बिर्तामोड २१ कात्तिक । झापामा पहिलो पटक डोरीतान प्रतियोगिता हुने भएको छ । झापा जिल्ला डोरीतान संघको आयोजनामा बिर्तामोडमा आगामी कात्तिक २४ गते ‘प्रथम जिल्ला स्तरीय डोरीतान आउटडोर च्याम्पीयनसीप ‘२०८०’ हुने भएको हो।
संघले मंगलबार (आज) बिर्तामोडमा पत्रकार सम्मलेनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । बिर्तामोडमा पहिलो पटक हुन लागेको प्रतियोगितामा विभागीय, आयोजक र झापाका सबै पालिकाबाट प्रतियोगितामा सहभागी टिमसहित १९ वटा टिमको सहभागीता रहने संघकी झापा अध्यक्ष युनिता दवाडीले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
प्रतियोगितामा आउने खेलाडी पालिकाकै सिफारिसमा आउनु पर्ने आग्रह गरिएको, पालिकाभित्रैको खेलाडी हुनुपर्ने साथै प्रतियोगिता नियम भन्दा बाहिर खेल्न नपाइने समेत अध्यक्ष दवाडीले स्पष्ट पारेकी छन् ।
प्रतियोगिातमा बिजेता टिमलाई नगद ३१ हजार, उपबिजेता टिमलाई नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न पाँचलाख पाँचहजार रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।
नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष डा. सुवासश्री पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा संघकी केन्द्रिय सदस्य संगिता चिमरिया, प्रदेश अध्यक्ष रिता न्यौपाने, झापा सदस्य मेनुका उप्रेती, खेलका रेफ्री सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौडेलले गरेकी थिइन् ।
नेपालका ६ प्रदेश र ५३ जिल्लामा तोरीतान संघ गठन भइसकेको संघका केन्द्रिय उपाध्यक्ष सुवासश्री पोखरेलले जानकारी दिएका छन् । नेपालको मात्र नभएर डोरीतान खेल अन्य देशमा लोकप्रिय रहेको उनले बताए । यो खेल नेपालमा आएपनि संस्थागत हुन नसक्दा आधिकारिक खेलाडीको भविष्य पनि नहुने भएपछि सन् २००७ मा राष्ट्रिय खेलकुद परिषदको पहलमा अन्तर्राष्ट्रिय डोरीतान महासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ दर्ता भएको उनले बताए । सोही कार्यक्रमका बिच बंगलादेशमा हुने अन्तर्राराष्ट्रिय डोरीतान खेलमा सहभागी हुने खेलाडीहरुलाई समेत बिदाई गरिएको थियो । बंगलादेशमा हुने प्रतियोगितामा कोशी प्रदेशसहित देशभरका ४५ जना खेलाडीको सहभागिता रहने केन्द्रीय उपाध्यक्ष पोखरेलले जानकारी दिंदै खेलाडीलाई विदाई गर्नुअघि खेलमा अनुशासनलाई ध्यानमा राख्दै देशलाई सम्झेर खेल्न सुझाए ।
संरक्षक राष्ट्रिय खेलकुद परिषद, कोशी प्रदेश डोरीतान संघ रहने छन् भने सहयोगी संस्था झापा जिल्लाका सवै पालिका, कोशी प्रदेश डोरीतान संघ र मोरङ जिल्ला डोरीतान संघ रहेको जनाइएको छ ।
बिर्तामोडमा पहिलो पटक कात्तिक २४ गते डोरीतान प्रतियोगिता हुँदै

































































































