विर्तामोड १४ कात्तिक । बेकरीका उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको मूल्य बृद्धि भएपनि लामो समयसम्म उत्पादित बेकरीजन्य सामग्रीको मूल्य समायोजन नहुँदा व्यवसाय धान्नै कठिन भएको निष्कर्षसहित व्यवसायीले मूल्य बृद्धिको तयारी गरेका छन् ।
बेकरी उद्योग व्यवसायी संघले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी मूल्य बृद्धि गर्नुपर्ने कारणबारे जानकारी दिएका हुन् । झापामा जिल्लामा खोलिएका बेकरी व्यवसायीहरु संगठित संघले यही कात्तिक १८ गते देखि सबै उद्योगका बेकरीजन्य उत्पादनको मूल्य बृद्धि गर्ने निणर्य गरेको संघका अध्यक्ष नरबहादुर गिरीले जानकारी दिनुभयो ।
बेकरीजन्य सामग्रीमा लाग्ने कच्चा पदार्थमा २ वर्ष अघि १७ सय रहेको मैदा २ वर्षपछि २६ सय बढी पुगेपनि उत्पादित सामग्रीको मूल्य बृद्धि नहुँदा व्यवसाय धान्नै कठिन भएको गणपति बेकरी उद्योग विर्तामोडका संचालक राजु ढकालले बताउनुभयो ।
व्यवसायीले कात्तिक १८ गतेदेखि लागू हुने नयाँ मूल्य सूची अनुसार बेकरीजन्य उत्पादनमा ३३.३३ प्रतिशतले मूल्य बृद्धिको तयारी गरेको बताइएको छ ।
औद्योगिक उत्पादनको बजारमूल्य त्यसमा प्रयोग हुने कच्चा पदार्थहरुको मूल्य, श्रमिकको ज्याला, प्रशोधन खर्च, इन्धन, प्याकेजिङ तथा श्रमिकको ज्याला बृद्धिका आधारमा मूल्य बृद्धि हुने भएपनि बेकरीमा लामो समयदेखि उत्पादन खर्च बढेपनि बजारमूल्य समायोजन नभएको कञ्चन पाउरोटी उद्योगका सञ्चालक भिमा शिवाकोटीले जानकारी दिनुभयो ।
बेकरीजन्य उत्पादनमा १० वर्षपछि मूल्य बृद्धि गर्न लागिएको व्यवसायी रेवन्त ढकालले बताउनु भयो ।
संघका अध्यक्ष नरबहादुर गिरीको अध्यक्षामा सम्पन्न पत्रकार भेटघाटमा ४० बढि व्यवसायीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण भीमा शिवाकोटीले गर्नुभएको थियो ।
व्यवसाय धान्न बेकरीजन्य उत्पादनको मूल्य बृद्धि

































































































