झापा । बाह्रदशी जेसीजले १७ जना सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबै खाले सामग्री हस्तान्तरण गरिएको हो ।
बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यार्थीलाई आवश्यक पर्ने स्टेसनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको थियो ।
विद्यार्थीको अभिभावकत्व ग्रहणसंगै उनीहरुलाई उच्च शिक्षा अध्ययन गर्दासम्म लाग्ने सबै खर्च जेसीजका पदाधिकारीले ब्यहोर्ने सम्झौता भएको छ ।
गाउँपालिका भित्र रहेका अति विपन्न परिवारका विद्यार्थी छनौट गरेर उनीहरुको अभिभावकत्व ग्रहण गरिएको बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
बाह्रदशी १ मा रहेको अमृत माध्यमिक विद्यालयबाट दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ भने अन्य सामुदायिक विद्यालयका एक/एक जना विद्यर्थीको अभिभावकत्व ग्रहण गरिएको हो ।
अमृत माविका विद्यार्थी मनिष राजवंशीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज सन २०२२ का अध्यक्ष उप्रेतीले मनिषले उच्च शिक्षा अध्ययन गर्दासम्मको खर्च व्यहोर्ने घोषणा सहित यो वर्षका लागि शैक्षिक सामग्री प्रदान गरे ।
त्यस्तै जनता आधारभूत विद्यालयका विद्यार्थी सुहनी खातुनको अभिभावकत्व निर्वतमान अध्यक्ष पुष्प धमलाले गरेका थिए ।
यसैगरी सुन्दरपूर आधारभूत विद्यालयका विद्यार्थी आंशिका गणेशको कोषाध्यक्ष टंक कार्कीले अभिभावकत्व ग्रहण गर्दै सहयोग प्रदान गरे । यता साधुपर्ती आधारभूत विद्यालयका विद्यार्थी पेम्वा तामाङको महासचिव खगेन्द्र सुवेदीले अभिभावकत्व ग्रहण गरे ।
त्यस्तै अन्य विद्यार्थीका लागि समेत जेसीजमा आवद्ध पदाधिकारीले अभिभावकत्व ग्रहण गर्दै एक वर्ष भरि पुग्ने स्टेसनरी सामग्री सहित विद्यालय पोशाक, व्याग, जुत्ता आदि सामग्री प्रदान गरेका थिए ।
कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने बताउँदै जेसीका अध्यक्ष उप्रेतीले भने–यो सुरुवाती वर्ष हो यसमा हामीले रहेक सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीको मात्रै अभिभावकत्व ग्रहण गरेका छौं यो प्रक्रिया निरन्तर बढेर जान्छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बाह्रदशी जेसीजले गाउँपालिकाले गर्नु पर्ने कामलाई आफूले जिम्मेवारी लिएर गरेको भन्दै कार्यक्रमको प्रशंसा गरे ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शान्ति शिवाकोटी खरेलले बाह्रदशी जेसीजले उदाहरणीय काम गरेको भन्दै यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने बताए । गाउँपालिका अध्यक्ष चम्लगाईले बाह्रदशी जेसीजसंग गाउँपालिका सहकार्य गर्न गाउँपालिका तयार रहेको भन्दै रिजल्ट दिने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उनले भने – जेसीजले गरेको यो कार्यक्रम निक्कै प्रभावकारी हुने विश्वास लिएको छु ।
कार्यक्रम संयोजक प्रकाश सुवेदीको संयोजकत्वमा भएको कार्यक्रममा आस्था वाचन विश्वास गौतमले गरे । संस्थाका नि वर्तमान अध्यक्ष पुष्प धमलाले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन महासचिव खगेन्द्र सुवेदीले गरे ।
विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज

































































































