विराटनगर । लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्नदिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो ।
गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्यद्वय डा.शेखर कोइराला, डा. सुनिल शर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहल गरिरहेका थिए । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले चुनावी एजेण्डाकै रुपमा यसलाई अघि सारेका थिए । सेवा विस्तार गर्दै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना अनुरुप गत माघ ४ गते अस्पतालको सेवा विस्तार उद्घाटन गरेर दैनिक ८ घण्टा अस्पताल सेवा सञ्चालन भइरहेको छ । त्यस अघि गत मंसिर २८ गते डा.शर्माको पहलमा काठमाडौंमा बसेको सर्वपक्षीय बैठकमा मेडिकल कलेज सञ्चालनका लागि सबै सरोकारवालाहरु एकमत भएका थिए । सांसदहरुसहित विश्वविद्यालय, मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग लगायतका पदाधिकारी सहभागि बैठकले कलेज सञ्चालनका लागि निर्णयार्थ मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको थियो ।
सांसद डा. शर्माले माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अनुरोध गरेपछि प्रधानमन्त्रीले मुख्य सचिवलाई फोन गरेर फायल अगाडि बढाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशन पछि फायल अघि बढेपनि स्वास्थ्य मन्त्री कहाँ पुगेर रोकिएको थियो । गत २२ गते पुनः डा. शर्माले प्रधानमन्त्रीलाई उक्त विषय जानकारी गराएपछि प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई फोन गर्दै निर्देशन दिए । डा. शर्माले स्वास्थ्य मन्त्रीलाई भेट गर्दै मेडिकल कलेजको फाइल अगाडी बढाउन अनुरोध गरेपछि सोही दिन फायल अगाडी बढेर मन्त्रि परिषद्ममा पुगेको थियो ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि विश्वविद्यालयले कलेज सञ्चालनका लागि फ्याकल्टी नियुक्तिसहित पूर्वाधार निर्माणको योजना अघि बढाउने तयारी थालेको छ । तत्कालका लागि कोसी अस्पताललाई प्रयोगात्मक अभ्यासमा लिइने तथा क्रमिक रुपमा पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य लिइएको छ । मेडिकल कलेज सञ्चालनका लागि तीन सय वेडको अस्पताल चाहिने चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेकाले तत्कालका लागि कोसी अस्पतालसँग सहकार्य गरिएको हो । मन्त्रीपरिषद्को स्वीकृतिसँगै अब आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालनहुने भएपछि सो क्षेत्रबासी हर्षित भएका छन् ।
गोठगाउँमा मेडिकल कलेज चलाउन सञ्चालनको बाटो खुल्यो

































































































