बिर्तामोड १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ररमेश लेखकले गठबन्धन दललाई असफल बनाउन प्रतिपक्षीहरु सक्रिय रहेको बताएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य लेखकले यस्तो धारणा राखेका हुन् ।
‘कोशी प्रदेशको राजनीतिले गठबन्धन असफल बनाउन प्रतिपक्षी दल सक्रिय रहेको स्पष्ट पार्छ’–प्रतिनिधिसभाका सांसद समेत रहनुभएका लेखकले भने, ‘प्रदेश राजनीतिले प्रतिनिधिसभा पनि जुनसुकै बेला विगठन हुन सक्ने देखाउँछ । त्यसप्रति गठबन्धन दल सचेत हुन जरुरी छ ।’
७ दशकको अवधिमा पाँचवटा संविधान असफल हुनु राजनीतिक अस्थिरताको उदाहरण हो भएको बताउँदै नेता लेखकले अहिलेको संविधान असफल भए देश गम्भिर संकटमा फस्ने टिप्पणी गरे ।
स्थानीय सरकार बाहेक प्रदेश र संघमा कांग्रेससँग स्पष्ट बहुमत नभएको बताउँदै नेता लेखकले संविधानको रक्षा, राष्ट्रियता र अन्तरदलीय प्रतिष्पर्धामा कांग्रेस कार्यकर्तालाई विभाजित नहुन आग्रह गरे ।
‘कांग्रेससँग स्पष्ट बहुमत छैन तर ठूलो दलको हैसियतले मुुलुकको ठिक ढंगले ब्यवस्थापन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ’– केन्द्रिय सदस्य लेखकले भने ।
देशभर बैचारिक अभियान सञ्चालन गर्ने क्षमता झापाले राख्ने बताउँदै नेता लेखकले झापाले शीर्ष राजनीतिक नेतृत्व जन्माएको उनको भनाई थियो । ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाई, कोशी प्रदेश सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायत नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँ नगर सभापतिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
गठबन्धन असफल बनाउन प्रतिपक्षी सक्रिय–लेखक

































































































