बिर्तामोड । भाषा शास्त्री महानन्द सापकोटाको स्मृतिमा स्थापित महानन्द पुरस्कारकोे १५ औं श्रृङ्खलाको पुरस्कार साहित्यकार कोमल पोख्रेल र सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ ।
पुरस्कृत प्रतिभा छनौटका लागि महानन्द पुरस्कार समिति र नेपाली साहित्य विकास समितिको संयुक्त बैठकले १५ औं पुरस्कारका लागि झापाका पोखरेल र इलामका कुरुपलाई छनौट गरेको बिर्तामोडमा सोमबार आयोजित पत्रकार भेटघाटमा महानन्द पुरस्कार छनौट समितिका महासचिव चन्द्र भण्डारीले जानकारी दिए ।
महानन्द स्मृति प्रतिष्ठानबाटै वितरण हुने गरी साहित्यकार केशव आचार्यले स्थापना गरेको त्यस्तै भवानी घिमिरे रंग–पुण्य स्मृति साहित्य सेवा पुरस्कारको दोस्रो संस्करणबाट इलामका साहित्यकार विमल बैद्य र यसैवर्षदेखि वितरण हुने गरी स्थापना गरिएको साहित्यकार हिरा आकाशको स्मृतिमा गोपालकुमार बस्नेतद्वारा स्थापित हिरा आकाश पूर्ण–टुङ्ग स्मृति साहित्य सेवा पुरस्कारबाट पाँचथरका स्रष्टा प्रेम ओझालाई पुरस्कृत गर्ने निर्णय भएको महानन्द पुरस्कार समितिका अध्यक्ष केशव आचार्यले जानकारी दिए ।
त्यस्तै प्रतिष्ठान र महानन्द पुरस्कार वितरण समितिको स्थापना गरेको पुरस्कार यही बैशाख ३० गते वितरण गरिने भएको छ ।
गीतकार दिनेश अधिकारीको प्रमुख आतिथ्यमा वितरण गरिने उक्त पुरस्कारको राशी जनही १५/१५ हजार रहेको छ । २०४४ सालमा स्थापित महानन्द सापकोटा स्मृति प्रतिष्ठानले प्रत्येक २/२ वर्षमा साविक मेची अञ्चललाई आधार बनाएर पुरस्कार वितरण गर्दै आएको छ ।
पत्रकार भेटघाटमा प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडाले महानन्दको योगदान भाषा र साहित्यमा मात्र नभइ सामाजिक विभेद विरुद्ध पनि बोल्ने एक मुर्धन्य व्यक्ति भएको स्मृतिमा प्रतिष्ठानले स्थानीय ठाउँको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न सामाजिक काम समेत गर्दै बताए ।
प्रतिष्ठानकै अगुवाईमा महानन्द सापकोटाको जन्मस्थान इलामको रोङ गाउँपालिकास्थित देवान छापमा बाटो निर्माण, खानेपानीको व्यवस्था, विजुली वत्ती पुर्याउने, सामुदायिक भवन निर्माण लगायतका काम गर्दै आएको जानकारी दिए । सो अवसरमा प्रतिष्ठानका सचिव सोम पौडेलको समेत उपस्थिति रहेको थियो ।

को हुन् भाषाशास्त्री महानन्द
वि सं.१९५३ साल वैशाख ३० गते इलामको देवानछापमा बुबा रामचन्द्र र सरस्वती सापकोटाका कोखबाट जन्मिएका महानन्द सापकोटाको न्वारनको नाउँ यज्ञनिधि थियो । महानन्द नौ वर्षको हुँदै पिताले नस्वर चोला बदलेपछि आर्थिक अवस्थाकै कारण उनी गोठालोमा रुपान्तरित भएको जानकारहरु बताउँछन् । खान र लगाउनकै समस्या परेपछि उनकी आमा सरस्वती महानन्दलाई लिएर महानन्दकै गुरु पं. लक्ष्मीनारायण खतिवडासँगै भारतको आसाम लागिन् । त्यहीँ गएर उनले दहीदूध बेचेर जीविका चलाइन् सोही क्रममा महानन्द पनि गोठालो बने ।
आसाममा आमा सरस्वती सापकोटाले दुध दुहुने र बेच्ने अनि छोरा महानन्दले गाईभैँसी चराउने काम गरे । त्यस बेला महानन्द गोठमा नै सुत्थे । गोठमा नै सुतेको बेला एक पल्ट यिनलाई एउटा साँपले बे¥यो र डस्यो । सापकोटाका शरीरमा पसेको साँपको विष झारफुकले झारेको थियो । त्यसपछि यी यसै विद्या जान्नका लागि अग्रसर भए । अन्ततः उनी पनि झारफुकका नामी वैद्य बने । कतिसम्म भने गाईगोरु, भैँसीराँगा, भेडाबाख्राको आँखाको फूलो यी मन्त्रै पढेर झार्थे । उही कामले चर्चा पनि कमाए ।
सापकोटा १६ वर्षको उमेरमा आसामे भाषाको स्कूलमा भर्ना भएका उनले अनेकखण्ड गरेर म्याट्रिकसम्म अध्ययन गरे । उनको यति अध्ययनले नै विश्वविद्यालय स्तरीय विद्यार्थीका गुरुमा दरिए।
सापकोटा दार्जीलिङ भएताकै धरणीधर कोइरालासँग नजिक पुगे । कोइरालासँग साहित्यसम्बन्धी ज्ञान लिँदालिँदै यी फेरी आसामै पुगे । त्यो बेलासम्म पनि उनी टेक्ने न समाउने अवस्थामा नै थिए । त्यसैले त्यहाँ उनी भारतीय काङ्ग्रेसका कार्यकर्तामा भए । उनले त्यहाँ बसेर जीवनपद्धतिको सजिलो पाठ पढे । उनी क्रमशः व्यवहारिक ज्ञानमा पनि उन्मुख थिए । हुँदाहुँदै उनी त्यस ठाउँमा कर्मवादीमा परिचित भैसकेका थिए । त्यतिन्जेलसम्ममा उनी सादा जीवन र उच्चविचारतिर नै लम्किसकेका थिए ।
उता दार्जीलिङमा घरणीधर कोइरालाका लागि महानन्द सापकोटा होनाहार, प्रतिभाशाली र आवश्यकीय व्यक्ति ठहरिएका थिए । त्यसैले उनीलाई खोज्दै कोइराला आसाम पुगे । त्यस बेलासम्ममा त्यहाँ सापकोटा चर्चित भइसकेको पनि कोइरालाले थाहा पाए । तर, कोइरालाले अनेक उपाय निकालेर सापकोटालाई दार्जिलिङ लिएर आए । त्यसै ताका सापकोटाले झयाउरे छन्दमा ‘मनलहरी’ लेखे । त्यसै कृतिले उनी पनि चर्चित भए ।
स्पष्टवादी व्यक्तिका रुपमा दरिएका सापकोटालाई स्त्रीप्रेमी पनि भन्ने गरिएको पाइन्छ । यद्यपी तीन जनासँग भने यिनले दाम्पत्य जीवन नै गाँसे। तीन श्रीमतीमध्ये दुई जनाबाट तीन छोरा जगदीश, लावण्य र हेमराज र तीन छोरी धरणी, पवी र विद्या जन्मे ।सापकोटाले भारतको देहरादूनमा ‘तरुणगोर्खा’को सम्पादन गरे । त्यसपछि उनी ‘गोर्खासंसार’को पनि सम्पादक बने । उनले ‘नेपालपुकार’, ‘हाम्रो नेपाल’ र आसामीय भाषामा ‘चेतना’को पनि सम्पादन गरे ।
कविमा नामी सापकोटा भाषाशास्त्री उनको योग्यताको मापदण्ड थियो र सम्पादक परिचय थियो । सापकोटा नेपालको शिक्षाका ज्योति थिए । वास्तवमा नेपाल पसेर यिनले शिक्षामा नै आफूलाई समाहित गरे । उनैको नेतृत्वमा इलामको करफोकमा नेपालीभाषा प्रचारक संघको स्थापना भयो । गोकुण्डेश्वर स्कुल खोले । राणा शासनको जगजगीमा पनि उनले शिक्षा प्रचारबारे राणालाई रिझाएका थिए । स्कुल चलाउन उनी हरेक कसरत गर्थे । तिहारको देउसी खेलेर नै पनि उनी पैसा बटुल्थे र त्यो पैसा शिक्षामा नै लगाउँथे ।
त्यहीक्रममा सापकोटाले धरान पब्लिक स्कुलको स्थापनामा पनि बृहत्तर भूमिका खेले । बाटोघाटो बनाउने काममा पनि उनी संलग्न भए । काम गर्दागर्दै त्यति बेलै उनलाई क्षयरोगले आक्रान्त नै पा¥यो । अनि उनलाई स्वस्थ राख्ने मनसायले चैनपुर पु¥याएका बेला उनले त्यहाँ पनि स्कुल स्थापना गरे ।
जातपातलाई नमान्ने उनी अन्धविश्वासका विरोधी थिए । उनी नेपाली समाजमा सधैँ सुधारकै नारा दिन्थे । जहाँजहाँ जान्थे त्यहाँत्यहाँ क्रान्तिको विउ र्छर्थे । प्रजातन्त्रपूर्व सापकोटाले काङ्ग्रेसको धेरै काम गरे । तर प्रजातन्त्रपछि नेपाली काङ्ग्रेसको मन्त्रीमण्डलले भारत गएर प्रधानमन्त्री पं.जवहारलाल नेहरूसँग मन्त्र लिएको घटनाले यिनले राजनीतिलाई घृणा गर्दै भने, ‘राणाहरूले कहिले पनि विदेशीको पाउ मोलेनन् ।’ त्यसपछि उनी राजा महेन्द्रकै मात्र पछि लागे । साथै राजा महेन्द्र र वीरेन्द्रबाट उनको भरअभर पनि हेरिने गर्थ्यो।
सापकोटाले नेपाली साहित्य र पत्रकारिताका लागि पनि अनेक काम गरे । पछि उनले पूर्वाञ्चलमा प्रेस स्थापना गरेर पत्रिका पनि चलाए । उनले नेपाली साहित्यमा आफ्नो राम्रो पहुँच राख्तै गए । लेख्तालेख्तै उनले मदन पुरस्कार पनि पाए । त्यतिखेर मदन पुरस्कारको पनि गतिलो ओजन थियो, भनौं फितलो थिएन। उनका झन्नै दुई दर्जन कृति प्रकाशनमा पनि आए ।
सापकोटा २००७ सालमा झापाको सामयिक सरकारको शिक्षा मन्त्री पनि भए । त्यस बेला उनले झापामा दार्जिलिङबाटै शिक्षक शिक्षिका ल्याएका थिए । उनी सपनाविपना जहिले पनि शिक्षा र साहित्यकै लागि पसिना बगाउँथे ।

































































































