सैनिक । बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी (साकोस) ले क्यान्सर रोगबाट पीडित शेयर सदस्यलाई उपचार सहयोग प्रदान गरेको छ ।
संस्थाले बिर्तामोड–१० शैनिक बजारकी संस्थापक शेयर सदस्य कल्पना थापालाई उहाँको घरमै गएर उपचार खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । संस्थाले स्थापना गरेको उपचार कोषबाट क्यान्सर पीडित थापालाई सो रकम प्रदान गरिएको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताए ।
हाम्रो नेपालले प्राणघातक रोग लागेको डाक्टरले प्रमाणित गरेको कागजात भए त्यस्ता विरामीको घरमै पुगेर सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष दंगालले जानकारी दिए ।
प्राणघातक रोग उपचारका लागि उक्त रकम पर्याप्त नभए पनि उपचारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले रकम प्रदान गरिएको दंगालले बताए । सदस्य नै संस्थाको मेरुदण्ड भएकाले सदस्यको सारो , गारो र अप्ठ्यारोमा संस्थाले पनि साथ दिने बताइएको छ ।
संस्थाको उपचार कोषमा सदस्यले बार्षिक एकसय रुपैयाँ योगदान गर्नुपर्ने र मुटु, मिर्गौला, क्यान्सर लगायतका जटिल र प्राणघातक रोग लागेमा रोगको प्रकृति र अवस्था अनुसार एक लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने गरिएको अध्यक्ष दंगाल बताए । २०६९ सालमा स्थापना भएको हाम्रो नेपाल साकोसमा हाल ३५ हजार आठसय ८४ जना शेयर सदस्य रहेका छन् भने झापा, मोरङ र इलाममा गरी ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ ।
हाम्रो नेपाल साकोसद्वारा क्यान्सर पीडित सदस्यलाई ५० हजार सहयोग

































































































