आज ऋषि पञ्चमी,हिन्दु धर्मावलम्बी ब्राह्मण,क्षत्री र पहाडे मूलका दलित महिलाहरुले प्रमुख प्राथमिकताका साथ मनाउने गर्छन।बिशेषतःयो दिन महिनावारी हुँदाछुवाछुत भएको पाप कटाउनकालागी नदिमा गएर प्रतेक अंग प्रत्यङ धोइ पखाली बिधी बिधान पुरागरेर पूजा गरिन्छ।म पनि यो ब्रत धेरै पटक बसेकिछु। त्यो बेला दतिउन खोज्ने,केलाउने गन्ने चटारो हुन्थ्यो।अमला,वर पिपल,तुलसाको फेदको माटो हलोको टुंडोको माओ पिना गाई भैंसिको गोबर चाहिन्थ्यो ।
त्यतिमात्र होइन हात्तिको पाइलाको माटो पनि चाहिन्थ्यो । जो सहजै उपलव्ध हुन्नथ्यो । त्यो चाहिँ कसै कसैले घरमा पोको पारेर राखेका हुन्थे र माग्न जाँदा वचन लगाउँदै भएपनी दिन्थे । पिपलको फेदमा धेरै जना मिलेर पूजा ३ सहस्र धारामा स्नान गर्नुपर्ने बाध्यतालाइ टाउकोमा चाल्नी राखेर लोहोटाले पानी खन्याइन्थ्यो । यी सब सामाग्रीहरु कहाँ कहाँ र कुन अंगमा प्रयोग गरेर धुनुपर्छ भन्ने कुरा छेउमा बसेर आमाले सिकाउनु हुन्थ्यो । पहिलो पटक आमा संग बस्नु पर्छ भन्ने मान्यता त्यसैकारण रहेको होला । १४ बर्षको उमेरमा पहिलो पटक महिनावारी भएको ६ महिना पछि यो ब्रत बसेकी थिएँ । २५ बर्ष सम्म लगातार यो ब्रत बसेँ । मैले छोइछाइ गरेर लाग्ने पाप पखालियो पखालिएन थाहा छैन । कस्तो पाप लाग्थ्यो र पखालिंदा कस्तो हुन्छ भन्नेपनि थाहा छैन ।
एकदिन हिम्मत जुटाएर आमालाइ सोधेँ ,आमा यो अवस्थामा छोइछाइ गरेमा कस्तो पाप लाग्छ ? आमाले एउटा कथा सुनाउँदै भन्नुभयो ,मृत्यु पश्चात् कुकुर बिरालो जस्ता पशुको रुपमा जन्म लिनु पर्ने हुन्छ र धेरै दुख पाइन्छ रे ।मेरो जिज्ञासु मनले सोध्यो ,नमरी चाहिँ पाप लाग्दैन आमा?यो प्रश्नको उत्तर आमासँग थिएन उहाँले पण्डितलाई सोधिदिनु भयो । उहाँले पनि उत्तर दिनु भएन तर अनौठो हाँसो हाँस्नु भयो । मानौ उहाँले लुकाएको कुरा मैले थाहा पाएँ । अहिले बुझ्दा पाप र धर्म भन्ने शब्द सायद सबै किसिमका मानिसलाइ सजिलै बुझाएर अनुशासनमा राख्न प्रचलनमा ल्याइएको होला । ‘पाप लाग्छ’ भन्ने कुराले अपराध घटाउँछ र ’धर्म हुन्छ’ भन्ने कुराले परोपकारमा वृद्धि गर्छ ।
केहि बर्ष यता म यो ब्रत बस्दिन यसका कारण पाप लाग्ने र पखालिने कुरामा मलाइ बिश्वास रहेन ।तर म यसको बिरोधी चाहिँ होइन । कसैले महिनावारीका बेला म त मन्दिर पनि पस्छु भने, कसैले महिनावारी हुँदाको रगत मन्दिरभरी दलिदिन्छु भने र कोहि यो अन्धबिश्वास भन्छन् । आधुनिकताको खोल ओढेकाहरुले ऋषि पञ्चमीको व्रत बस्नेहरुलाइ मूर्ख ठान्छन् । जे भए पनि धर्म संस्कार कुनै कारण बिना बनेका हुंदैनन् । कालान्तरमा आएर ती कारणहरु औचित्यहिन भए होला अर्थात यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी पाएकाहरुले पुष्टि गर्न सकेनन् होला ।
महिनावारी बार्ने चलन कहिले देखि चल्यो होला ? मेरो बुझाइमा । मानिस सभ्यतामा आउनु पूर्व नै यसको चलन चलेको हुनुपर्छ । श्रृष्टिको सुरुवातमा मानिसहरु जंगलमा बस्थे । महिनावारीको बेला बग्ने रगतको गन्धले हिंस्रक पशुहरुले पछ्याउन थाले महिलाहरुको ज्यान जोखिममा पर्न थाल्यो होला त्यसैबेला देखि महिनावारीका बेला लुक्नथाले कालान्तरमा यहि संस्कार बन्यो होला । मनुस्मृती र निर्णय सिन्धूका कुरा लागुहुन थालेपछी मात्र पाप र धर्मको आधार छुट्याउँदा यो बिषय प्राथमिकताका साथ समेटियो । त्यसैको आधारमा महिलालाइ कमजोर ठानियो र विभेद उत्पन्न भयो होला । हाम्रो धर्मसंस्कारमा अहिलेको पुस्तालाई गलत लाग्ने धेरै कुरा छन् । महिनावारीका बेला निस्कने रगत वास्तबमा शरीरबाट निस्कने फोहोर हो । दिशा, पिसाब, सिंगान ,खकार जस्तै यो पनि हो । दिशा पिसाब चर्पिमा बिसर्जन गरिन्छ, सिंगान खकार कपडाले पुछेर सफा गरिन्छ त्यस्तै यस्को ब्यवस्थापन पनि सहि ढंगले गर्नुपर्छ । अहिले पो सेनिटरी प्याड बन्यो त उहिले उहिले हाम्रा हजुरामा आमाहरुका पालामा झत्तो पाउन पनि मुस्किल पथ्र्याे । रगत चुहिएर खानामा पर्न सक्थ्यो । अहिले जस्तो नल भएको धारा, ट्युबवेल इत्यादी थिएनन् । खुल्ला कुवाबाट पानी झिक्नु पथ्र्याे त्यो बेला पानीमा रगत चुहिन्छ भनेर पानी छुन नहुने भन्ने संस्कार बस्यो।तर घर बाहिरको काम गर्नुपर्ने कडा परिश्रम गर्नु पर्ने पोषिलो खाना खान नहुने छाउपडी प्रथा जस्ता चलन गलत हुन् ।
अहिले महिनावारीको समयमा संभोग गर्न मिल्छ भन्ने कुरा पनि आएको छ । तर त्यो पनि गलत नै हो । महिनावारी भएपछी अब महिला गर्भवती हुन सक्छिन् भन्ने हो । प्रजनन अंगहरुको तिब्र बिकास हुन थाल्छ । यो अवस्थामा किशोरीहरु चञ्चल हुन्छन् । अनौठो व्यवहार गर्छन् । सहि गलत छुट्याउन सक्दैनन् । त्यसैले सहि मार्ग निर्देशन गर्न यस्तो नियमहरु बनेका होलान् । तिब्र बिरोधले मात्र यस्ता कु–प्रथाहरु हट्दैनन् । सचेतनाले मात्र मानव बिकास हुन्छ र यस्ता प्रथाहरु परिष्कृत हुँदै जान्छन् । मेरो पनि मानस पटलमा त्यो बेला लगाइएका नियमहरु अक्षरस पालन गर्नुपर्छ भन्ने थियो । नियम बन्नुको कारण र बर्तमान अवस्थाको राम्रो सुझबुझ भए धर्मसंस्कार कडाइका साथ मान्नेहरुलाइ र मान्दैनौं भन्ने दुबै पक्षहरूलाई चित्त बुझाउन सकिन्छ । आज पनि म महिनावारीका ४ दिनसम्म बार्छु । धेरै कडाइका साथ नमानेपनी खाना बनाउँदिन, पुजा पाठ गर्दिन, मन्दिर पस्दिन । मैले यो सब पाप र धर्मलाइ आधार मानेर गरेकी होइन । हुन त धेरैले धर्म संस्कार गलत भयो,अन्धबिश्वासले दुख पायौँ भन्दै धर्म परिवर्तन गरेका छन् । तर धर्मलाइ परिवर्तन होइन परिस्कृत गरौं । यो हाम्रो पहिचानको आधार हो । राम्रा पक्षहरुलाइ संसारभर फैलाऔँ । बिशेषगरी धर्म गुरुहरुले आफ्ना संस्कार र परँपरालाइ बैज्ञानिक ढंगले पुष्टि हुनेगरी व्याख्या गरौं ।
परम्परागत धर्म संस्कारमा जन्मिएकी हुर्किएकी मेरी आमाले मलाइ त्यसकै निरन्तरता दिन यी सब कुरा सिकाउनु भएको थियो । त्यति मात्र होइन मेरो जीवन मेरि आमाले देखाएको बाटोमै हिंडी रहेकोछ । त्यही मार्गमा हिंड्दा आफूलाई खुशी र सुखी भएको महसुस गर्छु । आमाले गर्नु हुँदैन भनेका कार्य गरेंभने आत्मग्लानी हुन्छ । म आमालाइ मनको भित्री कुना र शिरको सर्वोच्च स्थानमा राखेर सम्मान गर्छु र पूजा गर्छु ।
महिनावारी हुँदाका चारदिन मैले मेरी आमाका नाममा समर्पण गर्ने गरेकी छु।
३लगाइन्थ्यो र पूजा स्थल वरि पर पाइला गन्दै घुम्दा भने खूव रमाइलो लाग्थ्यो।
ऋषि पञ्चमी विगत र वर्तमान

































































































