बिर्तामोड १२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संवैधानिक व्यवस्थाको सदुपयोग गरेर मुख्य मन्त्री बनेको बताएका छन् ।
नेपाली कांग्रेस झापा जिल्ला कार्य समितिको आयोजनामा आज आयोजित मुख्यमन्त्रीको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको भन्ने नबुझ्न आग्रह गर्दै आफु पार्टी र कार्यकर्ताको शिर उच्च पारेर प्रदेश जनता लक्षित काम गर्न प्रतिवद्ध रहेको बताए । पार्टीको नीति, सिद्धान्त र विचार अनुकुल रहेर जिम्मेवारी बहन गर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले परिस्थितिले सिर्जना गरेको कठिन घढीमा आफूले संविधानको सदुपयोग गरेको स्पष्ट पारे ।
नेपाली कांग्रेसका सांसदहरुले प्रतिपक्षी भएर पाँच बर्षसम्म संसदको एककुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) बमोजिम कार्की मुख्यमन्त्री बनेका हुन् ।
अधिकतम जनताको हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाउने बताउँदै मुख्यमन्त्री कार्कीले दुईपटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको उनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक संहालेका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताका लागि गौरवको विषय भएको बताए ।
कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्य मन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई थियो ।
संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले सरकारको नेतृत्व गर्दैगर्दा प्रदेशलाई अधिकार सम्पन्न एवं प्रदेश सरकार आवश्यक छ भन्ने जनभावना जागृत गराउने गरी कार्य गर्न सुझाव दिए।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
संविधानको सदुपयोग गरेर मुख्यमन्त्री

































































































