झापा २० फागुन । सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाईमा भोलीदेखि कथा प्रारम्भ हुने श्रीमद् भागवत महापुराणको शनिवार औपचारिक उद्घाटन भएको छ ।
पुराणबाट संकलित रकमबाट कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने मुख्य उद्देश्य राखिएको पुराणको आज आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।
फागुन २१ देखि २७ गतेसम्म सञ्चालन हुने पुराणको मुख्य वाचक भागवत मञ्जरी पूज्या राधिका दासीको मुख्य प्रवचन रहने बताइएको छ ।
पुराण प्रारम्भको पूर्वसन्ध्यामा महापुराण प्रवचनस्थलबाट शुरु भएको नौमती बाजा, झाँकीसहितको कलश यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । कलश यात्रामा बिर्तामोड नगर क्षेत्रभित्र विभिन्न संघ–संस्थामा आवद्ध महिला तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो ।
पुराणबाट संकलित रकमले कर्मयोग भवन, ज्येष्ठ नागरिक चौतारीसहित बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि पहिलो चरणमा जग्गा खरिद गर्ने लक्ष्य रहेको पुराण आयोजक मूल समितिका संयोजक भिमा शिवाकोटीले जानकारी दिइन् ।
२० लाख खर्च अनुमान गरिएको पुराणबाट एककरोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ आयोजक समितिका सचिव पुष्प खड्काले बताए ।

































































































