बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ ।
बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रुपमा रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र जिल्ला रेडक्रस सोसाइटी झापा विच द्विपक्षिय सम्झौता भएको छ । वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सम्झौतामा हस्ताक्षर गरे ।
वडाले निःशुल्क रगत उपलव्ध गराएपनि रेडक्रस झापालाई भने वार्षिक रुपमा शुल्क तिर्नुपर्ने छ । वडाले हरेक वर्ष एकलाख रुपैयाँ तिर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेको वडाअध्यक्ष पाण्डेले जानकारी दिए । अब हरेक वर्ष रगत निः शुल्क गर्ने योजना रहेको बताए ।
बिरामीको लागि रगत आपूर्तिमा निशुल्क वडा बनाउने उदेश्यका साथ वडाअध्यक्ष स्वास्थ्य सहायता कार्यक्रम लागु गरिएको पाण्डेले बताए । यो कार्यक्रम लागू भएपछि लक्षित वर्गको १ युनिट रगत प्राप्त गर्दा लाग्ने खर्च नौसय ५० रुपैयाँ बचत हुनेछ ।
रगत प्राप्त गर्नको लागि आकस्मिक अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर १ को वासिन्दा भएको कुनै पनि प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ । अन्यथा वडाको सिफारिस अनिवार्य छ । यो कार्यक्रम बैशाख महिनाको अन्तिम सातादेखि लागु हुने वडा कार्यालयले जनाएको छ ।
यस प्रकारको कार्यक्रम जिल्लाको मेचीनगर, भद्रपुर, बाह्रदशी लगायतका पालिका तथा वडाहरुमा लागुू भएको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
बिपन्नलाई बिर्तामोड–१ ले निःशुल्क रगत उपलब्ध गराउने

































































































