Homeमहिलामंगलादेवी सिंह र महिला अधिकारका सवाल

मंगलादेवी सिंह र महिला अधिकारका सवाल

सती प्रथा, बालविबाह, शैक्षिक अवसर, सम्पत्तिको अधिकारबाट बञ्चित नेपाली महिलाको इतिहास हो । सातबर्षकै उमेरमा विवाह भएको, रजश्वला नभएसम्म माइत बसेको र रजश्वला भएलगत्तै घरमा आएर बहुपरिवार प्रणालीमा हुर्किएर सासु, नन्द, आमाजु, देउरानी, जेठानी बीचको मेल–बेमेलका बीच जीवन गुजारा गरेको आमा–हजुरआमाहरुको कुरा अहिलेका पुस्तालाई कथाजस्तै लाग्न सक्छ । अहिले पनि छाउपढी, झुमा, देउकी, बहुपतिप्रथा लगायतका थुप्रै कुप्रथाका विरुद्ध नेपालकै पश्चिमी क्षेत्रमा महिलाहरु संघर्षरत छन् । अधिकार प्राप्तिको लडाई अहिले पनि धेर–थोर जारी नै छ । यी सामाजिक चालचलनसँग जोडिएका प्रथाहरुलाई धर्मसँग जोडेर कहिलेकाँही पूर्वीय वैदिक ग्रन्थादिको आलोचना पनि हुने गरेकै छ । तर अधिकांशजसो धार्मिक ग्रन्थमा महिलालाई देवीको रुपमा प्रस्तुत गरिएको एवं उनीहरुलाई खुशी राख्दा समग्र लोकको कल्याण हुने सकारात्मक प्रसङ्गको यदाकदामात्रै सुनिन्छ ।
साहित्यिक, सामाजिक, राजनीतिक एवं विभिन्न तवरबाट भएगरेका आन्दोलनका कारण आजका महिलाहरुले शैक्षिक अवसर प्राप्त गरेपनि थुप्रै असमानताहरु अहिले पनि विद्यमान छन् ।
महिलाहरुले घरबाहिर हिड्नुहुँदैन, पढ्नुहुँदैन, हास्नु–बोल्नु हुँदैन भन्ने जडसूत्रवादी सामाजिक कुसंस्कार भोगेका महिलाहरुले कसरी बाहिर निस्कन हिम्मत गरेहोलान् ? र अहिलेका महिलालाई तुलनात्मक रुपमा अधिकार सम्पन्न र स्वतन्त्र बनाउन सफल भएहोलान् ? यो हामी कल्पना मात्रै गर्न सक्छौं । नेपालमा महिला मुक्ति आन्दोलनका लागि भएका त्याग, संघर्ष र संगठित आवाजको इतिहास हेर्न नालापानी युद्धदेखि प्रतिबन्दित राजनीतिक परिवेशको इतिहास पल्टाउनुपर्छ । हुनतः जनताको मुक्ति र अधिकार प्राप्तीका लागि जहानिया राणाशासन, निर्दलीय पञ्चायती ब्यवस्था, बहुदल प्राप्ति र त्यसपछि भएका सशस्त्र द्वन्द्व एवं विभिन्न क्षेत्रीयतावादी आन्दोलनहरुसमेतको इतिहास पल्टायो भने पुरुषका बलिदानी र संघर्षका थुप्रै कथाहरु भेटिएपनि उनीहरु सँगसँगै हिंडेका, भित्री रुपमा ब्यवस्थापन गरेका, पुरुषलाई सफल बनाउन महिलाले गरेका त्याग र बलीदानका कथाहरु गर्भमै रहन्छन् । प्राय लेखिदैनन्, लेखिइहाले पनि एकाध महिलाका लेखिएलान्, सबैका लेखिएका छैनन् । राष्ट्रियताका निम्ति भएका नालापानी र कांगडाको युद्धमा इन्द्रेणी थापा र शावित्रीदेवीको नाम भेटिएपनि उनीहरुसँगै कति महिलाहरु संलग्न थिए, इतिहास मौन नै देखिन्छ । यसैगरी सती प्रथाका विरुद्ध योगमायाले गरेको संघर्ष, कविताका माध्यमबाट नारी स्वतन्त्रताका लागि उठाएको आवाज, गायन क्षेत्रबाट मेलवादेवी, शिक्षण पेशामार्फत दुर्गादेवी र तुलजा शर्मा, एवं राजनीतिक माध्यमबाट दिब्या कोइराला, मंगलादेवी सिंह र उहाँका समकक्षीहरुले गरेको संघर्षको यथार्थ अब लेखिन मुस्किल छ । जति लेखियो त्यो अपुरो, अधुरो नै लाग्छन् ।
आज भाद्र १० । अर्थात् राजनीतिका माध्यमबाट संगठित रुपमा महिला मुक्ति आन्दोलनको उद्घोष गर्ने मंगलादेवी सिंहको २७ औं स्मृति दिवस । सामान्यतया आजका दिन र जन्मजयन्ती मंसिर २५ गते उहाँलाई सम्झिए पनि अरुबेला खासै उहाँको जीवनी, ब्यक्तित्व र राजनीतिक संघर्षको चर्चा खासै हुँदैन ।
नेपालमा भएका स्वतन्त्रताको आन्दोलन, जहानिया राणा शासन विरुद्ध भएको संघर्ष, प्रजातन्त्र प्राप्ति, प्रजातन्त्रमाथि तत्कालीन राजा महेन्द्रबाट भएको ‘कू’ निर्दलीय पञ्चायती शासन ब्यवस्थाका विरुद्ध भएको संघर्ष, बहुदल प्राप्ति एवं सत्ताभन्दा बाहिर रहेर निरन्तर संघर्ष गरिरहने एउटा गर्विलो इतिहास् हुन–स्व. गणेशमान सिंह । उनकै धर्मपत्नी मंगलादेवी सिंहको संघर्षको कथा कम महत्वको छैन । वि.सं. १९९७ साल असारमा गणेशमान सिंहसँग विवाह हुनु, विवाहलगत्तै  कात्तिक महिनामा गणेशमान सिंह प्रजापरिषद्को आन्दोलनको क्रममा पक्राउ पर्नु, तत्कालीन राणा शासकले उनलाई जन्मकैदको सजाय सुनाउनु, राजकाज मुद्दा लगाएर फाँसीसम्म हुनसक्ने जोखिमपछि मंगलादेवी राजनीतिमा सक्रिय भइन् र राणा शासनविरुद्ध भूमिगत रुपमै आन्दोलनको उद्घोष गरिन् ।
राजनीतिक सफलता प्राप्तिका लागि महिला र पुरुषको समान सहभागिता हुनुपर्छ, महिलालाई आरक्षणमार्फत पार्टी र राज्यका हरेक संरचनामा सहभागिता गराइनुपर्छ, आमाका नामबाट नागरिकता दिइनुपर्छ, महिलालाई भोटिङ अधिकार दिइनुपर्छ एवं राणा शासनकालमै पनि महिलालाई शिक्षा दिनका लागि बेग्लै कन्या स्कुल खोलिनुपर्छ भन्ने उनका माग आज पर्यन्त आंशिक रुपमा मात्रै कार्यान्वयनमा छन् ।
राज्यको कानूनका विषयमा, महिला हक हित र अधिकारका विषयमा महिलाहरुले पनि जानकारी राख्नुपर्छ र सचेत हुनुपर्छ भन्ने कुरामात्रै होइन शिक्षित नभएसम्म महिलाहरु सदाका लागि पछि पर्छन् तसर्थ समान शिक्षा पहिलो शर्त हो भन्ने सोचले तत्कालीन राणा शासक पद्म शमसेरसँग गरेको संवाद र पछि पद्म समशेरले आफ्नै नाममा कन्या स्कुल खोलेको प्रसङ्ग उनकै आत्मसंस्मरणात्मक कृति ‘नारी संघर्षका पाइलाहरु’ ले पुष्टी गर्छ ।
‘मङ्गलादेवी आफ्ना केही साथीहरूसँग पद्मशमशेरको दरबार पुगिन् । केही छिनको प्रतिक्षा पछि पद्मशमशेरलाई भेट्न बोलाहट आयो । पद्मशमशेरले सोधे– ‘के भन्न आयौ तिमीहरु ?’ उनले भनिन्, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरुलाई पनि भोट दिने अधिकार दिइनुपर्छ भन्न आएका सरकार !’
‘महिलाहरुले भोट दिने अधिकार कहाँ छ ?’ पद्मशमशेरले प्रश्न गरे ।
उनले भनिन्, ‘सबैतिर नहोला । जहाँजहाँ अधिकार दिइएको छ, ती समाजहरुमा महिलाहरुको स्थिति राम्रो छ । जनता खुशी छन् ।’
‘अरु केही छ ?’ पद्मशमशेरले सोधे ।
‘महिलाहरुलाई पनि स्कूलमा पढ्न जाने व्यवस्था हुनु पर्दछ सरकार !’ उनले भनिन् ।
‘स्कूल खोले पनि कस्ले पढ्छ ?’ पद्मशमशेरले सोधे
‘स्कूलमात्र खोलियोस् पढ्ने महिलाहरुको खाँचो हुँदैन । आफ्नो नामबाट खोलियोस् सरकार । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ मङ्गलादेवीले भनिन् ।
‘ल अहिले जाओ । भोट दिने अधिकार पाउँछौ । स्कूलको कुरो पनि राम्रो छ । म विचार गर्छु ।’ यति भनेर पद्मशमशेरले मङ्गलादेवी र उनका साथीहरूलाई पठाए ।
पद्मशमशेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा पद्मकन्या स्कूलको स्थापना गराए । नगरपालिकाको चुनाव त भएन । तर, २०१५ सालको चुनावमा महिलाले पनि भोट हाल्ने अवसर पाए ।
(मंगलादेवी सिंह आत्मसंस्मरण ‘नारी संघर्षका पाइला बाट साभार )
पुरुष राजनीतिज्ञहरुले त राणा सरकारलाई भेट्न नपाउने, पाएपनि आफ्ना मागहरु स्पष्ट राख्न नसक्ने, स्वतन्त्रताका लागि लडिरहेका नेता–नेतृहरुलाई राणा शासकले जुनसुकै बेला पक्रन सक्ने र राजकाज मुद्दा लगाउन सक्ने जोखिमपूर्ण तत्कालीन अवस्थामा महिलाहरुको नेतृत्व गरेर राणा सरकारलाई भेट्नु, शैक्षिक संस्था स्थापनाको माग गर्नु, एवं सुधारिएको राणा शासन (राणा शासन विरुद्ध आन्दोलन तिब्र बन्दै गएपछि तत्कालीन शासक पद्म समशेरले २००५ सालमा राणा शासन सुधारको घोषणा गरेका थिए) विरुद्ध जुलुससहित दरबारमा पुग्नुले मंगलादेवीको निडरता एवं हक्की स्वभावलाई चित्रण गर्दछ ।
वि.सं. १९८४–०८५ देखि नै दिव्यादेवी कोइरालाको सक्रियतामा योगमाया देवी, चन्द्रकान्ता, लक्ष्मीदेवी, तुलजा शर्मा, मेलवादेवी, द्वारिकादेवी चन्द ठकुरानी लगायतका महिलाहरुले महिला मुक्ति र राणा शासनका विरुद्ध गरेका संघर्षका कथा कम छैनन् । मंगलादेवीले वि.सं २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको भातृ संस्थाको रुपमा नेपाल महिला संघ  स्थापना गरेर ब्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट स्वतन्त्रताका लागि लडिरहेका महिलाहरुलाई संगठित गर्ने काम गरिन् । निर्भिक एवं कर्तब्यसहितको अधिकार हुनुपर्छ भन्ने धारणा राख्ने उनी २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्रबाट पराजित भएपनि संघर्षका पाइलाहरु रोकिनन् । २०१७ सालमा राजा महेन्द्रको ‘कू’ का विरुद्ध संघर्ष गर्ने क्रममा पक्राऊ परेका गणेशमान सिंह, मंगलादेवी सिंह, नोना कोइराला, सैलजा आचार्य लगायत थुप्रै कांग्रेस नेता कार्यकर्ताहरु लगभग  ५–७ बर्षको जेल सजायपछि २०२५ सालमा निर्वासनको सजाय भोग्न बाध्य भए । त्यही पंक्तिमा रहेकी मंगलादेवी पनि वी.पी. गणेशमानहरुसँगै २०३३ सालमा नेपाल फर्किइन् र संघर्षलाई निरन्तरता दिइरहिन् ।
२००४ सालदेखि आजन्म महिला संघको सभापति रहेकी मंगलादेवीको भौतिक शरीर २०५३ साल भदौ १० गते यस लोकबाट विलय भएपनि बाचुन्जेल ‘सर्वजनहिताय सर्वजनसुखाय’का लागि गरेका संघर्ष र त्यागले आजपर्यन्त उनी स्मरणयोग्य छन् । कर्मको प्रसंशा चुलिएकै छ । तर महिला सहभागिताका लागि उनले उठाएका सवालहरु आमाको नामबाट नागरिकता, आरक्षण, समान शिक्षा, कर्तब्यसहितको समान अधिकार लगायतका माग पूरा गर्न अहिले पनि संघर्ष गर्नुपर्ने अवस्था छ । संवैधानिक एवं कानुनी रुपमा यी अधिकारहरु सुरक्षित भएपनि ब्यवहारमा कार्यान्वयन भएका छैनन् । तुलनात्मक रुपमा महिला सहभागिता बढेपनि सम्मानजनक सहभागिता छैन भने निर्णायक तहमा महिला सहभागिता नगण्य नै छ । यस स्थितिमा स्व. मंगलादेवी सिंहलाई सम्झदैगर्दा उहाँको संघर्ष, जीवन भोगाई एवं राजनीतिक क्रान्तिबाट निर्भिकता, निष्ठा, राजनीतिक संस्कारको परिपालना प्रत्येक राजनीतिज्ञका लागि अपरिहार्य छ  भने उहाँका अधुरा सपनाहरुलाई पूर्ण गर्नुपर्ने दायित्व कांग्रेसजनमा छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलामंगलादेवी सिंह र महिला अधिकारका सवाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img