अर्जुनधारा नगरपालिकाले व्यवस्थित र दीर्घकालीन विकासको जग बसाल्ने मुख्य आधारका रुपमा तीनवटा योजना अघि सारेको छ । सुन्दा सामान्य लाग्ने ती योजनाले दीर्घकालीन रुपमा नगर कस्तो हुन्छ भन्ने खाका बोकेको देखिन्छ । नगरभित्रका सबै वडालाई समेटेर बनाइएको योजना कार्यान्वयनका लागि एउटाको कार्यविधि तयार भएको छ भने अर्को योजना कार्यान्वयनको मापदण्ड नगरपरिषदले पारित गरिसकेको छ । पारित भइसकेको योजना अब कार्यान्वयन प्रक्रिया शुरु हुने तयारीमा छ ।
नगरका प्रत्येक वडाभित्रका खेतीयोग्य जग्गा, वस्तीयोग्य जमिन, बजार क्षेत्रको पहिचान गरी त्यहाँ आवश्यक भौतिक संरचना निर्माण गर्दै नगरलाई व्यवस्थित र दीर्घकालीन शहरीकरणको रुपमा विकास गर्ने उद्देश्यले बस्ती विकास योजना अघि सारिएको छ । यसै वर्षदेखि कार्यान्वयनमा आउने उक्त योजना कार्यान्वयनका लागि मापदण्ड समेत पारित भइसकेको अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिनुभयो ।
योजना कार्यान्वयनले नगर विकासको दीर्घकालीन खाका कोर्ने जानकारी दिंदै प्रशासकीय अधिकृत भूर्तेलले भन्नुभयो–‘‘यसले कुन ठाउँमा के गर्दा ठिक हुन्छ भन्ने कुराको निर्धारण गर्छ, खेतीयोग्य जमिन, बस्तीयोग्य जमिन, बजार क्षेत्र निर्माणका लागि उचित स्थानका पहिचान गर्छ ।’ नगरभित्रका प्रत्येक वडामा ५/५ वटा त्यस प्रकृतिका वस्ती निर्माण गर्ने योजना नगरपालिकाको रहेको बताइएको छ । त्यस्ता बस्तीभित्र पार्क, खेलमैदान, बगैंचा, स्कूल, डिपार्टमेन्टल स्टोर लगायतका भौतिक संरचना निर्माणको समेत मापदण्डले परिकल्पना गरेको छ । बस्ती र त्यहाँ निर्माण गरिने भौतिक संरचनाका बारेमा अधिकृत भूर्तेलले भन्नुभयो–‘सामान्यतया प्लेग्राउण्ड, गार्डेन, स्कूल, डिपार्टमेन्टल स्टोर, पार्क लगायतका भौतिक संरचना सबै बस्तीमा हुन्छन्, अधिकृत भूर्तेलले भन्नुभयो–‘त्यसका अतिरिक्त वस्तीको आवश्यकता महशुस भएमा मावितहका स्कूल, स्वास्थ्य सेवाका लागि भवन निर्माण गर्ने मापदण्डमा समेटिएको छ ।’
त्यस्तै टोलको विकास निर्माणका साथै नगरपालिकाबाट सञ्चालन गरिने योजना कार्यान्वयनका लागि नगरपालिकाले टोल विकास समितिको योजना अघि सारेको छ । कार्यविधि निर्माण भई परिषदको बैठकमा पेश गर्ने तयारीमा रहेको र परिषद बैठकले पारित गरेपछि यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने अधिकृत भूर्तेलले बताउनुभयो ।
तयार टोल विकास समिति सञ्चालन कार्यविधि नगरपालिकाको आगामी बैठकमा प्रस्तुत गरिने र सो पारित भएपछि कार्यान्वनयनमा आउने उहाँको भनाई छ । ‘कार्यविधि पारित भएपछि नगरपालिकाका टोल–टोलमा गरिने साना–तिना विकास निर्माणका काम टोल विकास समिति मार्फत नै हुन्छन्’– अधिकृत भूर्तेलले भन्नुभयो–‘यसमा उपभोक्ताहरु बढी जिम्मेवार हुने हुँदा टोलटोलका आवश्यकताको पहिचान र सञ्चालन गर्ने विकास निर्माण लगायत अन्य कार्यक्रमको प्राथमिकता पनि टोलबासीले नै छनौट गर्छन् र योजना कार्यान्वयन पनि ।’
यसैगरी नगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई परिचय पत्र दिने योजना अघि सारेको नगरपालिकाले त्यसको कार्यविधि पनि तयार गरेको छ । नगरभित्रका विपन्न समुदायको पहिचान गरी उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले कार्ड वितरण गर्न लागिएको बताइएको छ । उक्त योजना अन्तर्गत विपन्नलाई पनि विभिन्न ४ वर्गमा विभाजन गरिएको छ । विपन्नमध्ये पनि बर्गिकरण गर्नुपर्ने अवस्था रहेको बताउँदै अधिकृत भूर्तेलले भन्नुभयो–‘४ वर्गमा बर्गिकृत गर्ने र वर्ग अनुसार आवश्यकताको पहिचान गरी त्यही अनुसारका कार्यक्रम सञ्चालन गर्नका लागि यो योजना ल्याएका हौं ।’ नगरपालिकाको उक्त कार्ययोजना कार्यान्वयनमा आएपछि निम्न मध्यमवर्गीय विपन्न परिवार, निम्न वर्गीय विपन्न परिवार, विपन्न परिवार र अति विपन्न परिवारका रुपमा वर्गिकरण गरिनेछ । उद्देश्य अनुसार विपन्नको पहिचान र कार्ड वितरण गरेपछि गरीव लक्षित कार्यक्रम त्यही विपन्न वर्गमा सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।
भौतिक विकासलाई मात्र विकास भएको मान्ने परम्परागत मानसिकताले समाजको स्तर माथि उठ्न नसक्ने ठहर गर्दै न.पा.ले सर्वसाधारण जनताको जीवनस्तर र चेतनामा पनि बृद्धि ल्याउने प्रकृतिका कार्यक्रम अघि सारेको हो । नगर अधिकृत भूर्तेलले भन्नुभयो–‘विकास भनेको सडक, पुल, कल्भर्ट मात्र होइन, नागरिकको जीवनस्तर माथी उकास्नु पनि विकास हो ।’
राज्यको पुनः संरचनापछि जनताको नजिकको सरकारका रुपमा रहेका स्थानीय तहहरु स्वायत्त भएसंगै आ–आफ्ना स्थानीय तहमा दीगो विकास र समृद्ध बनाउने रणनीति निर्माणमा लागेका छन् । सडक, कल्भर्ट, पुल–पुलेसा निर्माण कार्यलाई मात्र विकासका रुपमा हेरिने परम्परागत मानसिकतामा परिवर्तन गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउनु मुख्य चुनौतिका रुपमा लिंदै सोही अनुसारका योजनाहरु निर्माण गर्न थालेका छन् ।
नगर विकासका दीर्घकालीन योजना



















