बिर्तामोड १६ कात्तिक । बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
संस्थाको आज (बिहिवार) बिर्तामोडमा सम्पन्न १३ औँ साधारणसभामा अध्यक्ष देवी निरौला बस्नेतले प्रस्तुत गरेको प्रतिवेदन अनुसार ६४ लाख १९ हजार चारसय ८० रुपैयाँ नाफा भएको हो । संस्थाले अघिल्लो आवमा ५३ लाख १० हजार तीन रुपैयाँ थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म संस्थाको शेयर पुँजी छ करोड ८१ लाख ४७ हजार नौसय रुपैयाँ पुर्याएको संस्थाको बचत २३ करोड एकलाख ४३ हजार पाँचसय ४४ रुपैयाँ रहेको भने संस्थाले गत आवमा मा २७ करोड ९६ लाख ५५ हजार सातसय ३९ रुपैयाँ कर्जा लगानी गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाको वासलात ३४ करोड ५७ लाख ३४ हजार आठसय ४१ रुपैयाँ रहेको छ ।
बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसर पारेर कर्मचारी तथा शेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाले उत्कृष्ट कर्मचारीमा फिल्ड सुपरभाइजर ऋषिराम अधिकारीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट बचतकर्तामा विष्णुप्रसाद शिवाकोटी, दिपक भूजेल र प्रभा रायामाझी, उत्कृष्ट खुत्रुके बचतकर्तामा राहुल अग्रवाल र सन्तोष खतिवडा, कर्जा उपभोेक्तामा निकेश कट्वाल र कमला उप्रेती सम्मानित भए ।
संस्थाले एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि नगदसहित अभिनव सिलवाल र अंकिता दवाडीलाई सम्मान गरेको छ ।

सिलवाल र दवाडीलाई झापा चारपानेका मोहनप्रसाद भट्टराईले आफ्ना बुवा र छोराको नाममा स्थापना गरेको विप्लव रामचन्द्र स्मृति शैक्षिक पुरस्कार प्रदान गरिएको हो ।
बिर्तामोड, मेचीनगर र कनकाईमा तीनवटा सेवाकेन्द्र रहेको संस्थामा दुई हजार चारसय ९० महिला र एक हजार ९६१ पुरुष शेयर सदस्य रहेका छन् भने २८ जना कर्मचारी रहेको बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, राष्ट्रिय सहकारी बैंक बिर्तामोडका शाखा प्रबन्धक कमलप्रसाद खनाल, नेफ्स्कूनका विनोद न्यौपाने, बिर्तामोड नगरपालिकाका सहकारी प्रमुअ डिल्लीप्रसाद दाहाल, स्वरोजगार भवानी साकोसका अध्यक्ष केशव बस्नेत, नयाँ उज्यालोकी अध्यक्ष सुष्मा भण्डारी, मातृ भाग्यरेखाका अध्यक्ष टंकप्रसाद दवाडीले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए भने स्वागत कोषाध्यक्ष देवीप्रसाद अधिकारीले गरेका थिए ।

































































































