दमक । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस झापामा मनाइएको छ । युनियन झापा जिल्ला समितिको आयोजना र माइपश्चिम क्षेत्रीय समितिको समन्वयमा गौरादहमा आयोजित स्थापना दिवस विशेष कार्यक्रमका वक्ताहरुले नागरिकका हरेक खाले स्वतन्त्रताको पक्षमा प्रेस जगतको भूमिका महत्वपूर्ण हुने चर्चा गरे ।
वक्ताहरुले प्रेस स्वतन्त्रता नभएसम्म नागरिकहरुका संबैधानिक हक अधिकारको संरक्षण र उपयोग हुन नसक्ने भएकाले लोकतन्त्रको रक्षा र नागरिक स्वतन्त्रताका लागि प्रजातान्त्रिक पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना गौतमको प्रमुख आतिथ्य र युनियनका झापा जिल्ला समिति अध्यक्ष गिरिराज भट्टराईको सभापतित्वमा गौरादह–१ को वडा कार्यालयमा भएको सो कार्यक्रममा प्रमुख अतिथि गौतमले पत्रकारहरु रचनात्मक प्रतिपक्षको भूमिकामा उभिनुपर्ने औंल्याइन ।
कांग्रेस महाधिवेशन प्रतिनिधिद्धय रोहितकुमार साह र अनिलकृष्ण प्रसाइँ, गौरादह नगर उपसभापति मेघराज अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै कांग्रेसको आन्तरिक मामिलादेखि आम नागरिकका हक अधिकारका सवालमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा आवाज बुलन्द गर्नुपर्ने औंल्याए ।
सो अवसरमा पत्रकार र कार्यक्रमका सहभागी पार्टी नेता, कार्यकर्ताहरु समेतलाई लक्षित गरी संगठन सञ्चालन तथा सांगठनिक गतिबिधिमा उपयोगी दुई वटा बिषयमा प्रेस युनियन झापाका सल्लाहकार समेत रहेका पत्रकार राजेन्द्र गौतमले सहजीकरण समेत गरेका थिए । गौतमले प्रेस विज्ञप्ती लेखन र निर्णय लेखनका बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रेस युनिन माइपश्चिम क्षेत्रीय समितिका अध्यक्ष विष्णु पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन जिल्ला सचिव अर्जुन राजवंशीले गरेका थिए ।
प्रेस युनियनको स्थापना दिवसमा झापामा अन्तरक्रिया र तालिम

































































































