Homeपदयात्राको आकर्षक गन्तब्य मार्दी हिमाल

पदयात्राको आकर्षक गन्तब्य मार्दी हिमाल

२०७७ फागुन ३० गतेको दिन । मनमा बेग्लै उत्साह भरिएको थियो । नयाँ–ठाउँ घुम्न अत्यन्तै रहर लाग्छ मलाई । त्यसैदिन मसहित चारजना मार्दी माउन्टमा ट्रेकिङका लागि जाने योजना थियो हाम्रो । पूर्व योजना अनुसार नै म, विनिता अधिकारी, सविना अधिकारी र राजाराम फुयाल मार्दी हिमालको पैदल यात्राका लागि काठमाडौंबाट पोखरातर्फ लाग्यौं । काठमाडौंको कलंकीबाट विहानको ७ बजे माइक्रोबसमा चढ्यौं हामी । नागढुङ्गा, त्रिशुली नदीको किनारै किनार हुँदै हामी चढेको माइक्रो बस आफ्नो गन्तब्यतिर लम्किरह्यो ।

माइक्रोबसबाट बाहिर चिहाइरहेकी थिएँ म । त्रिशुली नदीको निलो पानी, कलकल आवाज, जताततै हरियालीले मन आनन्दित बनिरहेको थियो । आहा ! मेरो देश कति सुन्दर र स्वर्गजस्तै छ । म कल्पनामा डुबिरहें ।
हामी साथसंगी कुरा गर्दै रमाउँदै पनि थियौं । ८ घण्टापछि पोखराको पृथ्वीचोकमा पुगेर माइक्रो रोकियो । हामी त्यही उत्रियों र काँडे जाने बसमा चढ्यौं । लगभग १ घण्टामा बस काँडे पुग्यो । त्यहीबाट हाम्रो पैदलयात्रा शुरु भयो । विस्तारै उकालो चढ्दै हामी अष्ट्रेलियन क्याम्पमा पुग्यौ । लगभग २ घण्टाको पैदलयात्राका क्रममा पोखराको फेवा ताल र लेकसाईड नजिकै जस्तो देखिन्थ्यो । त्यहाँ सानो जंगल थियो । जंगलकै बीचमा चारवटा सुन्दर लजहरु भेटिए । त्यहाँबाट अन्नपुर्ण हिमाल र माछापुछ«े हिमालको दृश्य राम्ररी देखिन्थ्यो । त्यही पुग्दा थाहा भयो–२०१२ बाट मात्रै मार्दि हिमालको पदयात्रा औपचारिक रुपमा शुरु भएको रहेछ । सुन्दर प्रकृतिको लोभलाग्ने मनमोहकताले पदयात्रालाई सहज बनाएको अनुभव भइरहेको थियो । अष्ट्रेलियन क्याम्पबाट हिडेको २ घण्टामा हामी पोथाना पुगेर पहिलो दिनको पदयात्रामा विश्राम लियौं । चिटिक्क परेका आरामदायी एवं सुविधा सम्पन्न होटल (लज) मा सबै प्रकारमा खाने परिकारहरु पाइदोरहेछ ।
दोस्रो दिन पोथानादेखि लो क्याम्पसम्मको यात्रा तय गरिएको थियो । विहान ६ः ३० बजेबाट यात्रा शुरु गरियो । विहानीको घामको किरणसँगै देखिने आकर्षक प्राकृतिक दृश्यावलोकन गर्दै आँखाले भ्याएसम्म देखिने हिमाली दृश्य, हरियो बन, जताततै फुलेका आकर्षक प्राकृतिक फूलहरु, चराचुरुङ्गीको आवाज सुन्दै र हेर्दै सूर्यडाँडा पुगियो । त्यहाँ केहीबेर विश्राम गरेर अघि बढ्यौं । देउरालीमा पुगेर बिहानीको खाजा खायौं । लक्ष्य भेट्न उकालो उक्लिनु थियो । बाटोभरी घनाजंगल, रातो र सेतो गुलावी गुराँस ढकमक्क फुलेको देख्दा मन आनन्दित थियो ।
लाग्थ्यो– साँच्चै मरेपछिको कल्पनाको स्वर्ग यही होला । मलाई नेपाली भएर जन्मिएकोमा गर्व लागिरह्यो । मेरो जन्मभूमिको प्रत्येक पाखा, पखेरा र हिमाल कति सुन्दर छन् । यति सुन्दर दृश्यावलोकनको आनन्द लिन छाडेर किन नेपालीहरु विदेश घुम्न जान्छन् ? मनमा प्रश्न खेलिरह्यो । साँच्चै पहिला आफ्नै जन्मभूमि भ्रमण गरे त विदेश घुम्ने मोह हराउँथ्यो होला । यहाँका तराई, पहाड र हिमाल सबै घुम्ने हो भने सिंगापुर र स्वीजरलैण्ड भन्दा कम छैन मेरो नेपाल ।

Open photo


घनाजंगलभित्र ट्रेकिङका लागि बनाइएको बाटो, बाटोको छेउछाउमा भब्य आकर्षक एवं सुविधा सम्पन्न होटल लज देख्दा जो–कोही छक्क पर्ने खालको फरेष्ट क्याम्प देखियो । भोक निकै लागिसकेको थियो । जिऊ पनि थाकेको अनुभव भइरहेथ्यो । त्यहाँ हामीले टन्न दाल–भात खायौं । एकैछिनको विश्रामपछि पुनः आफ्नो गन्तब्यतिर लम्कियौं । घनाजंगलभित्र घुमाउरो र उकालो अनि सानो गोरेटो बाटो थियो । लगभग ४ घण्टाको पैदल यात्रापछि लो क्याम्पमा पुगेको दोस्रो दिनको बास बसियो । होटलको आँगनबाट देखिने हिमालको दृश्य गज्जब र मनमोहक थियो । आँखाले भ्याएसम्म देखिने घनाजंगल र त्यहाँ फुलेका रातो, सेतो र गुलावी रंगको गुराँसले प्रकृति बेहुली झै सिंगारिएको लाग्थ्यो । बेलाबेला हुस्सु (कुहिरो)ले प्रकृति पुरै ढाकिन्थ्यो । बेलाबेलै साथीहरुबाट वरपर भइएमा हराइन्छ कि भन्ने डर पनि लागि रहन्थ्यो । दोस्रो दिनको बासस्थान हामीले लो क्याम्पलाई नै बनायौं ।
तेस्रो दिनको पदयात्रा लो क्याम्पदेखि मिडल क्याम्प, बादलडाँडा हुँदै हाइक्याम्प सम्मको थियो । विहान ६ बजे उठेर साथीहरुले चियाको आनन्द लिनुभयो । म चाहिं तातोपानीको स्वादमा रमाएँ । त्यसपछि प्रारम्भ भएको यात्रा लगभग ४५ मिनेटपछि मिडल क्याम्पमा पुग्यौं । त्यहाँ खाजा खाएर २ घण्टाको यात्रापछि पुगिदोरहेछ बादल डाँडा । बादल डाँडामा छिनछिनमै प्रकृति परिवर्तन भइरहँदो रहेछ । डाँडो भागमा क्षणभरमै कुहिरो लाग्ने र हट्ने भएकैले यसलाई बादल डाँडा भनिदोरहेछ ।
हामी जति उचाईमा पुग्दै थियौं घनाजंगल सकिएर क्रमशः पोथरा बोटविरुवा, घाँसे मैदान याकहरुको चरण क्षेत्र भेटिन थाल्यो । माछापुछ«े हिमाल नजिकै र प्रष्ट देखिन थाल्यो । अन्नपूर्ण हिमालको हिउँको दृश्यले मन लोभ्याइरहेको थियो । त्यहाँबाट लगभग २ घण्टा हिडेपछि हामी हाइक्याम्प पुग्यौं । बाटो वरपर चौरी गाईहरु चरिरहेका भेटिए । त्यहाँबाट देखिने प्राकृतिक छटाको सुन्दरता शायद शब्दमा बर्णन गर्नै सकिदैन । त्यहाँबाट कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली लगायत थुप्रै हिमाल अवलोकन गर्न सकिदोरहेछ । अग्ला चट्टान, चिप्लो र भिरालो बाटो काट्दै मार्दी– माछापुच्छ«ेलाई हिउँ नै हिउँले ढाकेको प्रष्ट देखियो । तेस्रो दिनको यात्रा त्यही टुङ्गियो । हाइ अल्टिच्युड भएका कारण लेक लागेर राति निदाउन कठिन भयो । तीनदिनदेखिको यात्रा र अनिद्राले जिऊ थकित थियो तै पनि निद्रा लागिरहेको थिएन । रातको लगभग ११ बजिसकेछ । बाहिरको प्रकृति हेर्ने रहर जाग्यो म बाहिर निस्किएँ । निलो आकाशमा ताराहरु चम्किरहेको दृश्य कम्ति रमाइलो थिएन । आकाश–गंगाको प्रष्ट चित्र हेर्न, देख्न र रमाउन मेरा लागि त्यो अत्यन्तै सूवर्ण अवसर झै लाग्यो ।
चौथो दिन हाम्रो पदयात्राको अन्तिम दिन थियो । हामी चारजना विहान ४ बजे नै उठेर तातोपानी पियौं । न्यानो ज्याकेट, वाटरप्रुफ ट्रयाकसुट, मोटो पञ्जा, कानेटोपी, मफलर, २ वटा हेडलाईट (टाउकोमा लगाउने) लगाएर हामी उकालो लाग्यौं । अन्य ब्याग र सामानहरु त्यही होटलमा थिए । अत्यन्तै चिसो मौसम, हिउँ नै हिउँमाथि हिड्नुपर्ने, बाटो पहिल्याउन निकै कठिन थियो । मित्र राजाराम फुयाल अगाडि लाग्नुभयो । अन्दाजको भरमा बाटो बनाउँदै अघि बढ्नुभएका उहाँका पछि–पछि थियौ हामी ।
धेरै हावा चल्ने र हिड्न गारो हुने भएकाले पनि त्यहाँको यात्रा झिसमिसमै सहज मानिदोरहेछ । मार्दी हिमाल माछापुच्छ«े गाउँपालिकाको वडा नम्बर–९ मा पर्दोरहेछ । जताततै हिउँ नै हिउँ, सेतो सफा हिमाल, हिउँलाई चुम्दै, हिउँसँगै खेल्दै हामी उकालो चढिरहेका थियौं । हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खलाहरुले मन लोभ्याइरहेको थियो । आँखाभरी हिउँले छपक्कै छोपेका सेता पहाड मात्रै देखिन्थे ।
यात्रा बढो कष्टपूर्ण थियो । तर पनि मार्दी हिमाल चढ्ने रहरले लाग्थ्यो– हामीलाई उकालै उकालो तानिरहेछ । मार्दी हिमालमा पुगेर मेरो देश नेपालको झण्डा फहराउने दृढ संकल्पले यात्राको कष्टलाई भुलाइरहेको थियो । ४५०० मिटर उचाईमा रहेको भ्यूपोइन्टमा हामी लगभग ७ बजे पुग्यौं । गर्वले छाती फुल्यो । धन्य नेपाल आमा, म आज मेरो देशको एउटा हिमालमा पुग्न सफल भएँ, धन्य धन्य भएँ–मनमनमा यस्तै कल्पना आइरह्यो । छिटोछिटो फोटो खिच्यौं, अत्यन्तै चिसोका कारण धेरैबेर बस्न नसकिने रहेछ । एउटा सानो छाप्रोमा एकजना पुरुषले तातो पानी र रातो चिया पकाउँदै थिए । एउटा प्लाष्टिक कपको चिया वा पानी जे खाए पनि रु २०० पर्दोरहेछ । त्यही खाएर हामी लक्षित गन्तब्यमा पुग्न सबै सफल भएकोमा पुलकित हुँदै ओरालो झ¥यौं । हिउँ नै हिउँ हाँसिरहेको मेरो देशको स्वर्गको एक टुक्रालाई आँखामा र मोवाइलमा कैद गरेर हाइक्याम्प झ¥यौं । बादले डाँडामा खाना खाएर हामी अर्को रुटबाट लो क्याम्पस क्याम्प हुँदै सिदिङमा जिप रिजर्भ गरेर ३ घण्टाको यात्रापछि रातको ९ बजे पोखरामा आएर बास बस्यौं । काठमाडौंबाट मार्दी हिमाल हुँदै पुनः काठमाडौंसम्मको यात्राका क्रममा लगभग १२ देखि १५ हजार खर्च हुँदोरहेछ । खासै खर्चिलो पनि नहुने तर प्रकृतिको भरपुर आनन्द लिन पाइने उक्त स्थानको भ्रमण गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढाउने हो भने देशको आर्थिक स्तर माथि उठ्न समय लाग्ने थिएन कि ?

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
पदयात्राको आकर्षक गन्तब्य मार्दी हिमाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img