बिर्तामोड १८ कात्तिक। चारपाने प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले यस बर्षको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ बाट सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ ।
संस्थाको २७ औं बार्षिक साधारणसभामा सहकारी विज्ञ प्रधानाङ्गलाई एक लाख एक हजार नगदराशीसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत प्रधानाङ्गलाइ नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत हुन् ।

सो पुरस्कार हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
यसैगरी ‘सहारा पत्रकारिता पुरस्कार’ बाट एभिन्युज टेलिभिजनका झापा सम्वाददाता सन्तोष न्यौपाने पुरस्कृत भएका छन् । उनले २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सम्मानित दुवैलाई प्रतिनिधिसभाका सभामुख तथा कार्यक्रमका प्रमुख अथिति देवराज घिमिरेले सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संघीय संसदका सभामुख देवराज घिमिरेले असहायहरुका लागि वरदान सावित भएको भन्दै सहाराको प्रशंसा गरेका थिए । अन्य मुलुकमा पनि सहकारीमार्फत सञ्चालन गरिएका उद्योगले ती देशको अर्थतन्त्रमा प्रभाव राखेको बताउँदै घिमिरेले नेपालमा पनि सहारा नेपाल त्यस्तै काम गर्दै गएको बताए । कार्यक्रममा नेस्फुनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सहारा नेपाल साकोसका अध्यक्ष हरि राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केशव भट्टराई र स्वागत हरिप्रसाद निरौलाले गरेका थिए ।

































































































