रेजिना गौतम
सर्लाही । पछिल्लो समय सामाजिक सञ्जाल शसक्त बन्दै गएको आम स्वीकारोक्ति छ । सामाजिक सञ्जाल सशक्त भएसंगै त्यसले समाजमा दिने सकारात्मक सन्देश र नकारात्मक धारणा बन्ने गरेको प्रशस्तै छन् । सामाजिक सञ्जालको प्रभावकै कारण कुनै निश्चित ठाउँ, विषयले चर्चा धेरै नै पाउने गरेका छन् ।
त्यसै मध्येको एक हो ‘भरत ताल’ । सामाजिक सञ्जालमा कुनै व्यक्तिले फोटो खिचेर भरत ताल लेखेर पोष्ट्याएकै कारण उक्त ताल अहिले देश–विदेशमा परिचित भएको छ । तर, जुन तालको वास्तविक नाम भने ‘बागमती माछा पोखरी’ रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताएका छन् ।
देशकै दोस्रो ठूलो पोखरीका रुपमा रहेको बागमती माछा पोखरी सर्लाहीको बागमती नगरपालिका–४ स्थित कर्मैयामा निर्माणाधिन अवस्थामा छ। पूर्व–पश्चिम राजमार्गबाट लगभग ३ किलोमिटर दक्षिणमा माछा पालनसहित बहुउद्देश्यीय लक्ष्य राखेर प्रदेश र संघीय सरकारको सहयोग तथा बागमती नगरपालिकाको समन्वयमा निर्माणाधिन नाम सरकारी दस्तावेजमा बागमती माछा पोखरी नै रहेको छ । सोही पोखरी दस्तावेज भन्दा बाहिर भने भरत तालका नामले स्थापित हुँदै गएको छ । वास्तविक नामबारे स्पष्ट पार्दै बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल भन्छन्–‘सामाजिक सञ्जालको पनि छुट्टै संसार छ, यहाँ आउने कोही एकजनाले फोटो खिचेर भरत ताल भन्दै हाल्द्यो, त्यसैलाई अरु अरुले पनि फलो गर्दै पोष्ट हालेका कारण भरत ताल भनिएको हो–उनले थपे–‘त्यो बागमती माछा पोखरी नै हो, माछा पोखरी भन्नुभन्दा भरत ताल नाम छोटो भएकाले पनि प्रचार सहज भएको हुन सक्छ !

नगरपालिकाका प्रमुख र तालबीच केही तादम्यता छ कि ! भन्ने प्रसङ्गमा प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने–‘नगरप्रमुखको नाम पनि भरत नै भएकोले चासो राखेको पाइन्छ, नामकाबारे बिवाद गर्नुपर्ने केही पनि छैन, हामीकहाँ बागमती माछा पोखरी नै छ । थप स्पष्ट पार्दै भने–‘भोली निर्माण सम्पन्न भएर उद्घाटन सम्ममा एउटा निर्णय होला, मेयर सावको व्यक्तिगत केही पनि छैन ।’ बहुउद्देश्यीय लक्ष्य राखेर १२१ विगाहा जमिनमा निर्माण प्रारम्भ गरेको ‘बागमती माछा पोखरी’ निर्माण सम्पन्न नहुँदै चर्चामा छ । निर्माणाधिन अवस्थामा देखिएको आकर्षणसंगै प्रारम्भिक अवस्थाको डिपिआर र लगानी दुवै संशोधन गर्नुपरेको पोखरेलले बताए ।
गत असोज मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको बागमती माछा पोखरी प्रारम्भिक डिपिआर अनुसारको निर्माण सम्पन्न भयो–‘पर्यटकको आकर्षण बढेसंगै पोखरीको डिपिआरमा एडिसनल भर्सन थप गर्नुका साथै लगानी र निर्माण सम्पन्न समयावधि पनि थपिएको छ ।’ उनका अनुसार एडिसनल भर्सन बमोजिम डेढ अर्ब लगानी थपिएको छ भने निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने भएको छ । यसअघि ८८ करोड लगानी अनुमान गरिएको पोखरी निर्माणका लागि स्थानीय कच्चा पदार्थ प्रयोगका कारण ५६ करोड खर्च भइसकेको छ । एडिसनल भर्सनमा पोखरीको एकातिर सुमेरु पर्वत, शिव–पार्वतीको प्रतिमा, शिवको जटाबाट पानी झरेको स्वरूप निर्माण हुनेछ ।
तालको बीच भागमा होटल निर्माण हुनेछ । ताल आसपासमा ३० वटा वनभोज स्थल, ५० चौतारा र प्रतीक्षालय निर्माण गरिनेछ । दक्षिणतर्फको भागमा चलचित्र छायाङ्कनको क्षेत्र बनाउने योजनासमेत रहेको र त्यसका लागि चलचित्र विकास बोर्डबाट प्रस्तावसमेत आएको नगरपालिकाले जनाएको छ । सोही लागतमा अहिले चल्तीमा रहेको पोखरीको पछिल्लो भागमा रहेको अर्को पोखरी निर्माण हुनेछ ।
माछा पोखरी बनी नसक्दै उक्त संरचना पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । तालको अहिले देशभर मात्र होइन भारतमा पनि चर्चा छ । ताल अवलोकन गर्न र जेटबोटमा रमाउन आउनेको भीड थामी नसक्नु भएको गौतम खड्काले बताए ।
जेटबोटबाट ताल सयरका लागि हाल प्रतिव्यक्ति न्यूनतम तीनसय र अधिकतम पाँचसय शुल्क निर्धारण गरिएको बताइएको छ । नेपालकै दोस्रो ठूलो तालका रुपमा रहेको भरत ताल पूर्व–पश्चिम राजमार्गस्थित बागमती पुलबाट लगभग तीन किलोमिटर दक्षिणमा छ । मधेस प्रदेश सरकारको ८० प्रतिशत, स्थानीय सरकारको १५ प्रतिशत र संघीय सरकारको पाँच प्रतिशत लागत साझेदारीमा निर्माणाधिन पोखरी प्राकृतिक विपत् सामनाका लागि तालिम केन्द्र पनि बन्ने देखिएको छ । त्यसै प्रयोजनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा बाढी तथा डुबानको प्रदेशस्तरीय पूर्वतयारी अभ्यास गरिसकेको नगरप्रमुख थापा बताउछन् ।

































































































