भने संकेत गरेका विद्धानको अनुमान लगाउन थालिसकेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरि घिमिरेको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
चार सम्मानित

क्याम्पसको अक्षयकोषमा सहयोग गर्ने दाता दुर्गाप्रसाद भट्टराईसहित पाँच जनालाई सम्मान गरिएकाे छ । क्याम्पसकाे उन्नयनमा याेगदान पुर्याएको भन्दै प्राध्यापक गोपाल प्याकुरेल, सावित्रा दाहाल र प्रकाश बास्तोला तथा कर्मचारीका तर्फबाट लक्ष्मी रिजाललाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।
सम्मानित व्यक्तित्वलाई कार्यक्रममा क्याम्पसका संस्थापक सञ्चालक समितिका सदस्य तथा कार्यक्रमका बिशिष्ठ अथिति हरिचरण बानियाँले सम्मान पत्र र खादाद्वारा सम्मान गरेका थिए ।
सो अवसरमा सम्मानित दाताका तर्फबाट दुर्गाप्रसाद भट्टराई, प्राध्यापक प्याकुरेल त्रिदेव क्याम्पस स्ववियु सभापति अर्जुन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्याम्पसको १६ औं क्याम्पससभामा पं. नारायण भट्टराई, मधुसुदन भट्टराई र शिवराम भट्टराईले क्याम्पसको अक्षयकोषमा जनही १/१ लाख रुपैया प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा स्वागत क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष रामप्रसाद प्याकुरेल गरेका थिए भने क्याम्पसको आय व्यय, बार्षिक गतिविधी तथा भावी योजना समेटिएको प्रतिवेदन क्याम्पस प्रमुख माधव प्याकुरेलले प्रस्तुत गर्दै क्याम्पसको अवस्थाबारे जानकारी गराएका थिए ।

































































































