झापा १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पकामा परी जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या एकसय ५७ जना पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा एकसय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एकसय ५७ जनाको ज्यान गएको हो।
भूकम्पका कारण एकसय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१, रुकुम पश्चिममा ७८, दैलेख, जुम्ला र प्यूठानमा तीन–तीन जना तथा बैतडीमा दुई जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ ।
यो समाचार तयार पार्दासम्म पनि खोज तथा उद्दारको काम जारी छ । तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्दार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले उद्दारमा आफ्ना आठसय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किंदा जन, धन, भौतिक र पशु चौपायाको समेत क्षति भएको बताइएको छ ।
भूकम्पका कारण ज्यान गुमाउनेको संख्या एकसय ५७ पुग्यो

































































































